काठमाडौँ । लिट्मस इन्डस्ट्रिज लिमिटेडले नेपालको ऊर्जा क्षेत्रका विभिन्न सरोकारवालालाई एकै ठाउँमा ल्याएर ‘लिट्मस पावर पार्टनर्स मिट २०२६’ आयोजना गरेको छ ।
काठमाडौँमा आयोजित कार्यक्रममा जलविद्युत्, सौर्य ऊर्जा, इन्जिनियरिङ, खरिद तथा निर्माण र परामर्श क्षेत्रका प्रतिनिधिहरू सहभागी भएका थिए।
‘साथ, सम्बन्ध र विश्वास’ भन्ने नारासहित आयोजना गरिएको कार्यक्रममा नेपालको ऊर्जा क्षेत्रका पछिल्ला विकासक्रम, चुनौती तथा सम्भावित अवसरबारे छलफल गरिएको थियो। कार्यक्रममा ऊर्जा पूर्वाधारको विकास, प्रविधिको प्रयोग, उत्पादनको गुणस्तर तथा भरपर्दो र दिगो विद्युत् प्रणाली निर्माणका लागि आवश्यक सहकार्यका विषयमा सहभागीहरूले धारणा राखेका थिए ।
कार्यक्रममा स्थापित तथा नयाँ जलविद्युत् कम्पनी, सौर्य ऊर्जा विकासकर्ता, इन्जिनियरिङ, खरिद तथा निर्माण कम्पनी, परामर्शदाता तथा उद्योगसँग सम्बन्धित संस्थाका प्रतिनिधिको सहभागिता थियो। सहभागीहरूले आयोजना विकासदेखि प्राविधिक कार्यान्वयन, नवीन प्रविधि र ऊर्जा क्षेत्रको सम्पूर्ण मूल्य शृंखलामा सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए ।
नेपालको नवीकरणीय ऊर्जा क्षेत्रका आवश्यकता परिवर्तन भइरहेका बेला प्रसारण तथा वितरण पूर्वाधारलाई थप सुदृढ बनाउन गुणस्तरीय उत्पादन र प्रविधिको भूमिका महत्वपूर्ण हुने विषयमा पनि कार्यक्रममा छलफल भएको थियो ।
कार्यक्रममा लिट्मस इन्डस्ट्रिजले आफ्ना विभिन्न उत्पादन तथा समाधान प्रस्तुत गर्नुका साथै नेपाली बजारका लागि दुई नयाँ कन्डक्टर प्रविधि सार्वजनिक गरेको छ। कम्पनीले उच्च तापक्रममा सञ्चालन गर्न सकिने एचटीएलएस कन्डक्टर र एल–५९ कन्डक्टर बजारमा ल्याएको जनाएको छ । नयाँ प्रविधिले कम्पनीको उत्पादनको दायरा विस्तार गर्नुका साथै नेपालको प्रसारण तथा वितरण क्षेत्रमा विकसित हुँदै गएका आवश्यकतालाई सम्बोधन गर्न सहयोग पुग्ने कम्पनीको भनाइ छ ।
लिट्मस इन्डस्ट्रिज लिमिटेडका प्रबन्ध निर्देशक रोहित गुप्ताले नेपालको ऊर्जा क्षेत्रको विकासका लागि विभिन्न पक्षबीच बलियो साझेदारी आवश्यक रहेको बताए। उत्पादक, आयोजना विकासकर्ता, इन्जिनियरिङ, खरिद तथा निर्माण कम्पनी, परामर्शदाता तथा अन्य उद्योगसँग सम्बन्धित संस्थाबीचको सहकार्यबाट भरपर्दो, प्रभावकारी र दिगो विद्युत् पूर्वाधार निर्माण गर्न सकिने उनको भनाइ थियो । रमेश कर्पअन्तर्गत सन् १९७७ मा स्थापना भएको लिट्मस इन्डस्ट्रिज नेपालमा तार, केबल तथा कन्डक्टर उत्पादन गर्दै आएको कम्पनी हो । कम्पनीका उत्पादन विद्युत् प्रसारण, वितरण तथा विभिन्न पूर्वाधारका क्षेत्रमा प्रयोग हुँदै आएका छन् ।
कम्पनीले एल्युमिनियम तथा मिश्र धातुका रडसमेत उत्पादन गर्दै आएको जनाएको छ । पाँच दशकभन्दा लामो उत्पादन अनुभव रहेको कम्पनीले पूर्वाधार, निर्माण, ऊर्जा तथा औद्योगिक क्षेत्रका लागि विभिन्न उत्पादन उपलब्ध गराउँदै आएको छ । कम्पनीले उत्पादन प्रविधि, गुणस्तर र नवीनतामा जोड दिँदै नेपालका साथै क्षेत्रीय बजारमा समेत आफ्नो उपस्थिति विस्तार गर्दै आएको जनाएको छ ।



































