काठमाडौं । त्रिपुरेश्वरमा बसभित्र आगलागी हुँदा जलेर मृत्यु भएका चालक अर्जुन दोङ तामाङको शव उनका परिवारले बुझ्न अस्वीकार गरेका छन् ।
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ का स्थायी बासिन्दा अर्जुनले चलाउँदै आएको रिद्धिसिद्धी यातायातको बा ५ ख ४२७४ नम्बरको बसमा सोमबार आगलागी भएको थियो। घटनामा गम्भीर घाइते भएका अर्जुनको उपचारका क्रममा कीर्तिपुरस्थित बर्न अस्पतालमा मृत्यु भएको थियो। परिवारले भने अर्जुनको मृत्युको घटनाबारे सत्यतथ्य अनुसन्धान गरी दोषी देखिएकामाथि कारबाही नभएसम्म शव नबुझ्ने अडान लिएको छ। मंगलबार बिहानसम्म पनि परिवारका सदस्य अस्पतालमै रहे पनि शव बुझ्न अस्वीकार गरेका छन्।
अर्जुनकी भाउजू आस्था तामाङले घटनाको निष्पक्ष अनुसन्धान र न्यायको माग गर्दै शव नबुझेको बताइन्। उनका अनुसार घटनाको वास्तविकता सार्वजनिक हुन आवश्यक छ। ‘हामी अस्पतालमै छौं। शव बुझेका छैनौँ। आज हामीलाई पर्यो । भोलि अरूलाई पनि यस्तो घटना हुन सक्छ। त्यसैले हामीले न्यायको माग राखेका छौँ,’ उनले भनिन्। प्रहरीका अनुसार सोमबार त्रिपुरेश्वरमा ट्राफिक प्रहरी र अर्जुनबीच विवाद भएपछि उनले बसभित्रबाट आफैँ आगो लगाएका थिए ।
आगो लागिरहेको बसभित्रबाट प्रहरीले अर्जुनको उद्धार गरेको थियो। उद्धारका क्रममा उनको शरीरको करिब ९७ प्रतिशत भाग जलेको थियो। गम्भीर अवस्थामा उनलाई तत्काल कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको थियो। तर उपचारकै क्रममा अस्पतालले सोमबार नै उनलाई मृत घोषणा गरेको थियो।
घटनाको प्रारम्भिक अनुसन्धानमा अर्जुनले बसभित्रबाट ढोका बन्द गरेर आगो लगाएको देखिएको प्रहरीले जनाएको छ। आगो लागेपछि उनलाई बाहिर निकाल्न बसको ढोका फोड्नुपरेको थियो। आगो नियन्त्रणमा लिने प्रयास गरिए पनि बस पूर्ण रूपमा जलेर नष्ट भएको थियो। उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीका अनुसार ट्राफिक प्रहरीले अर्जुनलाई चिट काटेको थिएन। घटनाको वास्तविक कारणबारे भने विस्तृत अनुसन्धान भइरहेको छ।
घटनापछि अर्जुनको पहिचानमा समेत केही समय अन्योल देखिएको थियो। प्रहरीले घाइते अवस्थामा उद्धार गर्दा उनको साथबाट ललितपुरका दावा लामाको नाममा जारी भएको सवारी चालक अनुमतिपत्र फेला पारेको थियो । सोही लाइसेन्सका आधारमा प्रहरीले सुरुमा आगलागी भएको बसका चालक दावा लामा भएको सार्वजनिक गरेको थियो। तर, लाइसेन्समा उल्लेख भएको मोबाइल नम्बरमा सम्पर्क गर्दा दावा लामासँगै प्रहरीको सम्पर्क भयो। दावाले आफ्नो सवारी चालक अनुमतिपत्र हराएको र अर्जुनले प्रयोग गरेको हुनसक्ने जानकारी प्रहरीलाई दिए। त्यसपछि प्रहरीले अनुसन्धान अघि बढाउँदा बस चालक अर्जुन दोङ तामाङ नै भएको खुलेको हो।
जिल्ला प्रहरी परिसरका प्रमुख एसएसपी विनोद घिमिरेका अनुसार आगलागी भएको बसमा दावा लामाको नाममा जारी भएको सवारी चालक अनुमतिपत्र प्रयोग भएको पाइएको छ। लाइसेन्स कसरी अर्जुनको हातमा पुग्यो र उनले अरू व्यक्तिको नाममा जारी भएको अनुमतिपत्र प्रयोग गर्दै कसरी लामो समयदेखि सवारी चलाउँदै आएका थिए भन्ने विषयमा समेत प्रहरीले अनुसन्धान थालेको छ। प्रहरी अनुसन्धानका क्रममा अर्जुनले यसअघि पनि अर्कै व्यक्तिको नाममा जारी भएको सवारी चालक अनुमतिपत्र प्रयोग गरेको तथ्य खुलेको छ ।
२०८२ कात्तिकमा बालाजुमा बस पल्टिँदा तीन जना घाइते भएको घटनामा पनि अर्जुन नै बस चालक रहेको खुलेको छ। उक्त दुर्घटनापछि उनी फरार भएका थिए। सो घटनाको अनुसन्धान गर्दा उनले सुनिल तामाङको नाममा जारी भएको सवारी चालक अनुमतिपत्र प्रयोग गरेको पाइएको थियो।
त्रिपुरेश्वर घटनापछि अर्जुनसँग आफ्नै नागरिकता नभएको तथ्यसमेत खुलेको छ। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ का स्थायी बासिन्दा भए पनि उनी सानै उमेरमा गाउँ छाडेर काठमाडौं आएका थिए। गाउँबाट काठमाडौं आएपछि केही समय दाइ–भाउजूसँग कुलेश्वर क्षेत्रमा बसेका अर्जुन पछि छुट्टै बस्न थालेका थिए। उनले नागरिकता बनाउन गाउँ फर्किएको परिवारलाई जानकारी थिएन ।
विभिन्न बसमा सहचालकका रूपमा काम गरेपछि अरू व्यक्तिको नाममा जारी भएको लाइसेन्स प्रयोग गरेर चालकका रूपमा काम गर्न थालेको परिवारले जनाएको छ। भाउजू आस्थाले अर्जुनसँग नागरिकता नभएको पुष्टि गरिन्। उनका अनुसार अर्जुनसँग जन्मदर्ताको प्रमाणपत्र भने थियो। ‘अर्जुनसित जन्मदर्ता प्रमाणपत्र छ। तर नागरिकता बनाउन उहाँ गाउँ फर्किनुभएन। कहिले कता, कहिले कता बस्नुहुन्थ्यो,’ उनले भनिन्।
इन्द्रसरोवर गाउँपालिका–३ को वडा कार्यालयले पनि अर्जुनको नागरिकता बनेको रेकर्ड नरहेको जनाएको छ। वडा कार्यालयका एक अधिकारीका अनुसार अर्जुनको पहिले बनाइएको जन्मदर्तासमेत हराएको थियो। त्यसपछि त्यसको प्रतिलिपि बनाइएको थियो। नयाँ बनाइएको प्रतिलिपिअनुसार अर्जुनको उमेर २६ वर्ष देखिएको छ।
जन्मदर्तामा उनको जन्ममिति २०५८ कात्तिक ७ गते उल्लेख गरिएको छ। परिवारका अनुसार अर्जुनका दुई जना श्रीमती छन् भने एक छोरीसमेत छन् । उनी करिब सात वर्षदेखि बस चालकका रूपमा काम गर्दै आएका थिए। विभिन्न यातायात कम्पनीका बस चलाउँदै आएका उनी पछिल्लो समय रिद्धिसिद्धी यातायातको बस चालकका रूपमा कार्यरत थिए ।
सोमबार मूलपानीबाट थानकोटका लागि छुटेको बा ५ ख ४२७४ नम्बरको बस करिब १० बजेर ३० मिनेटमा त्रिपुरेश्वर पुगेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। त्यही क्रममा ट्राफिक प्रहरी र चालक अर्जुनबीच विवाद भएको प्रहरीको भनाइ छ। विवादपछि अर्जुनले बिहान १० बजेर ३५ मिनेटमा बस सडकमा तेर्स्याएर राखेको पाइएको छ । पछि अन्य सवारी चालक र ट्राफिक प्रहरीले बसलाई बस स्टपमा पार्किङ गर्न लगाएका थिए। बस त्यहाँ पुग्दा केही यात्रुसमेत थिए। प्रहरीले यात्रुलाई बसबाट झारेपछि पनि अर्जुन भने बसमै बसेका थिए। त्यस क्रममा ट्राफिक प्रहरीले उनलाई आवश्यक कागजात मागेको थियो।
तर अर्जुनले कागजात दिन अस्वीकार गरेका थिए। आफूबाट कुनै गल्ती नभएको भन्दै उनले आफू मर्न तयार रहेको जवाफ दिएको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ। त्यसपछि उनी र ट्राफिक प्रहरीबीचको विवाद थप चर्किएको थियो। यही क्रममा अर्जुनले ड्राइभरको सिटबाट ट्राफिक प्रहरीसँग विवाद गर्दै आफू मर्न तयार रहेको बताएको भिडियोसमेत सामाजिक सञ्जालमा सार्वजनिक भएको छ। अन्य व्यक्तिले विवाद भइरहेका बेला खिचेको देखिने उक्त भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। भिडियोमा देखिएको घटनाक्रम र प्रारम्भिक अनुसन्धानका आधारमा बसले बजाएको हर्नसम्बन्धी विवाद चर्किँदै गएपछि अर्जुनले आत्मदाहको प्रयास गरेको हुनसक्ने देखिएको छ। यद्यपि घटनाको वास्तविक कारण र आत्मदाहसम्म पुग्नुको पृष्ठभूमिबारे प्रहरीले औपचारिक निष्कर्ष सार्वजनिक गरिसकेको छैन।
घटनाको छानबिनका लागि उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एसएसपी रमेश बस्नेतको नेतृत्वमा छानबिन समिति गठन गरिएको छ। समितिले सोमबारदेखि नै घटनाबारे अनुसन्धान सुरु गरिसकेको छ। बसभित्र आगो लगाउन प्रयोग गरिएको पदार्थ कहाँबाट ल्याइएको थियो भन्ने विषयमा पनि समितिले अनुसन्धान गर्ने भएको छ। बसभित्र पहिलेदेखि कुनै ज्वलनशील पदार्थ रहेको थियो वा अर्जुनले बाहिरबाट त्यस्तो पदार्थ ल्याएर आगो लगाएका थिए भन्ने विषयसमेत अनुसन्धानको दायरामा राखिएको प्रहरीले जनाएको छ।
प्रहरीले ट्राफिक प्रहरी र अर्जुनबीच भएको विवाद, बस सडकमा तेर्स्याएर राखिएको अवस्था, यात्रुलाई बसबाट ओरालिएको घटनादेखि आगलागी र उद्धारसम्मका सबै घटनाक्रमलाई जोडेर अनुसन्धान गरिरहेको छ। साथै, अरू व्यक्तिको नाममा जारी भएको चालक अनुमतिपत्र प्रयोग गर्दै अर्जुनले लामो समयदेखि सवारी चलाएको विषय पनि अनुसन्धानको अर्को पाटो बनेको छ। परिवारले भने यी सबै विषयको निष्पक्ष छानबिन हुनुपर्ने माग राखेको छ। घटनाको सत्यतथ्य बाहिर नआएसम्म शव नबुझ्ने अडान लिएपछि त्रिपुरेश्वर बस आगलागी घटना अब चालकको आत्मदाहमा मात्र सीमित नभई ट्राफिक प्रहरीसँगको विवाद, चालक अनुमतिपत्रको प्रयोग, नागरिकताको अवस्थालगायतका विषयमा समेत अनुसन्धानको केन्द्रमा परेको छ।


































