सौराहाको ‘सेलिब्रेटी’ हात्ती रोनाल्डो अब रहेन

चितवन । चितवन राष्ट्रिय निकुञ्जको सौराहा–खोरसोर क्षेत्रमा लामो समयदेखि परिचित जंगली भाले हात्ती ‘रोनाल्डो’ मृत अवस्थामा भेटिएको छ ।

निकुञ्जको विषहजारी पोस्ट नजिकै रोनाल्डोको शव भेटिएको हो । करिब ५३ वर्षको अनुमान गरिएको रोनाल्डोको मृत्युको कारण भने अहिलेसम्म खुल्न सकेको छैन ।

घटनापछि चितवन राष्ट्रिय निकुञ्जको टोलीले स्थलगत अनुसन्धान थालेको छ । निकुञ्जका संरक्षण अधिकृत तथा सूचना अधिकारी अविनाश थापा मगरका अनुसार अनुसन्धान पूरा भएपछि मात्रै हात्तीको मृत्युको वास्तविक कारण खुल्नेछ ।

रोनाल्डो सौराहा–खोरसोर क्षेत्रको चर्चित जंगली हात्तीका रूपमा परिचित थियो । खोरसोरस्थित हात्ती प्रजनन तथा तालिम केन्द्र वरपर उसको लामो समयदेखि प्रभाव रहँदै आएको थियो ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पूर्जा पुनका अनुसार केन्द्रमा जन्मिएका धेरै हात्तीका छावाको पिता रोनाल्डो नै हो । यही कारण पनि रोनाल्डो स्थानीय तथा वन्यजन्तु संरक्षणमा चासो राख्नेहरूबीच परिचित थियो ।

रोनाल्डोको शरीरमा अन्य हात्तीसँग भएको संघर्षका चिन्हसमेत देखिएको निकुञ्जले जनाएको छ । संघर्षकै क्रममा उसको पुच्छरसमेत गुमेको थियो ।

जंगली हात्तीका रूपमा लामो समय सौराहा–खोरसोर क्षेत्रमा देखिँदै आएको रोनाल्डोको मृत्युसँगै त्यस क्षेत्रसँग जोडिएको एउटा परिचित वन्यजन्तु कथा टुंगिएको छ । यद्यपि, उसको मृत्यु संघर्षका कारण भएको हो वा अन्य कुनै कारणले भन्ने विषय अनुसन्धानपछि मात्रै यकिन हुने निकुञ्जले जनाएको छ ।