काठमाडौँ । संविधान जारी भएको ऐतिहासिक दिनको स्मरण गर्दै आज टुँडिखेलमा संविधान दिवस तथा राष्ट्रिय दिवसको मूल समारोह आयोजना गरिएको छ ।
देशभर विभिन्न कार्यक्रमसहित मनाइएको दिवसका अवसरमा टुँडिखेलमा पनि विविध कार्यक्रम प्रस्तुत गरिएका छन् । वि.सं. २०७२ असोज ३ गते संविधान सभाबाट नेपालको संविधान जारी भएको दिनको सम्झनामा हरेक वर्ष असोज ३ गते संविधान दिवस तथा राष्ट्रिय दिवस मनाउने गरिन्छ ।
टुँडिखेलमा आयोजित मूल समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री वालेन्द्र शाह, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा, प्रतिनिधिसभाका सभामुख डीपी अर्याल, राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाललगायत संवैधानिक निकायका प्रमुख तथा उच्च पदस्थ अधिकारीहरूको सहभागिता रहेको थियो ।
समारोहमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका टोलीले मार्चपास प्रस्तुत गरेका थिए । विभिन्न सांस्कृतिक समूह तथा विद्यार्थीहरूले झाँकी र सांस्कृतिक प्रस्तुति प्रस्तुत गर्दै संविधान दिवसको अवसरलाई उत्सवमय बनाएका थिए ।
कार्यक्रममार्फत संविधानको महत्त्व, राष्ट्रिय एकता तथा लोकतान्त्रिक व्यवस्थाको सुदृढीकरणका विषयमा सन्देश प्रवाह गरिएको थियो । संविधान दिवसका अवसरमा राष्ट्रपति पौडेलले संविधानको मर्म र भावनालाई व्यवहारमा रूपान्तरण गर्न सबै पक्षबाट निरन्तर प्रयास आवश्यक रहेको बताउँदै आएका छन् ।
देशभर सरकारी निकाय, स्थानीय तह, शैक्षिक संस्था तथा विभिन्न संघसंस्थाले पनि विविध कार्यक्रम आयोजना गरी संविधान दिवस मनाएका छन् ।


































