मनसुन प्रतिकूल भएपछि मनास्लु आरोहीबीच बाटोबाटै फर्किए

गोरखा । भारी हिमपात र निरन्तर वर्षाका कारण हिमाल आरोहणका लागि मनसुन प्रतिकूल भएपछि आरोहीबीच बाटोबाटै धमाधम घर फर्किन थालेको पाइएको छ ।

२ सातासम्म पर्खिदा पनि मौसमले साथ नदिएपछि आरोही धमाधम घर फर्किन थालेका मनास्लु हिमाल नजिक रहेको चुमनुब्री गाउँपालिका–१ सामागाउँका वडाध्यक्ष कर्मा छेवाङ लामाले जानकारी दिए । मनास्लु क्षेत्रमा भइरहेको निरन्तर वर्षापछि त्यस वरपर ५ फिट बाक्लो हिमपात भइरहेको उनले जानकारी दिए । “यस्तो त कहिल्यै भएको थिएन । खै के भएको हो, पानी र हिउँ परिरहेको छ”, वडाअध्यक्ष लामा भन्नुहुन्छ, “झन आठ गतेदेखि १२ गतेसम्म सरकारले सतर्क रहन भनेको छ । त्यही भएर आरोही धमाधम फर्किएका छन् ।”

मनसुनमा सुधार आए पनि अब यो याममा फेरि फर्केर आरोहणमा जाने सम्भावना नरहेको उनको भनाइ छ । विगतका वर्षमा त्यस क्षेत्रमा हतपत वर्षा नै नहुने भए पनि अत्यन्त न्यून हुने गरेकामा यस पटक भन २ सातादेखि निरन्तर पानी परिरहेको स्थानीय व्यवसायी प्रबल लामा बताउछन् । “बेस क्याम्पमा निरन्तर आउन थालेको सन् २०१४ देखि हो । यो १२ वर्षको अवधिमा यस्तो कहिल्यै देखिन”, उनले भने “यो वर्ष त पानी नन्‌स्टप परिरहेको छ ।

हिमपात पनि उस्तै छ । बेस क्याम्पमै तीनफिटसम्म हिउँ परेको छ । क्याम्प वान, क्याम्प टु, थ्रीतिर त ७ ,८ फिट बाक्लो हिउँ परिसकेको छ । जोखिम देखेपछि आरोही फर्किएको उनको भनाइ छ । बदलिएको मनसुनका कारण केही आरोही फर्किए पनि त्यस क्षेत्रमा अझै धेरै रहेको सामागाउँका होटल व्यवसायी मिङ्मार छिरिङ लामा बताउछन् ।

“हिमाल चढ्न नसकेर त पोहोरतिर पनि फर्कन्थे । यसपालिचाहिँ अल्लि धेरै फर्केका छन् । मौसम प्रतिकूल भएर होला”, उनले भने “अहिलेसम्म १० प्रतिशत जति फर्किए होलान् ।”विश्वमै ख्याति रहेको ८ हजार १६३ मिटर मनास्लु आरोहण गर्न यस याममा करिब ५ सय आरोहीले अनुमति लिएका थिए । गत वर्ष ६७ देशका ४१ समूहका ३६६ जना पुरुष र १२७ जना महिला आरोहीले अनुमति लिएका थिए । त्यसबाट नेपाल सरकारलाई २२ करोड ४८ लाख १४ हजार राजस्व प्राप्त भएको थियो ।