काठमाडौं । भदौ १० गते भोटेकोसीमा आएको विनाशकारी बाढीले घरबारदेखि उपचारका लागि वर्षौं लगाएर जम्मा गरेको रकमसमेत बगाएपछि जीवन र मृत्युको दोसाँधमा पुगेकी ४१ वर्षीया विष्णुकुमारी डंगोलले नयाँ जीवन पाएकी छन् ।
काठमाडौं मेडिकल कलेज (केएमसी) मा सफलतापूर्वक निःशुल्क मिर्गौला प्रत्यारोपण भएपछि उनी पूर्ण रूपमा स्वस्थ भई अस्पतालबाट डिस्चार्ज भएकी हुन् । मिर्गौला प्रत्यारोपणका लागि विष्णुकुमारीलाई उनका पति राजकुमार डंगोलले मिर्गौला दान गरेका थिए । पत्नीको उपचारका क्रममा मिर्गौला दाता बनेका राजकुमार पनि स्वास्थ्य अवस्था सामान्य भएपछि उनीसँगै अस्पतालबाट डिस्चार्ज भएका छन् ।
भोटेकोसीमा आएको बाढीले विष्णुकुमारीको परिवारको घरबार र सम्पत्तिमा मात्रै क्षति पुर्याएन, लामो समयदेखि उपचारका लागि बचत गर्दै आएको रकमसमेत बगाइदियो । एकातिर बाढीबाट भएको ठूलो आर्थिक क्षति, अर्कोतिर मिर्गौला प्रत्यारोपणजस्तो जटिल र खर्चिलो उपचार गर्नुपर्ने अवस्थाले डंगोल दम्पतीलाई थप संकटमा पारेको थियो । आफूसँग उपचार खर्च जुटाउने अवस्था नरहेको विष्णुकुमारीको दयनीय अवस्थाबारे सामाजिक सञ्जालमार्फत जानकारी पाएपछि नेपाली कांग्रेसका नेता तथा काठमाडौं मेडिकल कलेजका सञ्चालक डा सुनीलकुमार शर्माले उनको उपचारमा सहयोग गर्ने घोषणा गरेका थिए । शर्माले विष्णुकुमारीको सम्पूर्ण उपचार निःशुल्क गरिदिने प्रतिबद्धता जनाएका थिए ।
उनको घोषणापछि केएमसीको विज्ञ चिकित्सक टोलीले विष्णुकुमारीको उपचार प्रक्रिया अघि बढाएको थियो । आवश्यक परीक्षण तथा चिकित्सकीय तयारी पूरा गरेपछि उनको मिर्गौला प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरिएको अस्पतालले जनाएको छ । उपचारका क्रममा बिरामी विष्णुकुमारी र मिर्गौला दाता उनका पति राजकुमारका लागि खानपिनलगायत आवश्यक व्यवस्थासमेत अस्पतालले विशेष रूपमा मिलाएको थियो । प्रत्यारोपणपछि दुवैको स्वास्थ्य अवस्थामा सुधार आएपछि चिकित्सकको निगरानीमा राखिएको थियो ।
अस्पतालबाट पूर्ण रूपमा स्वस्थ भएर घर फर्किने क्रममा विष्णुकुमारी र राजकुमार भावुक बने । उनीहरूले उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मीप्रति आभार व्यक्त गरे । मिर्गौला प्रत्यारोपणमा संलग्न ट्रान्सप्लान्ट सर्जन डा सुरेश महर्जन, डा विजयमानसिंह कटुवाल, डा अनिल पोख्रेलसहित सम्पूर्ण चिकित्सक टोलीलाई उनीहरूले हृदयदेखि धन्यवाद दिएका छन् । बाढीले सर्वस्व गुमाएको अवस्थामा उपचारका लागि समेत रकम नभएको बेला निःशुल्क उपचारको व्यवस्था मिलाइदिएको भन्दै राजकुमारले नेता शर्मा र केएमसीप्रति विशेष आभार व्यक्त गरे । उनले कठिन परिस्थितिमा आफूहरूले वास्तविक जीवनमै भगवान् भेटेको अनुभूति भएको बताए ।
‘हाम्रो सर्वस्व बगायो भन्ने पीडा त छँदै थियो, तर आज भगवानरूपी सुनील सरले हामीलाई नयाँ जीवन दिनुभयो । हामीले संसारमा सत्कर्म गर्ने मानिसहरू अझै जीवित छन् भन्ने महसुस गरेका छौँ । उहाँप्रति हाम्रो कोटी–कोटी नमन छ,’ राजकुमारले भने । विष्णुकुमारीको उपचार सफल भएपछि बाढीपीडित नागरिकका लागि विपद्का बेला स्वास्थ्य उपचारको पहुँच कति महत्वपूर्ण हुन्छ भन्ने विषय पनि पुनः चर्चामा आएको छ । प्राकृतिक विपद्ले घर, सम्पत्ति र आम्दानीको स्रोत गुमाएका परिवारका सदस्य गम्भीर स्वास्थ्य समस्यामा पर्दा उपचार खर्च जुटाउन नसक्ने अवस्था सिर्जना हुन सक्छ । यस्तो अवस्थामा निःशुल्क वा सहुलियतपूर्ण उपचारले पीडित परिवारलाई ठूलो राहत दिन सक्छ ।
काठमाडौं मेडिकल कलेजमा हालसम्म गरिएका मिर्गौला प्रत्यारोपण शतप्रतिशत सफल भएको दाबी गरिएको छ । विष्णुकुमारी उक्त अस्पतालमा सफल मिर्गौला प्रत्यारोपण गराउने ८६औँ बिरामी हुन् । अस्पतालका अनुसार यसअघि पनि विभिन्न आर्थिक तथा सामाजिक परिस्थितिबाट गुज्रिएका बिरामीहरूको मिर्गौला प्रत्यारोपण गरिएको छ । बाढी तथा अन्य विपद्का समयमा प्रभावित नागरिकलाई स्वास्थ्य उपचारमा सहयोग गर्ने प्रतिबद्धता नेता शर्माले यसअघि पनि व्यक्त गर्दै आएका छन् । उनले बाढीपीडितहरूका लागि आफ्नो अस्पतालका ढोका निःशुल्क उपचारका लागि खुला रहने घोषणा गरेका थिए ।
विष्णुकुमारीको उपचार त्यसै प्रतिबद्धताको एउटा उदाहरण बनेको छ । विपद्ले परिवारको आर्थिक आधार नै भत्काइदिएको अवस्थामा गम्भीर रोगको उपचार गर्नुपर्ने बाध्यता झेलिरहेकी उनले अन्ततः निःशुल्क उपचारमार्फत स्वास्थ्यलाभ गरेकी छन् । उनका पति राजकुमारले मिर्गौला दान गरेर पत्नीलाई जीवन दिएका छन् भने चिकित्सक टोलीको सफल उपचार र अस्पतालको सहयोगले उनीहरूलाई थप ठूलो आर्थिक बोझबाट जोगाएको छ । ‘अब पैसा नभएका कारण कुनै पनि नेपालीले अकालमा ज्यान गुमाउनु नपरोस्’ भन्ने आफ्नो संकल्पलाई व्यवहारमा उतार्ने प्रयास गरिरहेको शर्मा पक्षको भनाइ छ । आर्थिक अभावका कारण उपचारबाट वञ्चित हुने विपन्न नागरिकका लागि यस्ता स्वास्थ्य सेवाले ठूलो महत्व राख्ने देखिन्छ ।
भोटेकोसी बाढीले डंगोल परिवारको भौतिक सम्पत्ति खोसे पनि उपचारपछि विष्णुकुमारीले भने स्वास्थ्य जीवनतर्फ फर्कने अवसर पाएकी छन् । मिर्गौला प्रत्यारोपणपछि पति–पत्नी दुवै अस्पतालबाट घर फर्किँदा उनीहरूको अनुहारमा राहत र भावुकता देखिन्थ्यो । बाढीबाट सुरु भएको संकटबीच उपचार खर्चको अभावले थपिएको अर्को ठूलो चिन्ता अन्ततः चिकित्सक, अस्पताल र सहयोगी हातहरूको साथ पाएपछि टरेको छ । विपद्का कारण सर्वस्व गुमाएका परिवारका लागि आर्थिक पुनःस्थापना र स्वास्थ्य उपचार दुवै चुनौतीपूर्ण हुने अवस्थामा विष्णुकुमारीको सफल उपचारले मानवीय सहयोगको महत्वलाई पनि उजागर गरेको छ ।
प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।



































