मुस्ताङमा बाढीपहिरो र नदी कटानका कारण ३६ घण्टादेखि विधुत तथा इन्टरनेट संरचनामा अवरुद्ध

मुस्ताङ । निरन्तरको वर्षापछि आएको बाढीपहिरो र नदी कटानका कारण विधुत तथा इन्टरनेट संरचनामा क्षति पुगेपछि मुस्ताङमा ३६ घण्टादेखि विधुत र इन्टरनेट सेवा अवरुद्ध भएको छ ।

वर्षाका कारण बाढीपहिरो र नदी कटानले पर्वतको डिमुखाबाट आउने ३३ केभिए विधुत प्रसारण लाइनका खम्बामा क्षति पुगेपछि उक्त प्रसारण लाइनसँग सम्पर्क टुटेको जोमसोमस्थित विधुत वितरक संस्था निलगिरि उपभोक्ता सहकारी संस्थाका प्रमुख सनप्रसाद थकालीले जानकारी दिए । बाढीपहिरोका कारण पर्वत र म्याग्दी खण्डमा विधुत संरचनामा क्षति पुगेपछि म्याग्दीको दाना सबस्टेसनसमेत चार्ज हुन नसकेर बन्द भएको उनले बताए ।

बाढीपहिरोका कारण विधुत र इन्टरनेट सेवा अवरुद्ध हुँदा म्याग्दीको उत्तरी क्षेत्रको अवस्थाबारे जानकारी लिनसमेत समस्या भइरहेको प्रमुख थकालीले बताए । यसैबीच बाढीले क्षति पुर्‍याएको विधुत संरचनाको मर्मत गरी आइतबार साँझसम्म म्याग्दीको बेनीसम्म विधुत प्रसारण लाइन सञ्चालनमा आइसकेको छ । ३३ केभिए प्रसारण लाइन र दाना सबस्टेसनको अवस्थाबारे थप अध्ययन गर्न जोमसोमबाट प्राविधिक टोली त्यसतर्फ प्रस्थान गरिसकेको उनले जानकारी दिए ।

यसैगरी वर्षाका कारण मुस्ताङको थासाङ गाउँपालिका–३ का केही स्थानमा रुख ढलेर विधुतका खम्बामा क्षति पुगेको छ । मौसम खुलेपछि उक्त स्थानमा विधुत प्रसारण लाइन मर्मत गर्न प्राविधिक टोली परिचालन गरिएको प्रमुख थकालीले बताए । अवरुद्ध सेवा सञ्चालनका लागि निरन्तर पहल भइरहेको जनाउँदै उनले आज साँझसम्म सेवा नियमित गर्ने गरी प्राविधिक टोली कार्यस्थलमा खटिएको जानकारी दिए ।

वर्षासँगै आएको बाढीपहिरो र नदी कटानका कारण विधुतसँगै अप्टिकल फाइबर प्रसारण लाइनमा समेत क्षति पुगेपछि मुस्ताङमा इन्टरनेट सेवा अवरुद्ध भएको नेपाल टेलिकम जोमसोम शाखाले जनाएको छ । पर्वत र म्याग्दी खण्डका दर्जनौँ स्थानमा फाइबर नेटवर्कका संरचनामा क्षति पुगेकाले इन्टरनेट सेवा प्रभावित भएको नेपाल टेलिकम जोमसोमका कार्यालय प्रमुख हुम भुजेलले जानकारी दिए । अवरुद्ध संरचनाको मर्मत गरी म्याग्दीको बेनीसम्म सेवा सहज भइसकेको जनाउँदै उनले म्याग्दीको उत्तरी क्षेत्र र मुस्ताङमा भने सेवा अझै सञ्चालन हुन नसकेको बताए । म्याग्दीको बैसरी, थासाङको लेतेलगायत स्थानमा फाइबर नेटवर्कको प्रसारण लाइन मर्मत भइरहेको उनले जानकारी दिए ।

प्रमुख भुजेलका अनुसार अप्टिकल फाइबर सेवा अवरुद्ध भए पनि मुस्ताङका केही स्थानमा नेपाल टेलिकमको रेडियो लिङ्कमार्फत टेलिफोन तथा फोरजी सेवा सञ्चालनमा छन् । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ छुसाङदेखि कोरला नाकासम्म सोलार प्रविधिबाट रेडियो लिङ्क सञ्चालनमा रहेकाले टेलिफोन तथा फोरजी सेवा सञ्चालन गर्न सकिने अवस्था रहेको उनले बताए । अवरुद्ध अप्टिकल फाइबर सेवा छिटोभन्दा छिटो सञ्चालन गर्न प्राविधिक टोली परिचालन गरिएको र आज साँझसम्म सेवा नियमित हुनसक्ने कार्यालय प्रमुख भुजेलले बताए ।