काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले देशका विभिन्न स्थानमा भारी वर्षा, बाढी, पहिरो, डुबान र हावाहुरीका घटना भइरहेकाले जोखिम अझै कायम रहेको भन्दै नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् ।
प्रधानमन्त्री शाहले आइतबार फेसबुकमार्फत दिएको जानकारी अनुसार उनका अनुसार असोज ८ गतेदेखि हालसम्म चट्याङ, बाढी, पहिरो, हावाहुरी र अविरल वर्षाका कारण म्याग्दी, डोल्पा, धनुषा, पाल्पा, बाग्लुङ, लमजुङ, रुकुम पश्चिम, काभ्रे, धादिङ, मकवानपुर र सुर्खेतलगायत जिल्लामा २१ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।
घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था गरिएको प्रधानमन्त्री शाहले बताएका छन् । थप ५ जना बेपत्ता रहेको र मनाङमा हिमपहिरोमा परी बेपत्ता भएका व्यक्तिको विवरण संकलन भइरहेको जनाइएको छ । घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था गरिएको प्रधानमन्त्री शाहले बताएका छन् । थप ५ जना बेपत्ता रहेको र मनाङमा हिमपहिरोमा परी बेपत्ता भएका व्यक्तिको विवरण संकलन भइरहेको जनाइएको छ । असोज ९ देखि १२ गतेसम्म सम्भावित विपद्लाई ध्यानमा राख्दै सरकारले पूर्वतयारी र सावधानीका विभिन्न कदम चालेको उल्लेख गरेका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत कमान्ड पोस्ट सक्रिय बनाउनुका साथै सूचना सम्प्रेषण, रात्रीकालीन यातायात तथा विद्यालय बन्द गर्नेलगायतका निर्णय गरिएको उनले बताएका छन् ।
प्रधानमन्त्री शाहले बाढी, पहिरो, डुबान र चट्याङका कारण देशभर ४३९ वटा मनसुनजन्य घटना भएको जानकारी दिएका छन् । विपद्का कारण सडक, पुल, जलविद्युत् आयोजना, खानेपानी प्रणालीलगायत महत्वपूर्ण पूर्वाधारमा समेत क्षति पुगेको उनले उल्लेख गरेका छन् ।
विपद्को अवस्थामा नागरिकको जीवन रक्षा सरकारको पहिलो प्राथमिकता भएको बताउँदै शाहले बेपत्ता व्यक्तिको खोजी, बाढीमा फसेका नागरिक तथा पशुचौपायाको उद्धारका लागि सुरक्षाकर्मी निरन्तर परिचालन भइरहेको बताएका छन् । बाढी–पहिरो प्रभावित परिवारका लागि स्थानीय तहसँग समन्वय गरी अस्थायी बसोबासको व्यवस्था गरिएको र प्रभावित क्षेत्रमा सूचना सम्प्रेषण तथा स्थलगत माइकिङलाई तीव्र बनाइएको उनको भनाइ छ । नारायणी नदीमा आएको बाढीका कारण क्रुजसिप बगेर पुलमा अड्किएपछि सावधानीका लागि पूर्व–पश्चिम राजमार्ग बन्द गरिएको प्रधानमन्त्री शाहले बताएका छन् । पृथ्वी राजमार्ग, बीपी राजमार्ग र कान्ति लोकपथसहित विभिन्न सडक प्रभावित भएका छन् ।
भोटेकोशी–त्रिशूली नदी तटीय क्षेत्रका सडकमा पुनः क्षति पुगेको तथा कालीगण्डकीको पक्की पुलसमेत बगेको उनले बताएका छन् । क्षतिग्रस्त सडक तत्काल मर्मत गरी यातायात सञ्चालनमा ल्याउन सरकार प्रतिबद्ध रहेको उनको भनाइ छ । बाढीका कारण कालीगण्डकी करिडोर, मर्स्याङ्दी र सेती–मादी करिडोरलगायत क्षेत्रमा १,०१३.२ मेगावाट विद्युत् आपूर्ति प्रभावित भएको छ । त्यसमध्ये ३१८ मेगावाट क्षमताका जलविद्युत् आयोजना प्रसारण लाइनका टावर ढलेपछि पूर्ण रूपमा बन्द भएका छन् भने सम्भावित जोखिमलाई ध्यानमा राख्दै थप ६९५.२ मेगावाट क्षमताका आयोजनाको उत्पादन सुरक्षात्मक रूपमा बन्द गरिएको शाहले बताएका छन् । विद्युत् आपूर्ति यथाशीघ्र पुनःस्थापना गर्न प्राविधिक टोली प्रभावित क्षेत्रमा परिचालन गरिएको जनाइएको छ । महाकाली नदीमा जलसतह बढेपछि कञ्चनपुरको गड्डाचौकी हुँदै हुने नेपाल–भारत आवागमन प्रभावित भएको छ । सुरक्षाका लागि पुलको दुवैतर्फ सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।
सेती, नारायणी र कमला नदीमा समेत पानीको सतह बढेकाले विशेष सतर्कता अपनाइएको छ भने कुलेखानी क्षेत्रमा पनि यातायात रोकिएको प्रधानमन्त्री शाहले बताएका छन् । वर्षा र हावाहुरीका कारण किसानको धान, तरकारी तथा अन्य बालीमा समेत ठूलो क्षति पुगेको उनले उल्लेख गरेका छन् । प्रधानमन्त्री शाहले खतरा अझै नटरेको र जोखिम कायमै रहेको भन्दै नदी तटीय तथा पहाडी क्षेत्रमा बसोबास गर्ने र यात्रा गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् । उनले अत्यावश्यक कामबाहेक यात्रा नगर्न र संकट परेको अवस्थामा शुल्क नलाग्ने नम्बर १२३४ मा सम्पर्क गर्न आग्रह गरेका छन् । पद्का बेला भ्रामक सूचना फैलाउने, पीडितको गोपनीयता भङ्ग गर्ने तथा कालोबजारी गर्नेहरूमाथि सरकारले निगरानी बढाएको पनि उनले बताएका छन् ।
प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।



































