काठमाडौं । देशका अधिकांश भूभागमा वर्षा भइरहेको छ । कतिपय स्थानमा पानी नपरे पनि आकाश बाक्लो बादलले ढाकिएको छ ।
पछिल्ला दिनमा कमजोर बनेको मनसुनी गतिविधिसँगै बंगालको खाडीमा विकसित भएको नयाँ न्यूनचापीय प्रणालीको प्रभाव नेपालमा देखिन थालेपछि वर्षा बढेको हो । मौसमविद्का अनुसार उक्त प्रणाली अहिले नेपालभित्र प्रवेश गरिसकेको छैन । भारतको पूर्वी तट हुँदै जमिनमा प्रवेश गरेको प्रणाली कमजोर हुँदै गए पनि त्यससँगै आएको ओसिलो हावा, बादल र वर्षा गराउने वातावरण नेपालसम्म फैलिइसकेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् डेबिट ढकालका अनुसार बंगालको खाडीमा विकसित भएको मौसमी प्रणाली भारतको विशाखापट्टनम आसपासबाट जमिनमा प्रवेश गरेको हो । जमिनमा प्रवेश गरेपछि प्रणाली क्रमशः कमजोर हुँदै गए पनि त्यसले सिर्जना गरेको मौसमी प्रभाव भने तत्काल समाप्त हुँदैन । यही कारण भारतमा रहेको प्रणालीले नेपालमा समेत वर्षा गराउन थालेको हो ।
यो मौसमी प्रणाली अचानक बनेको होइन । भारतीय मौसम विज्ञान विभागले सेप्टेम्बर १९ कै आसपास अन्दमान सागर तथा आसपासको क्षेत्रमा न्यूनचापीय प्रणाली विकास हुन सक्ने सम्भावना औंल्याएको थियो । त्यसअनुसार सेप्टेम्बर २१ सम्म आइपुग्दा उत्तर–पश्चिम बंगालको खाडीमा न्यूनचापीय प्रणाली विकास भयो । त्यसपछि यो प्रणाली क्रमशः बलियो बन्दै गयो । भारतीय मौसम विभागले त्यसबेला आगामी ४८ घण्टामा उक्त प्रणाली ‘डिप्रेसन’ हुँदै ‘डिप डिप्रेसन’ मा परिणत हुन सक्ने अनुमान गरेको थियो । सेप्टेम्बर २२ मा प्रणाली बंगालको खाडीको मध्य–पश्चिम तथा उत्तर–पश्चिम भागमा पुग्दा ‘डिप्रेसन’ अवस्थामा थियो । त्यसको भोलिपल्ट अर्थात् सेप्टेम्बर २३ मा यो थप शक्तिशाली हुँदै ‘डिप डिप्रेसन’ मा परिणत भयो । वायुमण्डलको कुनै क्षेत्रमा वरिपरिको तुलनामा वायुदाब कम हुँदा न्यूनचापीय क्षेत्र निर्माण हुन्छ । यस्तो क्षेत्रमा वरिपरिका क्षेत्रबाट हावा जम्मा भएर माथितर्फ उठ्ने भएकाले बादल निर्माण र वर्षाको सम्भावना बढ्छ । न्यूनचापीय प्रणालीको शक्ति बढ्दै जाँदा त्यसलाई विभिन्न तहमा वर्गीकरण गरिन्छ । त्यसैले ‘डिप डिप्रेसन’ मा परिणत हुनु भनेको प्रणाली थप बलियो बनेको अवस्था हो ।
तर समुद्रमाथि विकसित भएको प्रणाली जमिनमा प्रवेश गरेपछि भने यसको शक्ति घट्न थाल्छ । समुद्रमाथि रहँदा तातो समुद्रबाट निरन्तर ताप र जलवाष्प प्राप्त हुने भएकाले यस्तो प्रणाली सक्रिय रहन्छ । जमिनमा आएपछि समुद्रबाट पाइरहेको ताप र ओसिलोपनको आपूर्ति घट्छ । त्यसले प्रणालीलाई क्रमशः कमजोर बनाउँछ । भारतीय मौसम विभागले बिहीबार दिउँसो सार्वजनिक गरेको विवरणअनुसार बिहान ८ः३० बजे उक्त प्रणाली उत्तर आन्ध्रप्रदेश र दक्षिण ओडिसाको सीमाक्षेत्रमा थियो । त्यसबेला यसको केन्द्र कलिंगपट्टनमबाट करिब ७० किलोमिटर पश्चिम–उत्तरपश्चिम, ओडिसाको रायगडाबाट ८० किलोमिटर दक्षिण–दक्षिणपूर्व र कोरापुटबाट ९० किलोमिटर पूर्व–दक्षिणपूर्वमा रहेको थियो । विभागले बिहीबार साँझसम्म प्रणाली कमजोर हुने र त्यसपछिको २४ घण्टामा थप कमजोर हुँदै जाने अनुमान गरेको छ । तर मौसमी प्रणाली कमजोर हुँदैमा त्यसले निम्त्याएको वर्षाको प्रभाव पनि तत्कालै समाप्त हुन्छ भन्ने हुँदैन । मौसमविद् निष्ठा निरौलाका अनुसार प्रणालीसँगै आएको ओसिलो हावा, बादल तथा वर्षा गराउने वातावरण पहिले नै ठूलो क्षेत्रमा फैलिसकेको हुन्छ । त्यसैले प्रणालीको केन्द्र कमजोर हुँदै गए पनि त्यसले बनाएको मौसमी वातावरण केही समयसम्म कायम रहन सक्छ ।
‘भारतमै रहेको यो मौसमी प्रणालीले अहिले नै नेपालमा प्रभाव देखाउनुको कारण पनि यही हो,’ निरौलाले भनेकी छन्, ‘प्रणालीसँग सम्बन्धित बादल र ओसिलो हावाको प्रभाव नेपालसम्म आइपुगेको हो ।’ वायुमण्डलमा पानीको वाष्प तथा ओसिलो हावा एक ठाउँबाट अर्को ठाउँमा पुग्न हावाको गति आवश्यक हुन्छ । त्यसैले मौसमी प्रणालीको केन्द्र नेपालसम्म नआए पनि त्यसले ल्याएको जलवाष्पयुक्त हावा नेपालमा प्रवेश गर्न सक्छ । हावाको गतिसँगै बादल र ओसिलो हावा ठूलो क्षेत्रमा फैलिँदा वर्षा हुने अवस्था सिर्जना हुन्छ । अहिले नेपालमा भइरहेको सम्पूर्ण वर्षा भने बंगालको खाडीबाट विकसित यही प्रणालीकै कारण भएको होइन । नेपालमा यसअघि नै मनसुनी प्रभाव कायम छ । त्यससँगै पश्चिमी वायुको समेत केही प्रभाव रहेको मौसमविद्हरूले बताएका छन् । भारतबाट जलवाष्पयुक्त हावा नेपाल प्रवेश गरेपछि यी विभिन्न मौसमी अवस्थाबीचको अन्तरक्रियाले वर्षा गराउने वातावरण थप सक्रिय भएको हो । मौसमविद् निरौलाका अनुसार मनसुनको प्रभावसँगै पश्चिमी वायुको केही असर र भारतमा विकसित नयाँ न्यूनचापीय प्रणालीबाट आएको जलवाष्पयुक्त हावाले वर्षाको गतिविधि बढाएको हो । उनका अनुसार एउटै प्रणालीका कारण मात्र अहिलेको वर्षा भइरहेको नभई विभिन्न मौसमी प्रणालीको संयुक्त प्रभावले वर्षाको सम्भावना बढाएको हो ।
यसको प्रभाव बिहीबार देशका विभिन्न भागमा परेको वर्षाको विवरणबाट समेत देखिन्छ । जल तथा मौसम विज्ञान विभागको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै वर्षा पाल्पाको बल्ड्याङगढीमा मापन भएको छ । त्यहाँ १६१ मिलिमिटर वर्षा भएको छ । अर्घाखाँचीको सिमलपानीमा १५० मिलिमिटर, कपिलवस्तुको भगवानपुरमा १४५ मिलिमिटर, मैनारमा १३८ मिलिमिटर र रंगाईमा ८६ मिलिमिटर वर्षा भएको छ । त्यस्तै, दाङको कोइलावासमा ९६.६ मिलिमिटर, तनहुँको खैरेनीटारमा ८९.६ मिलिमिटर तथा संखुवासभाको टासीगाउँमा ८४.६ मिलिमिटर वर्षा मापन भएको विभागको तथ्यांकमा उल्लेख छ । भारततर्फ पनि यही प्रणालीका कारण ठूलो वर्षा भएको छ । भारतीय मौसम विभागका अनुसार पछिल्लो २४ घण्टामा ओडिसाको सिमिलिगुडामा १९३.९ मिलिमिटर, चित्रकोन्डामा १६८.८ मिलिमिटर, महेन्द्रगढमा १५३.४ मिलिमिटर र टांगीमा १४२ मिलिमिटर वर्षा भएको छ ।
नेपालमा भने बिहीबारको तुलनामा शुक्रबार वर्षाको गतिविधि थप बढ्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार शुक्रबारदेखि आइतबारसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना छ । एक–दुई स्थानमा अति भारी वर्षा समेत हुन सक्ने आकलन गरिएको छ । अन्य प्रदेशका केही स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको छ । मौसमविद् निरौलाका अनुसार शुक्रबार र शनिबार वर्षाको प्रभाव अझ बलियो हुन सक्नेछ । विशेषगरी कर्णाली र सुदूरपश्चिमतर्फ शुक्रबार यसको प्रभाव बढी देखिन सक्ने उनको भनाइ छ । यद्यपि शनिबारपछि वर्षाको गतिविधि क्रमशः घट्दै जाने अनुमान गरिएको छ ।
केही स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकाले नदी तथा खोलानालामा पानीको बहाव बढ्न सक्ने, कमजोर भूभागमा पहिरो जान सक्ने र सडक तथा यातायात प्रभावित हुन सक्ने जोखिम रहेको छ । निरन्तर वर्षा भइरहेका क्षेत्रमा जमिन गलेका कारण थप वर्षा हुँदा पहिरो तथा बाढीको जोखिम अझ बढ्न सक्छ ।मौसम प्रणालीको केन्द्र कमजोर हुँदै गएको भए पनि नेपालमा त्यसको प्रभाव तत्काल समाप्त नहुने भएकाले आगामी एक–दुई दिन मौसममा थप सतर्कता आवश्यक देखिएको छ । विशेषगरी गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका वर्षा प्रभावित क्षेत्रमा भारी वर्षासँगै बाढी र पहिरोको जोखिमलाई ध्यान दिनुपर्ने अवस्था छ । शुक्रबार र शनिबारको वर्षापछि भने मौसमी गतिविधि क्रमशः कमजोर हुँदै जाने मौसमविद्हरूको आकलन छ ।
प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।



































