‘तत्काल धान नकाट्नू’

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले मौसममा सुधार नआएसम्म किसानलाई धान नकाट्न आग्रह गरेको छ ।

देशका विभिन्न भागमा अविरल वर्षा भइरहेको र त्यसका कारण बाढी तथा पहिरोको जोखिम बढेकाले विभागले किसानसहित नदी तथा खोला किनारका बासिन्दालाई विशेष सतर्कता अपनाउन आग्रह गरेको हो ।

विभागका मौसमविद् रोजन लामिछानेले हालको प्रतिकूल मौसममा हतार गरेर धान काट्दा बालीसँगै जनधनमा समेत क्षति हुनसक्ने भएकाले मौसम खुलेपछि मात्र धान काट्ने योजना बनाउन किसानलाई सुझाव दिएका छन् । वर्षा भइरहेका बेला खेतमा काम गर्न जाँदा चिप्लिएर दुर्घटना हुने, बाढी तथा डुबानमा पर्ने र काटिसकेको धान भिजेर क्षति हुने जोखिमसमेत रहेकाले केही समय धैर्य गर्न उनले आग्रह गरेका हुन् ।

लामिछानेका अनुसार पछिल्ला दिनमा भइरहेको वर्षाका कारण देशका विभिन्न क्षेत्रमा नदी तथा खोलाको जलसतह बढ्न सक्ने अवस्था छ । त्यसैले नदी तटीय क्षेत्र तथा खोला आसपास बसोवास गर्ने समुदायले थप सावधानी अपनाउनुपर्ने उनले बताए । विशेषगरी लगातार वर्षा भइरहेका क्षेत्रमा नदीको बहाव र जलसतहमा अचानक परिवर्तन आउन सक्ने भएकाले स्थानीय बासिन्दाले जोखिमको अवस्थालाई सामान्य रूपमा नलिन विभागले आग्रह गरेको छ ।

यसैगरी जमिन चिरा परेको, भासिएको वा सानो पहिरो देखिएको स्थानमा बसोवास गर्नेहरूलाई थप सतर्क रहन भनिएको छ । त्यस्ता क्षेत्रमा लगातार वर्षा हुँदा जमिन कमजोर भएर ठूलो पहिरो जान सक्ने जोखिम हुने भएकाले सुरक्षित स्थानतर्फ सर्न र छिमेकीलाई समेत सचेत गराउन विभागले अनुरोध गरेको छ ।

विभागले बाढी तथा पहिरोको जोखिम भएका क्षेत्रमा स्थानीय प्रशासन, सुरक्षा निकाय र स्थानीय तहले जारी गर्ने सूचना पालना गर्नसमेत आग्रह गरेको छ। विशेषगरी स्थानीय प्रशासन र प्रहरीले जोखिमका बेला गर्ने माइकिङ तथा साइरनलाई बेवास्ता नगर्न विभागले भनेको छ । जोखिमको सूचना प्राप्त भएलगत्तै सुरक्षित स्थानमा जानुपर्ने र उद्धार तथा राहतमा खटिएका निकायलाई सहयोग गर्नुपर्ने विभागको भनाइ छ । मौसम प्रतिकूल रहेको अवस्थामा सर्वसाधारणले अनावश्यक रूपमा नदी, खोला, पहिरोको जोखिम भएका क्षेत्र तथा कमजोर सडकमा यात्रा नगर्नसमेत सुझाव दिइएको छ । अत्यावश्यक कामबाहेक जोखिमयुक्त स्थानमा नजान र बालबालिका तथा वृद्धवृद्धालाई विशेष सावधानी अपनाउन विभागले आग्रह गरेको छ ।

विपद्का समयमा सही र समयमै सूचना प्राप्त गर्नु महत्वपूर्ण हुने भएकाले विभागले मौसमसम्बन्धी पछिल्लो विवरण नियमित रूपमा हेर्न सर्वसाधारणलाई अनुरोध गरेको छ। मौसमको अवस्था तथा सम्भावित जोखिमबारे जानकारी लिन विभागका आधिकारिक माध्यमबाट जारी हुने सूचना हेर्न र कुनै जिज्ञासा वा आवश्यक जानकारीका लागि विभागको टोल फ्री नम्बर ११५५ मा सम्पर्क गर्न सकिने जनाइएको छ । विभागले वर्षाका कारण उत्पन्न हुनसक्ने सम्भावित जोखिमलाई ध्यानमा राख्दै किसान, नदी तटीय क्षेत्रका बासिन्दा तथा जोखिमयुक्त भौगोलिक क्षेत्रमा रहेका सबैलाई मौसममा सुधार नआएसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।