म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले लगातार तेस्रो आर्थिक वर्षसम्म घरमा हुने प्रसूतिलाई शून्यमा कायम राख्न सफल भएको छ ।
मातृ तथा शिशु स्वास्थ्यमा सुधार ल्याउने उद्देश्यले पालिकाले घरमा प्रसूति हुने सङख्या शून्य बनाएको हो ।
असुरक्षित प्रसूतिका कारण हुने जोखिम न्यूनीकरण गरी नवजात शिशु र आमाको स्वास्थ्य सुधार्न गरिएको प्रयास स्वरूप घरमा प्रसूति हुनेको सङख्या लगातार तेस्रो वर्ष शून्य कायम भएको अन्नपूर्ण गाउँपालिकाका जनस्वास्थ्य निरीक्षक समुन्द्र बरुवालले बताए । अन्नपूर्णका सबै गर्भवतीले पछिल्लो ३ वर्षयता स्वास्थ्य संस्थामै पुगेर दक्ष स्वास्थ्यकर्मीबाट प्रसूति सेवा लिएको र यसलाई निरन्तरता दिन सचेतनामूलक कार्यक्रमलाई अघि बढाइएको जानकारी उनले दिए ।
पालिकामा आर्थिक वर्ष २०८२/८३ मा ९१ जना, २०८१/८२ मा ७९ र २०८०/८१ मा ९१ जनाले सुरक्षित प्रसूति सेवा लिएका छन् । गत आवमा सुत्केरी भएका ९१ जनामध्ये २५ जनाले गाउँपालिकाभित्रकै स्वास्थ्य संस्थाबाट सेवा प्राप्त गरेका थिए । यसअघि आव २०७९/८० मा १३९ मध्ये १३५ जनाले संस्थागत प्रसूति सेवा लिँदा एक जनाले मात्र घरमा र ४ जनाले मृत बच्चा जन्माएका थिए । त्यसैगरी आव २०७८/७९ मा पालिकाका १२७ जनाले संस्थागत प्रसूति सेवा लिएका थिए ।
घरमा असुरक्षित प्रसूति हुने र नियमित गर्भ परीक्षण नगराउने परिपाटी अन्त्य गर्न पालिकाले ‘आमासँग जनप्रतिनिधि’ कार्यक्रम सञ्चालन गरिरहेको छ । तोकिएको समयमा नियमित गर्भ परीक्षण र संस्थागत प्रसूति सेवामा पहुँच बढाएर मातृ शिशु मृत्युदर घटाउन तथा स्वास्थ्य र पोषण सुधार्न यो कार्यक्रम प्रभावकारी बनेको उपाध्यक्ष दिवा तिलिजा पुनले बताइन् ।
गर्भवती स्वास्थ्य परीक्षणका लागि स्वास्थ्य संस्थामा आउँदा अण्डा र सुत्केरी भएपछि घरमै पुगेर भाले दिने गरिएको उनले जानकारी दिइन् । तोकिएको मितिमा ४ पटक गर्भ परीक्षण गर्दा हरेकपटक १–१ क्रेट अण्डा र संस्थागत प्रसूति हुनेलाई जनप्रतिनिधि तथा स्वास्थ्यकर्मी घरमै पुगेर एउटा कुखुराको भाले उपहार दिने गरेका छन् । सुत्केरी भएपछि पनि ५ पटक जाँच गराउनेलाई थप एक क्रेट अण्डा, ५ किलोग्राम सर्वोत्तम पीठो र बच्चालाई न्यानो कपडा उपलब्ध गराइँदै आएको छ । यस प्रयासबाट गर्भवती र सुत्केरीको खानपान, सरसफाइ एवं स्याहारसुसारमा जागरण आएको छ ।
८ वडा रहेको अन्नपूर्णको दोवा र दानाबाहेक भुरुङ–तातोपानी, नारच्याङ, शिख, घार, हिस्तान र राम्चेका स्वास्थ्य संस्थामा प्रसूति सेवा केन्द्र सञ्चालनमा छन् । साथै वडा नं ५ मा पर्ने पाउद्वारको सामुदायिक स्वास्थ्य एकाइमा पनि प्रसूति केन्द्रबाट सेवा दिइँदै आएको छ ।


































