धनकुटा । बिहान भालेको डाकसँगै धनकुटाको पाख्रीबास नगरपालिका–५ स्थित घोर्लीखर्कको कटहरे गाउँमा आरन बल्छ । आगोको रापसँगै फलाम रातो हुन्छ र घनको चोटले गाउँ गुञ्जिन थाल्छ ।
यही आरनमा पुस्तौँदेखि फाली, हँसिया, कोदालोलगायत कृषि औजार बनाउँदै आएका विश्वकर्मा समुदाय अहिले खुकुरी उत्पादनमार्फत आफ्नो गाउँको परिचय बदलिरहेका छन् । भोजपुर, खोटाङ र सङ्खुवासभाको प्रवेशद्वारका रुपमा रहेको कटहरेमा २३ घरपरिवार परम्परागत धातुजन्य हस्तकलामा आबद्ध छन् । केही वर्षअघिसम्म सामूहिक आरन घरमा पालो कुर्दै औजार बनाउने उनीहरू अहिले घरमै साना उद्योग सञ्चालन गरिरहेका छन् । अधिकांश घरमा ग्राइन्डर, ब्लोअर, कटिङ मेसिनलगायत आधुनिक उपकरण जडान गरिएका छन् । परम्परागत सीपमा आधुनिक प्रविधि जोडिएपछि कृषि औजारबाट खुकुरी उत्पादनतर्फ उनीहरूको व्यवसाय विस्तार भएको हो । पहिले दिनभर काम गर्दा पनि परिवार धान्न मुस्किल पर्ने अवस्था थियो ।
अहिले खुकुरीको बिक्रीबाट आम्दानी बढेको स्थानीय बताउँछन् । कटहरेमा बनेका खुकुरी स्थानीय बजारमा मात्र सीमित छैनन् । मागअनुसार काठमाडौं हुँदै विदेशसम्म पुग्न थालेका छन् । गुणस्तर, डिजाइन र आकारअनुसार एउटा खुकुरीको मूल्य १ हजार ५०० देखि १२ हजारसम्म पर्ने गरेको स्थानीय बताउँछन् । खुकुरी उद्योगले गाउँको आर्थिक अवस्था र जीवनशैलीमा परिवर्तन ल्याएको स्थानीय झमक रसाइलीले बताए । “पहिले खेतीपाती र आरनकै भरमा मुस्किलले घर चल्थ्यो”, उनले भने, “अहिले आफ्नै घरमा उद्योग छ ।
उत्पादनको मूल्य पनि राम्रो पाइन्छ, त्यसैले परिवारको खर्च चलाउन सजिलो भएको छ ।” एउटा परिवारले वार्षिक ४०० वटासम्म खुकुरी उत्पादन गर्दै आएको उनको भनाइ छ । उत्पादन बढेसँगै गाउँमा प्रचलित बालीघरे प्रथा पनि लगभग अन्त्य भएको छ । पहिले अन्नको साटो औजार बनाइदिने चलन थियो । अहिले उत्पादन नगदमा बिक्री हुन्छ । यसले श्रमको मूल्य बढाउनुका साथै पेसाप्रतिको सम्मान पनि बढाएको रसाइलीको अनुभव छ ।
बजारको मागसँगै खुकुरीको डिजाइनमा समेत परिवर्तन आएको छ । पहिले सामान्य प्रयोगका लागि खुकुरी बनाउने गरेको स्थानीय ताराबहादुर विश्वकर्माले बताए । अहिले सजावटी, उपहार र सङ्कलनका लागि समेत खुकुरीको माग बढेको उनको भनाइ छ । “पहिले सामान्य प्रयोगका लागि मात्र खुकुरी बनाइन्थ्यो”, उनले भने, “अहिले सजावटी, उपहारका लागि र सङ्कलनयोग्य खुकुरीको माग पनि बढेको छ । त्यसअनुसार उत्पादन गरिरहेका छौँ ।” उद्योग विस्तारसँगै गाउँको जीवनस्तरमा समेत परिवर्तन आएको छ । फुसका छाना भएका घरहरू अहिले जस्तापाताले छाइएका छन् ।
अधिकांश परिवारले बालबालिकालाई विद्यालय पठाउन थालेका छन् भने उच्च शिक्षा पढ्ने युवाको सङख्या पनि बढ्दै गएको स्थानीय बताउँछन् । उद्योगले गाउँमै रोजगारी सृजना गरेपछि वैदेशिक रोजगारीमा गएका केही युवा पनि फर्किएको प्रेमबहादुर विश्वकर्माले बताए ।“विदेशमा दुःख गर्नुभन्दा आफ्नै गाउँमा काम गरेर परिवारसँग बस्न पाइन्छ”, उनले भने “विदेशमा पनि सीपबिना काम छैन, सीप भएकालाई यहीँ राम्रो सम्भावना छ ।” खुकुरी उद्योगमा विभिन्न चुनौती पनि सामना गर्नुपरेको व्यवसायीहरुको भनाइ छ । कच्चा पदार्थको मूल्य वृद्धि, आधुनिक उपकरणको लागत, बजार विस्तार र ‘ब्रान्डिङ’को अभावले उत्पादनलाई थप प्रतिस्पर्धी बनाउन कठिनाइ भइरहेको उद्योगीहरू बताउँछन् । सरकारी निकायबाट प्रविधि, बजारीकरण र सीप विकासमा थप सहयोग पाए खुकुरी उद्योगलाई अझ व्यावसायिक बनाउन सकिने उनीहरुको अपेक्षा छ ।
पाख्रिबास नगरपालिकाका प्रमुख ज्ञानबहादुर गुरुङ गाउँमै केही गर्न सकिन्छ भनेर उद्यम गरिरहेका युवालाई सहयोग गर्ने योजनामा रहेको बताए । उनले त्यसका लागि सरकारी नीतिअनुसार उनीहरूले सम्बन्धित निकायमा प्रस्तावना पेसलगायतका काम गर्नुपर्ने बताए । कुनै समय गरिबी, अभाव र सामाजिक विभेद्का कारण पछि परेको कटहरे अहिले आफ्नै सीप र श्रमका कारण आर्थिक रूपमा उकासिँदै गएको छ । परम्परागत आरनलाई आधुनिक उद्योगमा रुपान्तरण गर्दै यहाँका शिल्पीहरुले खुकुरीलाई आम्दानीको स्रोतमात्र होइन, गाउँको नयाँ पहिचानका रुपमा स्थापित गरिरहेका छन् । कटहरेको आरनमा अहिले पनि घनको आवाज अझै उस्तै छ । पहिले जीविका चलाउने बाध्यता बनेको घनको आवाज अहिले गाउँको उद्यम र पहिचानको आवाज बनेको छ ।



































