नेपाली काँग्रेसको युवा महाधिवेशन प्रतिनिधिका लागि मैदानमा डा. सन्तोष उपाध्याय

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा नेतृत्व र प्रतिनिधित्वका लागि आकांक्षीहरूको सक्रियता बढ्दै गएको छ ।

पार्टीको महाधिवेशनमा युवा पुस्ताको सहभागिता र भूमिकालाई लिएर बहस चलिरहेका बेला चिकित्सा पेसाबाट सार्वजनिक जीवनमा आएका डा. सन्तोष उपाध्याय युवा महाधिवेशन प्रतिनिधिका रूपमा प्रतिस्पर्धामा उत्रिएका छन् ।

अछामबाट सार्वजनिक यात्राको सुरुवात गरेका उपाध्यायको सक्रियता भने चिकित्सा पेसामा मात्रै सीमित छैन । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट एमबीबीएस गरेका उनले अमेरिकाको हार्वर्ड मेडिकल स्कुलमा ‘लिडरसिप इन मेडिसिन’ सम्बन्धी अध्ययन गरेका छन् । चिकित्सा क्षेत्रको अनुभवलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै उनी स्वास्थ्य, शिक्षा, विपद् व्यवस्थापन र सामाजिक सेवाका विभिन्न अभियानमा सहभागी हुँदै आएका छन् ।

स्वास्थ्य क्षेत्रमा उपाध्यायको संलग्नता उपचार सेवासँगै सामाजिक अभियानमा पनि देखिन्छ । अछाम जिल्ला अस्पतालमा नवजात शिशुको जन्डिस उपचारका लागि फोटोथेरापी मेसिन सहयोगदेखि कोभिड–१९ महामारीका क्रममा अक्सिजन कन्सन्ट्रेटरलगायत स्वास्थ्य सामग्री उपलब्ध गराउने अभियानमा उनी जोडिएका थिए ।
उपाध्यायका अनुसार उनले देशका विभिन्न स्थानमा आयोजना भएका ५० भन्दा बढी स्वास्थ्य शिविरमा सहभागिता जनाएका छन् । ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकको स्वास्थ्य पहुँचसँग सम्बन्धित अभियानलाई उनले आफ्नो सामाजिक सक्रियताको एउटा महत्वपूर्ण हिस्सा मान्दै आएका छन् ।

भूकम्पदेखि वातावरणसम्म

उपाध्यायको सामाजिक सक्रियता स्वास्थ्य क्षेत्रमा मात्र केन्द्रित छैन । अछामका विभिन्न विद्यालयमा पुस्तकालय स्थापना तथा शैक्षिक सामग्री सहयोग, २०७२ सालको भूकम्पपछि सिन्धुपाल्चोकमा पुनर्निर्माणमा सहभागिता तथा जाजरकोट भूकम्पपछि राहत, स्वास्थ्य शिविर र सरसफाइ अभियानमा पनि उनी सहभागी भएको बताउँछन् । वातावरण संरक्षणतर्फ ‘प्लान्ट योर बुक्स’ अभियानमार्फत १५ हजारभन्दा बढी वृक्षारोपण गरिएको उनको दाबी छ । शिक्षा, स्वास्थ्य, वातावरण र विपद्का क्षेत्रमा गरिएका यस्ता गतिविधिलाई उनी सामाजिक सेवाका रूपमा प्रस्तुत गर्दै आएका छन्।

विद्यार्थी राजनीतिबाट संगठनात्मक यात्रातर्फ

सामाजिक क्षेत्रमा सक्रिय रहँदा–रहँदै उपाध्यायको राजनीतिक यात्रा भने विद्यार्थी जीवनबाटै सुरु भएको हो । नेपाली कांग्रेस र नेपाल विद्यार्थी संघसँग झन्डै १७ वर्षदेखि आबद्ध रहेको बताउने उनले नेविसंघको केन्द्रीय समितिसहित विभिन्न जिम्मेवारी सम्हालेका छन् । उनी इन्टरनेसनल अर्गनाइजेसन अफ मेडिकल स्टुडेन्ट्स (आईओएम) को नेतृत्वदेखि कार्यकारी समिति, उपाध्यक्ष र अध्यक्षको भूमिकामा समेत रहेका थिए । त्यसैगरी प्रचार–प्रसार समितिको संयोजन तथा महाधिवेशनका क्षेत्रीय प्रतिनिधिका रूपमा काम गरेको अनुभव पनि उनीसँग छ । १४औँ र १५औँ महाधिवेशनसँग जोडिएको आफ्नो संगठनात्मक अनुभवलाई उनले राजनीतिक यात्राको महत्त्वपूर्ण आधारका रूपमा लिएका छन् ।

सञ्चार र खेलकुदमा पनि सक्रिय

उपाध्यायको सार्वजनिक परिचय राजनीति र चिकित्सा पेसामा मात्र सीमित छैन । उनी सञ्चार क्षेत्रमा समेत सक्रिय रहँदै आएका छन् । कान्तिपुर टेलिभिजन तथा ‘गुड मर्निङ नेपाल’मा प्रस्तोताका रूपमा काम गरेको अनुभव उनीसँग छ । युवा तथा विद्यार्थी लक्षित संवाद, करियर परामर्श र प्रेरणात्मक प्रशिक्षणमा पनि उनी सहभागी हुँदै आएका छन् । उनका अनुसार उनले ३० भन्दा बढी कलेजमा पुगेर युवासँग प्रत्यक्ष संवाद गरेका छन् ।
खेलकुद व्यवस्थापनमा पनि उनको संलग्नता छ । नेपाल भलिबल लिगका प्रमुख कार्यकारी अधिकृत तथा सह–स्वामित्वको भूमिकामा रहेका उपाध्याय नेपाल टेलिकमका ब्रान्ड प्रवद्र्धक तथा विराटनगर किंग्सका रणनीतिक राजदूतका रूपमा समेत काम गरिसकेका छन् ।

चार दर्जनभन्दा बढी देशसँग जोडिएको अनुभव

उपाध्यायले राष्ट्रिय गतिविधिसँगै अन्तर्राष्ट्रिय संस्थामा पनि विभिन्न जिम्मेवारी सम्हालेका छन् । सन् २०१८ मा नेपालमा आयोजना भएको इस्ट एसियन मेडिकल स्टुडेन्ट्स कन्फरेन्सको आयोजक संयोजक रहेका उनले झन्डै ४०० प्रतिनिधि सहभागी सम्मेलनको नेतृत्व गरेका थिए ।

त्यसैगरी एसिया प्यासिफिक मेडिकल स्टुडेन्ट्स ट्रेनिङमा आयोजक संयोजक, इन्टरनेसनल फेडरेसन अफ मेडिकल स्टुडेन्ट्स एसोसिएसनमा कार्यक्रम संयोजक, एएमएसए इन्टरनेसनलमा विश्व स्वास्थ्य संगठनका लागि सम्पर्क अधिकृत तथा एएमएसए अल्मुनाइ क्लबमा मानवीय सहायता अधिकृतका रूपमा काम गरेको उनको विवरण छ ।

नेपाल मेडिकल एसोसिएसनको जुनियर डक्टर्स कमिटीमा प्रवक्ता तथा अध्यक्षको जिम्मेवारीसमेत सम्हालेका उपाध्यायले विभिन्न अन्तर्राष्ट्रिय कार्यक्रम र संस्थामार्फत करिब ४० देशसँग काम गरेको अनुभव रहेको बताएका छन् । चिकित्सा पेसाबाट सुरु भएको उनको सार्वजनिक यात्रा विद्यार्थी राजनीति, सामाजिक सेवा, सञ्चार, खेलकुद व्यवस्थापन हुँदै अन्तर्राष्ट्रिय गतिविधिसम्म फैलिएको देखिन्छ। यही अनुभवलाई राजनीतिक भूमिकासँग जोड्ने उद्देश्यसहित उनी कांग्रेसको १५औँ महाधिवेशनमा युवा महाधिवेशन प्रतिनिधिका लागि प्रतिस्पर्धामा छन् ।

कांग्रेसको आगामी महाधिवेशनले पार्टीको नेतृत्वसँगै संगठनमा युवा पुस्ताको भूमिका र प्रतिनिधित्वबारे बहसलाई समेत अगाडि बढाउने अपेक्षा गरिएको छ । यस्तो अवस्थामा विभिन्न पेशागत र सामाजिक क्षेत्रमा सक्रिय व्यक्तिहरूको महाधिवेशनमा सहभागिता पनि चासोको विषय बनेको छ ।