भोटेकोशी बाढी प्रभावितलाई कति आयो सहयोग ?

काठमाडौं । भोटेकोसी बाढीपीडितका लागि विदेशी राष्ट्र, संस्था र कम्पनीले ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा दुई करोड ४८ लाख बढी अमेरिकी डलर सहयोग गरेका छन् ।

असोज आठ गतेसम्मको अवधिमा दुई करोड ४८ लाख ८५ हजार ४९८ अमेरिकी डलर सहयोग गरेका हुन् । उक्त रकम तीन अर्ब ८० करोड ४७ लाख नेपाली रुपैयाँ बराबर हो । गत भदौ १० गते रसुवाको भोटेकोसी नदीमा आएको बाढीले ठूलो जनधनको क्षति गरेपछि सरकारले बाढी पीडितको सहयोगार्थ कोषमा रकम जम्मा गर्न अपिल गरेको थियो ।

त्यसपछि उक्त कोषमा नेपाल र नेपाल बाहिरबाट कुल १५ अर्ब ५४ करोड २० लाख १ हजार ३३९ रुपैयाँ जम्मा भएको थियो । उक्त रकममध्ये ३ अर्ब ८० करोड ४७ लाख रुपैयाँ विदेशी राष्ट्र, संस्था र कम्पनीले कोषमा जम्मा गरेको अर्थ मन्त्रालयको विवरण उल्लेख छ । यसमा विदेशीले उपलब्ध गराएको राहत सामाग्रीको मूल्य जोडिएको छैन । कोषमा ३२ विदेशी राष्ट्र, ५ विदेशी संस्था र ६ विदेशी कम्पनीले रकम जम्मा गरेका छन् । कोषमा रकम जम्मा गर्ने देशमा बेलायत, क्यानडा, अमेरिका, जर्मनी, चीन, न्युजिल्याण्ड, नर्वे, भुटान, स्विट्जरल्याण्ड, श्रीलंका, मलेसिया, दक्षिण कोरिया, अस्ट्रेलिया, श्रीलंका, आयरल्याण्ड, डेनमार्क, भियतनाम, थाइल्यान्ड, लाटभिया र चेक गणतन्त्र छन् ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा बेलायतले साझेदार मार्फत ६३ लाख ५० हजार अमेरिकी डलर, क्यानडाले ३६ लाख ५० हजार अमेरिकी डलर, अमेरिकाले ३६ लाख अमेरिकी डलर र जर्मनीले साझेदारमार्फत २० लाख अमेरिकी डलर जम्मा गरेको छ । कोषमा चीनले २१ लाख अमेरिकी डलर, न्युजिल्याण्डले साझेदारमार्फत १२ लाख २० हजार अमेरिकी डलर, नर्वेले ११ लाख ९३ हजार ८०० अमेरिकी डलर, भुटानले ११ लाख ३० हजार अमेरिकी डलर, स्वीट्जरल्याण्डले साझेदारमार्फत १० लाख अमेरिकी डलर र श्रीलंकाले १० लाख अमेरिकी डलर जम्मा गरेका छन् ।

यस्तै, दक्षिण कोरियाले साझेदारमार्फत १० लाख अमेरिकी डलर, अस्ट्रेलियाले १० लाख अमेरिकी डलर, आयरल्यान्डले ५ लाख ४० हजार अमेरिकी डलर, डेनमार्कले ५ लाख १४ हजार ५०० अमेरिकी डलर, भियतनामले ३ लाख अमेरिकी डलर, थाइल्यान्डले २ लाख १० हजार अमेरिकी डलर, लाटभियाले साझेदारमार्फत १ लाख ८ हजार अमेरिकी डलर र चेक गणतन्त्रले १ लाख ७ हजार ५०० अमेरिकी डलर कोषलाई उपलब्ध गरेका छन् । यूएईले एक करोड अमेरिकी डलर कोषमा उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ, जुन प्राप्त हुने क्रममा छ । बहुपक्षीय निकाय एसियाली विकास बैंक (एडीबी)ले ५० लाख अमेरिकी डलर र सीईआरएफले २५ लाख अमेरिकी डलर उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् ।

भारत, लक्जेमबर्ग, बंगलादेश, जापान, सिंगापुर, फ्रान्स, पाकिस्तान, म्यानमार, कतार, चीन, अमेरिका, युनाइटेड अरब इमिरेट्स (यूएई) लगायत देशले राहत सामाग्री पठाएका थिए । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा विश्वविख्यात अमेरिकी प्रविधि कम्पनी एनभिडियाले १ करोड अमेरिकी डलर, भिलले १ करोड रुपैयाँ, भुटानको ड्रुकएयरले ३२ लाख रुपैयाँ, दुसान समूहले ५० लाख अमेरिकी डलर, अर्बन केयर्सले ७० हजार अमेरिकी डलर प्रदान गरेका छन् ।

नगदको अलवा पनि विभिन्न देशले नेपालका बाढी पीडितलाई राहत सामाग्री र अत्यावश्यक सामाग्री पठाएका छन् । केही यस्ता सामाग्री प्राप्त हुने क्रममा पनि छन् । भारतले बाढी पीडितको लागि १३० टनभन्दा बढी अत्यावश्यक राहत सामाग्री पठाइसकेको छ । भारतले खोज तथा उद्धारमा एक सय जनाभन्दा बढी विज्ञ टोली पठाएको थियो । २३० फिट मोड्युलर स्टिल पुलका लागि १६ ट्रक सामाग्री भारतबाट नेपाल आइपुगेको छ । थप ७ बेलिब्रिज भारतबाट आउनेक्रममा छन् । चीनले ५० टनभन्दा बढी आपत्कालीन राहत सामाग्री पठाइसकेको छ । चीनबाट केही थान बेलिब्रिज प्राप्त भइसकेको छ भने केही आउनेक्रममा रहेका छन् । पाकिस्तानबाट ८६ टन राहत सामाग्री प्राप्त भइसकेको छ । यूएईले ८३ टन राहत सामाग्री नेपाल पठाइसकेको छ ।

प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।