बालबालिकाको सर्वाङ्गीण विकासका लागि प्रारम्भिक बालविकास (बालकक्षा) आधारशीला हो ।
३–४ वर्ष उमेर समूहका बालबालिकालाई विद्यालयीय वातावरणसँग जोड्ने, सिक्ने र खोज्ने उत्सुकता जगाउने र सामाजिकीकरणको प्रक्रियालाई सबलीकरण गर्ने मुख्य माध्यम नै बालकक्षा हो ।
पछिल्लो समय तेह्रथुमका सामुदायिक विद्यालयहरूमा बालकक्षाको स्वरूपमा आएको सकारात्मक परिवर्तनले प्रारम्भिक शिक्षामा नयाँ आशा र उत्साह सञ्चार गरेको छ । छथर गाउँपालिकाको जनज्योति आधारभूत विद्यालय समेत स्थानीय विद्यालयहरूमा स्मार्टबोर्ड, स्मार्ट टीभी, रङ्गीचङ्गी शैक्षिक सामग्री, चित्र र बालमैत्री वातावरणको प्रयोगमार्फत सिकाइ प्रक्रियालाई खेल र मनोरञ्जनसँग जोडिनु अत्यन्तै सराहनीय कदम हो ।
तर बालकक्षाको रूपान्तरण कक्षाकोठाको सजावट वा प्राविधिक आधुनिकतामा मात्र सीमित नभई यसको वास्तविक अर्थ र दीर्घकालीन दीगोपना सुनिश्चित गर्नु आजको मुख्य आवश्यकता हो । परम्परागत रूपमा बालकक्षा भन्नाले बालबालिकालाई कालोपाटी र चकको भरमा अक्षर कोर्न लगाउने, पेन्सिल समातेर जबरजस्ती लेख्न बाध्य पार्ने र औपचारिक पढाइको बोझ थुपार्ने थलोका रूपमा बुझिन्थ्यो । यसले बालबालिकामा विद्यालयप्रति डर र अनिच्छा पैदा गर्थ्यो ।
तेह्रथुमका विद्यालयहरूले परम्परागत शैलीलाई बदल्दै हेरेर, सुनेर, खेलेर र प्रयोग गरेर सिक्ने प्रयोगात्मक तथा बालकेन्द्रित वातावरणको सिर्जना गरेका छन् । यसले बालबालिकालाई विद्यालय आउन प्रेरित गर्दै चकको धुलोबाट हुने स्वास्थ्य जोखिमबाट शिक्षक र विद्यार्थी दुवैलाई मुक्ति दिएको छ । प्रविधिको प्रयोगले जटिल कुराहरूलाई पनि बालमस्तिष्कले सजिलै ग्रहण गर्न सक्ने गरी सरल र दृश्यश्रव्य माध्यमबाट प्रस्तुत गर्न सहयोग पुर्याएको छ ।
बालकक्षामा गरिएको लगानी र परिवर्तनको वास्तविक अर्थ तब मात्र सार्थक हुन्छ, जब यसले बालबालिकाको सिकाइ उपलब्धिमा प्रत्यक्ष योगदान पुर्याउँछ । बालकक्षा बालबालिकालाई भुलाउने वा दिन बिताउने ठाउँ मात्र नभई रचनात्मकता, समालोचनात्मक सोच, भाषिक दक्षता र सामाजिक–संवेगात्मक सीप विकास गर्ने जग हो । जब बालबालिकाले गीत, कथा, नाचगान र खेलौनाका माध्यमबाट भावना व्यक्त गर्न र संसारलाई बुझ्न थाल्छन्, तब मात्र जग बलियो हुन्छ ।
यसले आगामी माथिल्लो कक्षाका लागि दह्रो आधार निर्माण गर्छ र विद्यालय बिचैमा छाड्ने दरलाई घटाउन अहम् भूमिका खेल्छ । बालमैत्री र प्रविधिमैत्री प्रयासहरूको दीगोपना अहिलेको सबैभन्दा ठूलो चुनौती र चिन्ताको विषय हो । धेरैजसो स्थानीय तह वा विभिन्न सामाजिक संघसंस्थाहरूको साझेदार तथा अनुदानमा यस्ता कार्यक्रमहरू सुरु हुन्छन् । तर अनुदान सकिएपछि वा प्रारम्भिक उत्साह मन्द भएपछि उपकरणहरू बिग्रिने, मर्मतसम्भार नहुने र कक्षाकोठाहरू पुनः पुरानै अवस्थामा फर्किने जोखिम रहन्छ ।
त्यसैले बालकक्षाको आधुनिक रूपान्तरणलाई दीर्घकालीन बनाउनतिर ध्यान दिनु आवश्यक छ ।
स्थानीय सरकारहरूले बालकक्षालाई कुनै अस्थायी आयोजनाका रूपमा नहेरी वार्षिक बजेट र शिक्षा नीतिको स्थायी हिस्सा बनाउनुपर्छ । प्रविधिका साधनहरू जस्तैः स्मार्टबोर्ड, टीभी र इन्टरनेटको नियमित मर्मत र स्तरोन्नतिका लागि छुट्टै कोषको व्यवस्था गरिनुपर्छ ।
आधुनिक प्रविधि र बालमनोविज्ञान अनुसार शिक्षण गर्नका लागि बालकक्षाका सहयोगी कार्यकर्ता तथा शिक्षकहरूलाई निरन्तर तालिम दिइनुपर्छ । शिक्षक प्राविधिक रूपमा दक्ष र बालमनोवैज्ञानिक दृष्टिकोणले पोख्त नभएसम्म केवल प्रविधिले मात्र गुणस्तरीय शिक्षा दिन सक्दैन । बाह्य सामग्रीमा मात्र निर्भर हुनुभन्दा स्थानीय स्तरमै उपलब्ध माटो, काठ, कागज र प्राकृतिक वस्तुहरूबाट बालमैत्री शैक्षिक सामग्री निर्माण गर्ने सीप प्रवद्र्धन गरिनुपर्छ । यसले लागत घटाउनुका साथै बालबालिकालाई आफ्नो परिवेशसँग जोड्न मद्दत गर्छ ।
बालकक्षामा जे सिकाइन्छ, त्यसको निरन्तरता घरमा पनि हुनुपर्छ । अभिभावकहरूलाई बालकक्षाको महत्व र भूमिकाबारे सचेत गराई विद्यालयको व्यवस्थापनमा जोड्नुपर्छ । तेह्रथुमका सामुदायिक विद्यालयहरूमा बालकक्षालाई रङ्गीन, बालमैत्री र प्रविधिमैत्री बनाएर सुरु गरिएको अभियान नेपालको प्रारम्भिक शिक्षा क्षेत्रका लागि एउटा अनुकरणीय नमूना हो ।
यसले विद्यालयलाई घोकन्ते विद्याबाट रूपान्तरण गरी खुसी र सिकाइको सङ्गमस्थल बनाएको छ । अबको दायित्व भनेको शिक्षण शैलीको परिवर्तनलाई केही विद्यालय वा सीमित अवधिको सफलतामा मात्र सीमित नराखी देशैभरका सामुदायिक विद्यालयहरूमा विस्तार गर्नु र यसको संस्थागत तथा वित्तीय दीगोपना सुनिश्चित गर्नु हो ।
२०८३ असोज ८ गतेको सम्पादकीय प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।



































