पौडेल र पोखरेल सेलाएपछि ओली हाबी

काठमाडौँ । नेकपा एमालेभित्र अध्यक्ष केपी शर्मा ओलीलाई हटाउन भइरहेका प्रयास तत्कालका लागि साम्य भएको नेताहरूले बताएका छन् ।

फागुन २१ को चुनावमा लज्जास्पद पराजय व्यहोरेपछि यसको नैतिक जिम्मेवारी अध्यक्ष ओलीले लिनुपर्ने पक्षमा उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेललगायत बहुमत पदाधिकारी उभिएका थिए। तर, मंगलबार बसेको केन्द्रीय कमिटी बैठकमा उपाध्यक्ष पौडेल र महासचिव पोखरेलले तत्काल अध्यक्ष हटाउने कुनै योजना नरहेको स्पष्टीकरण दिएपछि वैशाखदेखि चलेको अन्तर्संघर्ष साम्य भएको सचिव शेरधन राईले बताए ।

विष्णु र शंकरले मत्थर भएर अभिव्यक्ति दिएपछि ओलीको विरोधमा आक्रामक रूपमा बोल्न तयारी गरेका नेता समेत पछि हटेको उनको भनाइ छ। ‘लिडरसिप केन्द्रित जुन बहसहरू भइरहेको थियो त्यसमा उपाध्यक्ष र महासचिव कमरेडले प्रस्ट शब्दमा अहिले हामीले नेतृत्व परिवर्तन गर्न खोजेको होइन भन्ने कुरा घोषणा गर्नुभयो,’ राईले भने, ‘हामीबीच मतान्तर केही पनि छैन भन्दै समर्थन गरेपछि लामो समयदेखि रहेको अन्योल हल भएको छ। अब माथि कसरी मिलाउने भन्ने मात्र बाँकी रह्यो।’

केन्द्रीय कमिटी बैठकमा सोमबार उद्घाटन मन्तव्य राख्दै अध्यक्ष ओलीले ८८ पृष्ठको राजनीतिक प्रतिवेदन सदस्यलाई वितरण गरेका थिए। मंगलबार बैठकको सुरुवातमै ओलीले उपाध्यक्ष पौडेल र महासचिवलाई बोल्न समय दिएका थिए। झन्डै आधा घण्टा बोलेका पौडेलले ओलीको प्रतिवेदनको समर्थन गरेका थिए। यस्तै महासचिव पोखरेलले झन्डै ३५ मिनेट बोलेका थिए। ‘पार्टीभित्र असमझदारी उत्पन्न हुने गरी विशेष महाधिवेशन गर्ने कुरा मैले गरेको होइन,’ बैठकमा पोखरेलले भने, ‘शंकर पोखरेल अध्यक्ष बन्न लाग्यो भन्ने आएको छ, म अध्यक्ष बन्दिनँ। कार्यदलले संकलन गरेका सुझावको आधारमा प्रतिवेदन तयार पारिएको हो। प्रतिवेदनमा पुनर्गठन भन्ने शब्दले अध्यक्ष र मेरो दूरी बढ्यो।’ उनले पुनर्गठनलाई नेतृत्व परिवर्तनसँग जोडेर मात्र हेरिन नहुने बताए। त्यति मात्र होइन बैठक सञ्चालन गर्न नदिएको विषय पनि पोखरेलले उठाए।

‘मन मिल्दा विधान चाहिएन, मन नमिल्दा विधानको खोजी भयो र अध्यक्ष आफैँले बैठक सञ्चालन गर्नुभयो,’ उनले भने। यद्यपि, ओलीको प्रतिवेदनमा कमजोरी स्वीकार गरेर राम्रो भएको बताए।‘पहिले राष्ट्रले कमरेड केपी ओलीलाई नेता स्वीकारेपछि पार्टीले उहाँलाई नेता स्वीकारेको हो, अध्यक्षको नेतृत्वमा धेरै महत्त्वपूर्ण कामहरू भए। त्यसलाई हामीले पटकपटक चर्चा गर्‍यौँ। तर पछिल्लो समयमा जनताले त्यो कुरा सुन्न नै चाहेन,’ पोखरेलको थप भनाइ थियो। त्यसपछि बैठकको माहोल नै बदलिएको अर्का सचिव भानुभक्त ढकालले बताए।‘एकताबद्ध एमाले नयाँ उत्साहका साथ जानेगरी यो बैठकबाट निर्णय हुन्छ,’ उनले भने, ‘केन्द्र य कमिटीसम्म आउँदा एमाले छताछुल्ल हुन्छ भन्ने जे खालको चर्चा थियो, तर अप्ठ्यारो बेला एमाले एक राख्न उपाध्यक्ष र महासचिवले कार्यकर्तामा निराशा नआओस् भनेर जिम्मेवार ढंगले सम्बोधन गर्नुभयो।’ यही सम्बोधनपछि केन्द्रीय सदस्यको मुड परिवर्तन गराउन भूमिका खेलेको उनको भनाइ छ ।

ओलीले पदाधिकारीतर्फबाट पौडेल र पोखरेललाई बोल्न दिएका हुन्। उपमहासचिव योगेश भट्टराईले बोल्न खोज्दा ओलीले समय दिएनन्। त्यसपछि उनले लिखित धारणा समेटिएको प्रतिवेदन ओलीलाई बुझाए। तर, अग्नि खरेल, किरण गुरुङ, पूर्व पोलिटब्युरो सदस्य आनन्द पोखरेल, ठाकुर गैरे, केन्द्रीय सदस्य रचना खड्का, आरसी लामिछाने, एकलाल श्रेष्ठ, उर्मिला सुनुवारलगायत २० नेताले पार्टी पुनर्गठन गर्नै पर्ने भन्दै ओलीको कडा विरोध गरेका छन् । गैरे र खड्काले महासचिव पोखरेलले राजनीतिक रूपमा उठाइरहेको कुरामा तलमाथि नभएको दाबी गरे ।

‘उहाँले आज बोल्नुभएको कुरा हिजो जे हो, त्यही नै छ,’ खड्काले भनिन्, ‘यसलाई कसले के बुझेर अर्थ लगायो भन्ने हो। मैले सैद्धान्तिक र राजनीतिक कुरामा कतै मोडिएको पाइनँ।’गैरे र लामिछानेले पनि महासचिवको सम्बोधनमा हिजोकै कुरामा अडिग रहेको बताए। पूर्व प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पार्टी पुनर्गठनको कुरा अब उठिरहने बताए। ‘पुनर्गठनको विषय अब चलिरहन्छ किनकि यसलाई सचिवालयले निर्णय गरिसक्यो,’ उनले भने, ‘तर, अध्यक्ष ओलीलाई नेतृत्वबाट हटाउने कुरा महाधिवेशन गरेको ८ महिनामै सम्भव थिएन।’ महासचिव र उपाध्यक्षको धारणापछि चर्को बोल्न बसेका नेताहरू समेत ओलीको पक्षमा खुलेको एक पदाधिकारीले बताए ।

‘दुई नेतालाई अध्यक्षले बोल्न दिनुभयो, उहाँहरू बोलेपछि खै भएछ, त्यहाँको माहोल नै यू–टर्न भयो,’ ती पदाधिकारीले भने, ‘पार्टी पंक्ति एउटै निष्कर्षका साथ निस्किए भन्ने सन्देश बाहिर जाने भयो। यद्यपि त्यसले एमालेलाई लाभभन्दा हानि नै बढी होला।’ नेता सूर्य थापाले महासचिव पोखरेलले बैठकमा बोलेको कुराको सार फेसबुकमा राखेका थिए। उनले पार्टीमा ओलीले नेतृत्व छोड्नुपर्छ भनेर बहस चर्काइरहेका नेतालाई सन्देश दिन त्यसो गरेको ती पदाधिकारीको भनाइ छ ।

‘कतिपय साथीहरूमा सबै कुरा मिलेछ, भ्याइएछ, विष्णु र शंकर कमरेडले यति भनेपछि सकियो भन्ने बुझेका छन् र धारणा राखे,’ उनी भन्छन्। अर्का पदाधिकारीले यो केन्द्रीय कमिटी बैठकले पनि नयाँ कुरा दिन नसक्ने बताए। ‘बोल्ने क्रम जारी छ, नेताहरूले कार्यदलको प्रतिवेदन चाहियो, प्रतिवेदनका निष्कर्ष अध्यक्षको प्रतिवेदनमा समेट्नुपर्छ भन्ने कुरा उठाइराखेका छन्,’ ती पदाधिकारीले नेपालखबरसँग भने, ‘महासचिवलाई कुन रसायनले गलायो बुझ्न सकिएन। ओलीले छोड्न नमान्ने भएपछि कि पार्टी विभाजन गर्नुपर्‍यो, त्यो नगरे कम्प्रमाइज गर्नुपर्‍यो।’ अर्का नेताले पनि महासचिव पोखरेलले एजेन्डा नछोडेको बताए ।

‘प्रतिनिधि परिषद्को बैठकमा विभिन्न तरिका अपनाएर पुर्‍याउन सकिन्छ कि भन्ने कोसिस हो, त्यसको माहोल बनाउँदै लगेको देखिन्छ,’ उनले भने। माहोल आफ्नो पक्षमा ढल्किएको मेसो पाएपछि ओलीले बुधबार बिहान बोलाएको सचिवालय बैठक पनि स्थगित गरेका छन्। ‘अब सबै केन्द्रीय सदस्यको धारणा सुनेपछि मात्र सचिवालय बैठक बसेर निर्णयलाई अन्तिम रूप दिइने कुरा छ,’ राईले भने। ३०१ सदस्यीय केन्द्रीय समिति रहेको एमालेमा मंगलबार ११८ जनाले बोलेका छन्। तल्ला तहबाट आएको सुझावहरू समेटिएको प्रतिवेदन के हुन्छ भन्ने बारेमा भने कुनै निर्णय भइसकेको छैन। तर राष्ट्रिय भेला बोलाउन सक्ने सम्भावना रहेको सचिव राईले जानकारी दिए। ‘राष्ट्रिय प्रतिनिधि परिषद् बोलाउने कि राष्ट्रिय भेला भन्ने कुरा छलफलकै क्रममा छ,’ उनले भने।

प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।