बाढीपीडितका लागि उबरकाे ‘राइड फर नेपाल’ अभियान सुरु

काठमाडौं । बाढी प्रभावित समुदायको राहत, पुनर्स्थापना तथा पुनर्निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यले उबरले ‘राइड फर नेपाल’ अभियान सुरु गरेको छ ।

अभियानमार्फत उबरले आफ्नो मोबिलिटी नेटवर्कलाई विपद् राहत प्रयाससँग जोड्दै यात्रु र चालकलाई सहयोग अभियानमा सहभागी हुन आह्वान गरेको हो । अभियानअन्तर्गत उबरले बाढी प्रभावित समुदायको सहयोगका लागि नेपाल रेडक्रस सोसाइटीलाई ५० लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । उक्त रकम आपत्कालीन राहत सामग्री, अस्थायी आश्रय तथा पुनर्स्थापनाका कार्यमा उपयोग गरिने कम्पनीले जनाएको छ ।

यस्तै, अभियान अवधिभर उबर प्लेटफर्ममार्फत सम्पन्न हुने प्रत्येक उबर बाइक यात्राबापत १० रुपैयाँ र उबर क्याब यात्राबापत २० रुपैयाँ उबरले आफ्नो तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्ने जनाएको छ ।

कम्पनीकाअनुसार उक्त रकम यात्रु वा चालकबाट कट्टा गरिने छैन । यात्रुले नियमित भाडा नै तिर्नेछन् भने चालकले पनि साविकअनुसारकै रकम प्राप्त गर्नेछन् । प्रत्येक योग्य सम्पन्न यात्राबापतको रकम उबरले अतिरिक्त रूपमा योगदान गर्नेछ ।

नेपालका लागि उबरको रणनीतिक साझेदार ट्याक्सीमाण्डुका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत अर्जुन केसीले विपद्का समयमा यात्रु र चालकको सहभागिताले राहतका लागि थप योगदान जुटाउन सहयोग पुग्ने बताए । उनले दैनिक यात्रालाई बाढी प्रभावित समुदायको राहत, पुनर्स्थापना र पुनर्निर्माणसँग जोड्ने उद्देश्यले अभियान सञ्चालन गरिएको बताउँदै धेरैभन्दा धेरै यात्रु तथा चालकलाई सहभागी हुन आग्रह गरे ।

त्यस्तै, उबर इन्डिया तथा दक्षिण एसियाका अन्तर्राष्ट्रिय बजार प्रमुख आकांक्षा सिंहले नेपालमा राहत तथा पुनर्स्थापनाका लागि सामूहिक प्रयास आवश्यक रहेको बताए । उबरले आफूले सेवा प्रदान गर्ने समुदायप्रतिको जिम्मेवारी मोबिलिटी सेवामा मात्र सीमित नरहेको उल्लेख गर्दै नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा राहत तथा पुनर्स्थापनामा योगदान गर्ने जनाएको छ ।

अभियानअन्तर्गत यात्रुले उबर एपमार्फत नियमित राइड बुक गर्न सक्नेछन् । चालकले उबर ड्राइबर एपमा अनलाइन भई राइड स्वीकार गरेर यात्रा पूरा गर्नुपर्नेछ । योग्य रूपमा सम्पन्न हुने प्रत्येक यात्रासँगै उबरको राहत योगदान बढ्दै जानेछ । कम्पनीले अभियानको मूल सन्देश ‘जति धेरै राइड, त्यति धेरै सहयोग’ रहेको जनाएको छ । ‘हरेक यात्रा, पुनर्निर्माणमा एउटा योगदान’ भन्ने उद्देश्यसहित सञ्चालन हुने अभियानले बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ ।