एनपीएलको तेस्रो सिजनमा विराटनगरबाट खेल्दै चरिथ असलंका

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि विराटनगर किङ्सले श्रीलंकाका बायाँहाते ब्याटिङ अलराउन्डर चरिथ असलंकालाई टोलीमा भित्र्याएको छ।

श्रीलंकाली क्रिकेटमा नियमित अन्तर्राष्ट्रिय खेलाडीका रूपमा स्थापित असलंका सन् २०२१ देखि राष्ट्रिय टोलीको सदस्य रहँदै आएका छन्। उनले सोही वर्ष इंग्ल्याण्डविरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय तथा भारतविरुद्ध टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए।

टी–२० अन्तर्राष्ट्रिय डेब्युमै भारतविरुद्ध २६ बलमा ४४ रन बनाएर उनले प्रभावशाली सुरुवात गरेका थिए। त्यसपछि सन् २०२१ को आईसीसी पुरुष टी–२० विश्वकपमा पनि उनको प्रदर्शन उल्लेखनीय रह्यो। प्रतियोगिताका ६ खेलमा २३१ रन बनाएका असलंका श्रीलंकाका सर्वाधिक रन बनाउने ब्याटर बनेका थिए। उनले उक्त प्रतियोगितामा ४६.२० को औसत र १४७.१३ को स्ट्राइक रेटमा रन बनाएका थिए।

सन् २०२२ मा अस्ट्रेलियाविरुद्ध पहिलो एकदिवसीय शतक बनाएपछि असलंका श्रीलंकाको मध्यक्रमका भरपर्दा ब्याटरका रूपमा स्थापित हुँदै आएका छन्। आक्रामक ब्याटिङसँगै आवश्यकता अनुसार बलिङसमेत गर्न सक्ने भएकाले उनलाई उपयोगी अलराउन्डरका रूपमा हेरिन्छ।

टी–२० अन्तर्राष्ट्रियमा उनले हालसम्म ७७ खेलबाट १ हजार ४६६ रन बनाएका छन् भने ७ विकेट लिएका छन् । समग्र टी–२० क्रिकेटमा असलंकाको नाममा १८५ खेलबाट ३ हजार ७१५ रन र ३७ विकेट छन् ।

अन्तर्राष्ट्रिय क्रिकेटमा असलंकाले ब्याटिङसँगै नेतृत्वको अनुभव पनि बटुलेका छन्। उनले जुलाई २०२४ मा श्रीलंकाको टी–२० अन्तर्राष्ट्रिय टोलीको कप्तानी सम्हालेका थिए भने सोही महिनाको अन्त्यमा एकदिवसीय टोलीको नेतृत्वसमेत पाएका थिए। सन् २०२४ देखि २०२५ सम्म उनले श्रीलंकाको सीमित ओभरको क्रिकेटको नेतृत्व गरेका थिए।

विराटनगर किङ्सले असलंकाको आगमनले एनपीएलको तेस्रो सिजनका लागि टोली थप बलियो बन्ने जनाएको छ। “चरिथ असलंकाजस्ता अनुभवी खेलाडीलाई विराटनगर किङ्समा स्वागत गर्न पाउँदा हामी उत्साहित छौँ। उनको अन्तर्राष्ट्रिय अनुभव, आक्रामक ब्याटिङ र नेतृत्व क्षमताले एनपीएलको तेस्रो सिजनमा टोलीलाई थप ऊर्जा प्रदान गर्नेछ,” विराटनगर किङ्सले जनाएको छ।

असलंकाले पनि नेपालमा आएर एनपीएल खेल्न आफू उत्साहित रहेको बताएका छन्। विराटनगर किङ्सबाट खेल्न पाउनु आफ्नो लागि विशेष अनुभव हुने उनको भनाइ छ।

“नेपाल प्रिमियर लिगको तेस्रो संस्करणमा विराटनगर किङ्सको प्रतिनिधित्व गर्न पाउँदा म निकै उत्साहित छु। नेपालमा क्रिकेटप्रतिको जुन उत्साह, माया र समर्थन छ, त्यसको बारेमा मैले धेरै सुनेको छु। अब आफैं नेपाल आएर नेपाली क्रिकेट समर्थकहरूसँग त्यो अनुभव साझा गर्न म आतुर छु,” असलंकाले भने।

उनले विराटनगरका लागि आफ्नो अनुभव र क्षमताको अधिकतम उपयोग गर्दै समर्थकलाई सम्झनलायक क्षण दिने लक्ष्य रहेको बताए।

“विराटनगर किङ्ससँग मिलेर उत्कृष्ट क्रिकेट खेल्ने, टोलीका लागि आफ्नो अनुभव र क्षमता प्रयोग गर्ने तथा समर्थकहरूलाई सम्झनलायक क्षणहरू दिने मेरो लक्ष्य हुनेछ। एनपीएलमा नयाँ चुनौती र नयाँ वातावरणमा खेल्न पाउनु मेरा लागि विशेष अनुभव हुनेछ। विराटनगर किङ्सको परिवारमा जोडिन पाउँदा म गर्व र उत्साह दुवै महसुस गरिरहेको छु,” उनले भने।

असलंकाले यसअघि क्यारेबियन प्रिमियर लिग (सीपीएल), लंका प्रिमियर लिग (एलपीएल), पाकिस्तान सुपर लिग (पीएसएल) तथा यूएईको इन्टरनेशनल लिग टी–२० लगायतका विभिन्न फ्रेन्चाइज प्रतियोगितामा खेलिसकेका छन्।

हाल उनी इंग्ल्याण्डविरुद्धको टी–२० अन्तर्राष्ट्रिय सिरिजमा श्रीलंकाको कप्तानी गरिरहेका छन्। अन्तर्राष्ट्रिय तथा फ्रेन्चाइज क्रिकेटको अनुभव बोकेका असलंकाको आगमनसँगै विराटनगर किङ्सले एनपीएलको तेस्रो सिजनका लागि आफ्नो टोलीलाई थप प्रतिस्पर्धात्मक बनाउने लक्ष्य लिएको छ।