आगामी शैक्षिक सत्रका लागि पाठ्यपुस्तक छपाइ सुरु

काठमाडौँ । आगामी शैक्षिक सत्रका लागि विद्यालय तहका पाठ्यपुस्तक छपाइ सुरु भएको छ ।

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले पाठ्यक्रम विकास केन्द्रबाट मुद्रणीय प्रति (पिआरसी) प्राप्त गरेसँगै शुक्रबारदेखि पुस्तक छपाइ थालेको हो ।

पाठ्यपुस्तक छपाइका लागि आवश्यक मुद्रणीय प्रति उपलब्ध हुन ढिलाइ हुँदा यसअघि छपाइ प्रक्रिया अघि बढ्न सकेको थिएन । यसले नयाँ शैक्षिक सत्र सुरु हुँदा विद्यालय तहमा पाठ्यपुस्तक अभाव हुनसक्ने चिन्ता बढाएको थियो ।

शिक्षा तथा खेलकुद मन्त्रालयले बिहीबार तत्कालका लागि हाल कार्यान्वयनमा रहेको पाठ्यक्रमअनुसार नै पाठ्यपुस्तक छपाइ गर्ने निर्णय गरेपछि पाठ्यक्रम विकास केन्द्रले जनक शिक्षालाई छपाइ अघि बढाउन निर्देशन दिएको हो ।

पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक महेन्द्र पराजुलीका अनुसार मन्त्रालयको निर्णयअनुसार जनक शिक्षालाई पाठ्यपुस्तक छपाइका लागि निर्देशन दिइएको हो ।

हाल विद्यालय शिक्षाको राष्ट्रिय प्रारूप (एनसिएफ) निर्माणको प्रक्रिया चलिरहेको छ । शिक्षाविद् प्राडा बालचन्द्र लुइँटेलको संयोजकत्वमा गठित कार्यदलले एनसिएफ निर्माणको काम गरिरहेको छ । कार्यदलअन्तर्गत १२ वटा विषयगत समूह गठन गरिएको छ भने ती समूहले प्रदेश तथा जिल्लास्तरमा पुगेर सुझाव सङ्कलन गरिरहेका छन् ।

सरकारले एनसिएफको काम छिटो सम्पन्न भए आगामी शैक्षिक सत्रदेखि नै परिमार्जित पाठ्यक्रमअनुसार पाठ्यपुस्तक छपाइ गर्ने तयारी गरेको थियो । तर कार्यदलको प्रतिवेदनका आधारमा नयाँ पाठ्यक्रम तयार गर्नुपर्ने र त्यसपछि मात्रै सोही पाठ्यक्रमअनुसार पाठ्यपुस्तक छाप्नुपर्ने भएकाले तत्काल नयाँ पाठ्यक्रमअनुसार पुस्तक छाप्न समय लाग्ने देखिएको हो ।

त्यसैले हाल कार्यान्वयनमा रहेको पाठ्यक्रमअनुसार नै पुस्तक छपाइ अघि बढाइएको हो । एनसिएफको प्रतिवेदनका आधारमा पाठ्यक्रममा केही थपघट गर्नुपर्ने भए त्यसलाई निर्देशिका बनाएर विद्यालय तहमा कार्यान्वयन गराउने सरकारको तयारी छ ।

पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक पराजुलीले एनसिएफले परिमार्जन गर्नुपर्ने सुझाव दिएमा त्यसलाई पछि निर्देशिकामार्फत विद्यालयमा कार्यान्वयन गर्न सकिने बताए । उनका अनुसार अहिले भने पाठ्यपुस्तक पुरानै पाठ्यक्रमअनुसार छपाइ गरिनेछ ।

सरकारले कक्षा १, २ र ४ का पाठ्यपुस्तक छपाइको जिम्मेवारी निजी मुद्रण संस्थालाई दिएको छ । बाँकी कक्षाका पाठ्यपुस्तक जनक शिक्षाले छाप्नेछ । यद्यपि जनक शिक्षाले स्रोतसाधनले भ्याएमा कक्षा १, २ र ४ का पुस्तकसमेत छाप्न पाउने व्यवस्था छ ।

निजी मुद्रण संस्थाले भने जनक शिक्षालाई जिम्मेवारी दिइएका कक्षाका पाठ्यपुस्तक छाप्न पाउने छैनन् । गत वर्ष पनि यही व्यवस्था कार्यान्वयनमा रहेको थियो ।

पाठ्यक्रम विकास केन्द्रबाट मुद्रणीय प्रति प्राप्त भएपछि दैनिक छ वटा छापाखाना सञ्चालन गरेर पाठ्यपुस्तक छपाइ सुरु गरिएको जनक शिक्षा सामग्री केन्द्रका प्रबन्ध सञ्चालक यदुनाथ पौडेलले जानकारी दिए ।

छपाइ सुरु भएसँगै आगामी शैक्षिक सत्र सुरु हुनुअघि नै विद्यालय तहमा आवश्यक पाठ्यपुस्तक पुर्‍याउन सहज हुने पौडेलको भनाइ छ । सरकारले पनि नयाँ शैक्षिक सत्र सुरु हुनुअघि नै सबै विद्यालयमा आवश्यक पुस्तक उपलब्ध गराउने लक्ष्य राखेको छ ।