काठमाडौं । अध्यागमन विभागले एकैपटक ८८ जना चिनियाँ नागरिकको भिसा रद्द गरेको छ ।
व्यावसायिक भिसा लिई नेपाल बस्दै आएका उनीहरूले भिसाको उद्देश्यविपरीत कार्य गरेको पाइएकोले भिसा रद्द गरेर डिपोर्ट (स्वदेश फिर्ता) को प्रक्रिया अगाडि बढाइएको अध्यागमन विभागका निर्देशक टिकाराम ढकालले जानकारी दिए ।
उनीहरू सिन्धुलीको मरिण गाउँपालिका–४ साहानस्थित छेन्दु टियान फुड लिमिटेडको आर्थिक साझेदारीमा निर्माणाधीन जियान फुड्स प्रालि (नेपाल हिट प्रोसेस्ड बफेलो मिट एक्पर्ट टु चाइना प्रोजेक्ट) मा कार्यरत थिए ।
८८ जनाले नै अन्य कम्पनीको नाममा व्यावसायिक भिसा लिई भिसाको उद्देश्यविपरीत कार्य गरेको पाइएको अध्यागमन विभागले जनाएको छ । भिसा रद्द गरेर अध्यागमन ऐन, २०४९ बमोजिम जरिवाना गरी निष्कासनको प्रक्रिया अघि बढाइएको छ ।
अध्यागमन विभागले विदेशी नागरिकलाई आफूले प्राप्त गरेको भिसाको उद्देश्य र शर्तबमोजिमका क्रियाकलापमा मात्र संलग्न हुन भनेको छ । सम्बन्धित उद्योग, कम्पनी, प्रतिष्ठान तथा रोजगारदातालाई पनि उपयुक्त भिसा र स्वीकृतिबिना विदेशी नागरिकलाई रोजगारीमा संलग्न नगराउन सचेत गराएको छ । अध्यागमन कानुन तथा अन्य प्रचलित कानूनविपरीतका कार्यमा संलग्न भएको पाइए कारबाही गर्ने चेतावनी समेत विभागले दिएको छ ।
नेपालमा व्यापारिक वा औद्योगिक व्यवसायमा लगानी गर्ने इजाजतप्राप्त विदेशी नागरिक वा त्यस्तो संस्थाका आधिकारिक प्रतिनिधिलाई सम्बन्धित निकायको सिफारिशमा व्यावसायिक भिसा जारी गर्दै आएको छ । नेपालमा उत्पादित मालसामान खरिद गरी निकासी गर्ने विदेशीलाई समेत व्यावसायिक भिसा जारी गर्ने व्यवस्था छ ।
अध्यागमन नियमावली, २०५१ मा व्यावसायिक भिसा प्राप्त गर्ने विदेशी नागरिकले जुन उद्देश्यका लागि भिसा प्राप्त गरेको हो, सोही उद्देश्यका साथ नेपालमा बस्नुपर्छ । व्यावसायिक भिसालाई रोजगारी, श्रम वा अन्य असम्बन्धित कार्यका लागि प्रयोग गर्न मिल्दैन । विभागले अनुगमनका क्रममा विदेशी नागरिकहरू भिसा सिफारिश तथा स्वीकृतिसँग सम्बन्धित व्यवसाय वा लगानीको उद्देश्यभन्दा फरक प्रकृतिको रोजगारी, श्रम वा अन्य कार्यमा संलग्न रहेको पाइएको जनाएको छ ।
प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।


































