भारतले खाने तेलमा कर घटाउँदा नेपाललाई मार

काठमाडौं । भारत सरकारले पाम, सोयाबिन र सूर्यमुखी तेललगायत खाने तेलको आयातमा लाग्ने आधारभूत भन्सार शुल्क (बीसीडी) घटाएको छ ।

चाडपर्वको मुख्य सिजनमा उपभोक्तालाई राहत दिने उद्देश्यले भारतले खाने तेलमा आयात शुल्क कटौती गरेको बताएको छ । भारत सरकारले बुधबार राति सूचना जारी गरेर बिहीबारदेखि लागू हुने गरी कच्चा पाम तेल र कच्चा सोयाबिन तेलको आधारभूत आयात शुल्क १० प्रतिशतबाट घटाएर ५ प्रतिशतमा झारेको छ । त्यस्तै, प्रशोधित पाम तेल र सोयाबिन तेलमा लाग्ने शुल्क ३२.५ प्रतिशतबाट घटाएर २७.५ प्रतिशत कायम गरिएको छ । कच्चा सूर्यमुखी तेलको आयात शुल्क १० प्रतिशतबाट घटाएर शून्यमा झारिएको छ भने प्रशोधित सूर्यमुखी तेलको शुल्क ३२.५ प्रतिशतबाट घटाएर २२.५ प्रतिशत कायम गरिएको छ ।

नेपालबाट भारतमा सबैभन्दा बढी निर्यात हुनेमा सोयाबिन, पाम र सूर्यमुखी तेल हुन् । नेपालले तेस्रो मुलुकबाट आयात गरिएको कच्चा तेल प्रशोधन गरी मूल्यअभिवृद्धि गरेर भारततर्फ निर्यात गर्दै आएको थियो । गत आर्थिक वर्ष २०८२/८३ मा मात्रै नेपालबाट एक खर्ब ४९ अर्ब ८३ करोड ९५ लाख रुपैयाँ बराबरको खाने तेल भारततर्फ निर्यात भएको भन्सार विभागको तथ्यांक छ । भारतमा पछिल्लो एक वर्षमा वनस्पति तेलको मूल्य करिब २० प्रतिशतले बढेको छ । भारतमा सेप्टेम्बरदेखि नोभेम्बरसम्म चल्ने प्रमुख धार्मिक तथा चाडपर्वका समयमा मिठाइ, स्न्याक्स तथा तारेका परिकारको खपत बढ्ने भएकाले त्यसमा प्रयोग हुने तेलको भन्सार शुल्कमा सरकारले कटौती गरेको हो ।

भारतमा खाने तेलको आयातमा आधारभूत भन्सार शुल्कबाहेक कृषि पूर्वाधार तथा विकास उपकर (एआईडीसी) र सामाजिक कल्याण शुल्क समेत लाग्छ । नयाँ व्यवस्थापछि कच्चा पाम तेल र कच्चा सोयाबिन तेलमा कुल आयात शुल्क १६.५ प्रतिशतबाट घटेर ११ प्रतिशतमा झर्ने र कच्चा सूर्यमुखी तेलमा कुल शुल्क १६.५ प्रतिशतबाट घटेर ५.५ प्रतिशतमा झर्ने छ । भारतले इन्डोनेसिया, मलेसिया, थाइल्यान्डबाट पाम तेल, अर्जेन्टिना, ब्राजिल, चीनबाट सोयाबिन तेल, रुस, युक्रेन, अर्जेन्टिनाबाट सूर्यमुखी तेल र नेपालबाट रिफाइन्ड खाने तेल आयात गर्दै आएको छ । नेपालबाट भारततर्फ जाने रिफाइन्ड खाने तेलले दक्षिण एसियाली स्वतन्त्र व्यापार क्षेत्र (साफ्टा) अन्तर्गत सहुलियतपूर्ण भन्सार पहुँच पाउँदै आएको छ । यही कारण नेपालमा आयात गरिएको कच्चा तेल प्रशोधन गरी भारतमा रिफाइन्ड तेलका रूपमा निर्यात गर्ने व्यवसाय पछिल्लो समय तीव्र रूपमा बढेको छ । नेपालका उद्योगले अर्जेन्टिना, ब्राजिललगायत मुलुकबाट कच्चा खाने तेल आयात गरी नेपालमा प्रशोधन गर्छन् । त्यसपछि प्रशोधित तेल भारतमा निर्यात हुँदै आएको छ ।

भारतले कच्चा तेलको आयातमै भन्सार घटाएपछि भने त्यहाँका रिफाइनरीले तुलनात्मक रूपमा कम लागतमा कच्चा पदार्थ ल्याउन पाउनेछन् । यसले भारतीय रिफाइनरीको उत्पादन लागत घटाउन सक्ने र भारतको घरेलु बजारमा नेपाली रिफाइन्ड तेलसँगको प्रतिस्पर्धा थप कडा हुन सक्ने व्यवसायीहरूको आकलन छ । भारतमा कच्चा तेल सस्तोमा आयात भएर प्रशोधन हुन थालेपछि रिफाइन्ड तेलको बजार मूल्यमा समेत दबाब आउन सक्छ । यस्तो अवस्थामा नेपाली रिफाइनरीले भारतमा आफ्नो बजार हिस्सा कायम राख्न मूल्य घटाउनुपर्ने हुन सक्छ । नेपालबाट निर्यात हुने रिफाइन खाने तेलले भारतीय बजारको मूल्यमा प्रतिस्पर्धि बन्न सकेन भने खाने तेल निर्यातमा भएको लगानी र कारोबार जोखिममा पर्न सक्छ । त्यससँगै हजारौ रोजगारी समेत संकटमा पर्ने अवस्था आउन सक्ने देखिन्छ ।

प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।