काठमाडौं । नेपाली कांग्रेसको वडा अधिवेशन जारी रहेका बेला पार्टीका नेता पूर्णबहादुर खड्काले सभापति गगन थापाको नेतृत्वमा अघि बढिरहेको महाधिवेशन प्रक्रियामा आफू सहभागी नहुने स्पष्ट पारेका छन् ।
वडा अधिवेशनको दोस्रो दिन सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै खड्काले कांग्रेसको वैधानिकतासम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा थापा नेतृत्वको महाधिवेशन प्रक्रियामा सहभागी हुनु आफूलाई ‘चरम अनैतिक’ लाग्ने बताएका हुन् ।
खड्काले फेसबुकमा आफ्नो धारणा सार्वजनिक गर्दै आफू यो महाधिवेशनको कुनै पनि प्रक्रियामा सहभागी नरहेको र आगामी दिनमा पनि सहभागी नहुने स्पष्ट गरेका छन् । ‘सम्बन्धित सबैमा प्रस्ट होस् कि यो महाधिवेशनको कुनै पनि प्रक्रियामा मेरो सहभागिता छैन–रहने छैन,’ उनले लेखेका छन् । यद्यपि खड्का महाधिवेशन प्रक्रियाबाट अलग रहने घोषणा गरे पनि उनको गृहजिल्ला सुर्खेतमा भने कांग्रेसको वडा अधिवेशन भएको छ । सुर्खेत कांग्रेसका जिल्ला सभापति खड्गबहादुर पोखरेलका अनुसार जिल्लाका ९९ वडामध्ये अधिकांशमा अधिवेशन प्रक्रिया अघि बढेको छ । वीरेन्द्रनगरका वडा नम्बर २ र ३ मा विवादका कारण अधिवेशन हुन नसके पनि त्यसलाई समाधान गर्ने प्रयास भइरहेको उनले जानकारी दिए ।
खड्काको वडा वीरेन्द्रनगर नगरपालिका–७ मा भने वडा अधिवेशन सम्पन्न भएको छ । उक्त वडाबाट दीपक कोइराला वडा सभापतिमा निर्वाचित भएका छन् । जिल्ला सभापति पोखरेलका अनुसार खड्का स्वयं अधिवेशन प्रक्रियामा सहभागी नभए पनि उनको वडामा पार्टीको नियमित निर्वाचन प्रक्रिया अघि बढेको हो । सुर्खेतकै अर्का नेता हृदयराम थानीको वडा नम्बर १ मा पनि शनिबार नै वडा अधिवेशन सम्पन्न भएको छ । यता, पार्टीको महाधिवेशन प्रक्रियामा तटस्थ रहने धारणा सार्वजनिक गरेका नेता शेखर कोइरालाको निर्वाचन क्षेत्र मोरङ–६ मा भने वडा अधिवेशन हुन सकेको छैन । यो क्षेत्र कांग्रेसकी सहमहामन्त्री डिला संग्रौलाको पनि निर्वाचन क्षेत्र हो । क्रियाशील सदस्यताको विवरण समयमै अद्यावधिक भएर नआएका कारण अधिवेशन रोकिएको संग्रौलाले बताएकी छन् । उनका अनुसार उक्त क्षेत्रमा सोमबार वडा अधिवेशन हुने तयारी छ ।
संग्रौलाले मोरङ–६ मा अधिवेशन रोकिएको विषयलाई आफू वा शेखर कोइरालासँग जोडेर हेर्न नहुने बताएकी छन् । ‘यो क्षेत्रमा उहाँ (शेखर)को कारणले पनि होइन, मेरो कारणले पनि होइन । क्रियाशील सदस्यताको विवरण राजमार्ग क्षेत्रमा हेर्नुपर्ने भएकाले ढिला भएको हो,’ उनले भनेकी छन् । कोइरालाको विराटनगर महानगरपालिका–७ र संग्रौलाको वडा नम्बर ११ हो । दुवै नेताको प्रभाव रहेको क्षेत्रमा क्रियाशील सदस्यताको विवरण अद्यावधिकमा ढिलाइ भएपछि वडा अधिवेशन प्रभावित भएको हो ।
यसैबीच पूर्वमहामन्त्री डा. शशांक कोइरालाको नेतृत्वमा छुट्टै महाधिवेशन गर्ने तयारीमा रहेको पूर्वसभापति शेरबहादुर देउवा समूहका लागि पनि वडा अधिवेशन प्रक्रिया अघि बढेको छ । देउवाको गृहजिल्ला डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ मा वडा अधिवेशन भएको छ । पालिकाको वडा नम्बर २ बाहेक अन्य वडामा पनि अधिवेशन सम्पन्न भएको बताइएको छ । देउवाको गृहवडामा क्षेत्रीय प्रतिनिधि चयन भए पनि वडा सभापति भने चयन हुन सकेको छैन । कांग्रेसको विधानअनुसार पालिकादेखि केन्द्रीय कार्यसमितिसम्मका विभिन्न तहमा नेतृत्व चयनका लागि क्षेत्रीय प्रतिनिधिको भूमिका महत्वपूर्ण हुन्छ । केन्द्रीय सभापतिसम्मको नेतृत्वमा पुग्नसमेत क्षेत्रीय प्रतिनिधि बन्नुपर्ने व्यवस्था भएकाले अहिले वडा अधिवेशनमा क्षेत्रीय प्रतिनिधि चयनका लागि नेता तथा कार्यकर्ताबीच प्रतिस्पर्धा बढेको छ ।
वडा अधिवेशनले स्थानीय तहको पार्टी नेतृत्व चयन गर्नुका साथै क्षेत्रीय प्रतिनिधि छनोट गर्ने भएकाले कांग्रेसको आगामी महाधिवेशनमा यसको प्रत्यक्ष प्रभाव पर्नेछ । यही कारण विभिन्न जिल्लामा प्रभावशाली नेताका समर्थक तथा आकांक्षीहरू वडा तहबाटै आफ्नो प्रतिनिधित्व सुनिश्चित गर्न सक्रिय भएका छन् । कांग्रेसको केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार सोमबारसम्म ७३ जिल्लाका ६ हजार १३२ वडामा अधिवेशन सम्पन्न भइसकेको छ । केही जिल्लामा भने क्रियाशील सदस्यता, स्थानीय विवाद तथा प्राकृतिक विपत्तिका कारण निर्धारित समयमा अधिवेशन हुन नसकेको निर्वाचन समितिले जनाएको छ ।
हिमाली सुनामीबाट प्रभावित रसुवा र नुवाकोटमा आगामी ७ असोजमा वडा अधिवेशन गर्ने कार्यतालिका छ । त्यस्तै धादिङमा ५ असोजमा वडा अधिवेशन हुनेछ । विपद्का कारण प्रभावित यी जिल्लामा अन्य जिल्लाको तुलनामा निर्वाचन कार्यक्रम पछाडि सारिएको हो । निर्वाचन समितिका अनुसार सोमबार पनि सप्तरीका क्षेत्र नम्बर २ र ४, सिरहा, मोरङ क्षेत्र नम्बर ६, रौतहट क्षेत्र नम्बर १, सर्लाही क्षेत्र नम्बर २, परासी क्षेत्र नम्बर २ तथा छुटेका अन्य वडामा अधिवेशन प्रक्रिया जारी रहनेछ ।
यसअघि ताप्लेजुङदेखि कञ्चनपुर र कैलालीसम्मका अधिकांश जिल्लामा वडा अधिवेशन सम्पन्न भइसकेको निर्वाचन समितिले जनाएको छ । कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका अधिकांश जिल्लामा वडा तहको निर्वाचन प्रक्रिया अघि बढिसकेको छ । कांग्रेसको महाधिवेशन प्रक्रियालाई लिएर नेताहरूबीच राजनीतिक तथा कानुनी मतभेद देखिए पनि तल्लो तहमा भने वडा अधिवेशनमार्फत संगठनात्मक प्रक्रिया अघि बढिरहेको छ । केही शीर्ष नेताले महाधिवेशन प्रक्रियाप्रति असहमति जनाउँदै सहभागिता नजनाउने घोषणा गरेका छन् भने उनीहरूको प्रभाव रहेका जिल्लाका वडा तहमा भने पार्टीको निर्वाचन प्रक्रिया निरन्तर चलिरहेको छ । यसले कांग्रेसभित्रको महाधिवेशनसम्बन्धी विवाद र संगठनात्मक निर्वाचन प्रक्रिया समानान्तर रूपमा अघि बढिरहेको देखाएको छ ।
प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।



































