जानैपर्ने कुपिण्डे ताल

तालमा ८ वटा आधुनिक डुङ्गाहरू छेउमै तैनाथ छन् । तिनीहरू सधैँ ग्राहकहरूको प्रतीक्षामा हुन्छन् । त्यहाँ ग्राहक आउँदा तानातान गर्दैनन् डुङ्गाका मालिकहरू । जुन डुङ्गामा चढे पनि सहमति जनाउँछन् ।

डुङ्गा सयर गर्दा लगाउने लाइफज्याकेट बाँसको टाँडमाथि राखिएका छन् । साथमा नेपाली चन्द्रसूर्य अंकित झण्डा पनि छ । आगन्तुकको चाहनाअनुसार डुङ्गा सयरमा नेपालको राष्ट्रिय झण्डालाई साथसाथै लान पनि मिल्छ र समातेर तालको छेउमा फोटो मात्रै खिच्दा पनि हुन्छ ।

ताल घुम्न आउने आगन्तुकलाई पहिला तालमा पानीको पूजा गर्न लगाउँछन् । तालको पूजाको लागि त्यहीँ ५० रुपैयाँमा पूजा सामग्री किन्न पाइन्छ । सालको पातको टपरीमा सलाइको बट्टा, ५ वटा धूपका सरा, रातो र पहेँलो अबिर केसरी, सेता दाना मिठाइको प्रसाद, अलिकति जौं, तिल र फुल पात । तालमा भएको दैवी शक्तिको पूजाको लागि ।

कुपिण्डे ताल, यसलाई कुपिण्डे दह पनि भनिन्छ । ताल शान्त र सफा छ । तालको वरिपरि बाक्लो जंगल छ । तर त्यो तालमा कहिले पनि एउटा पातसम्म देखिन्न । सधैँ सफा र चम्किलो । यो दैवी शक्तिले गर्दा नै भएको रे ! यो ताल सल्यान जिल्लाको बनगाड कुपिण्डे नगरपालिकामा पर्दछ । यो तालको गहिराइ कति छ भन्ने कुरामा बाझिएका तथ्यहरू छन् । जिल्लाको तथ्यांकमा २३–२५ मिटर गहिरो भनिएको छ । तर गोताखोरको टोलीले यसको गहिराइ १५० फिटभन्दा बढी हुन सक्ने अनुमान लगाएका छन् ।

ताललाई स्थानीय जनविश्वासमा पवित्र र सहस्यमय ताल मानिन्छ । परापूर्वकालमा तालमा पानी थिएन, सुख्खा जमिन मात्र थियो । १ दिन अविरल वर्षा भयो र यहाँ पानी जम्मा भयो । त्यसबेलादेखि तालको पानी कुहिल्यै सुकेन र ताललाई कुपिण्डे दह भनेर नामकरण गरियो । किंवदन्ती अनुसार तालको वरिपरि देवी–देवता र पवित्र आत्माहरूको निवास छ । तालमा पूजा र धार्मिक अनुष्ठान गर्नाले तिनीहरू खुशी हुन्छन् । त्यसैले यहाँका स्थानीयहरू वर्षायाममा र नयाँ वर्षमा तिनै शक्तिलाई सम्झेर दिपावली गर्ने र फूल अर्पण गर्ने गर्दछन् ।

स्थानीय वासिन्दा भन्छन्, ‘पौराणिक कालमा शिव र पार्वती कैलाश जानका लागि आउँदा यहीँ बाटो आए । यहीँ तालको किनारामा विश्राम गरे । शिव–पार्वतीलाई यहाँको सुन्दरताले मोहित गर्‍यो । विश्रामपछि शिव–पार्वती खुशी भएर पानीलाई आशीर्वाद दिएर गए । त्यसैले यो पानी शक्तिबद्र्धक बन्यो ।’ तालको पानी पिउनाले स्वास्थ्य र समृद्धि प्राप्त हुने स्थानीयको विश्वास छ । त्यसैले यहाँका स्थानीयले ताललाई सौभाग्य र समृद्धिको प्रतीक पनि मान्छन् ।

तालको सतहमा अज्ञात खजाना लुकेको छ भन्ने भनाइ पनि रहेछ । केही वर्ष अगाडि स्थानीय किसानहरू परम्परागत काठले बनाइएका डुङ्गाहरू चलाउँथे । १ दिन तालबाट डुङ्गामा गइरहेको बेला तालको सतहमा सुन जस्तै चम्किरहेको रातो वस्तु देखेका थिए रे ! त्यो ढुङ्गा जस्तै ठूलो थियो । सूर्य जस्तै चम्किलो पनि । त्यसबेलादेखि तालको महिमा अझै बढेको हो भन्ने भनाइ पनि छ ।

लोककथा अनुसार तालमा परापूर्वकालमा एक सिंह र एक नाग (सर्प) बसोबास गर्थे । यी दुवै शक्तिशाली थिए । एकले अर्कालाई टेर्दैनथे । त्यसैले एकआपसमा दुवैको लडाइँ चलिरहन्थ्यो । सिंहले भनेथ्यो, ‘यहाँको राजा म हुँ, यो जंगल सबै मेरो हो, यो ताल जंगलमा छ, त्यसैले यो ताल पनि मेरो हो ।’ नागले भनेथ्यो, ‘यहाँको राजा त म हुँ, त कसरी यो तालको राजा हुन सक्छस् ? तालको राजा त मै हुँ, म नाग राज हुँ ।’ उनीहरूको द्वन्द्वले तालको पानी अद्भूत शक्तिशाली बनेको भन्ने कथा छ ।

यस्तै विभिन्न भनाइहरूले गर्दा ताल रहस्यमय लाग्दछ । आज पनि तालको पानी पियो भने रोग कम हुन्छ र मन शान्त रहन्छ भन्ने स्थानीयहरूको विश्वास छ । यसर्थ तालको पानी शुद्ध र उपचारात्मक पनि छ । ताल आफैँमा रहस्यमय पनि छ । स्थानीयहरू भन्छन्, ‘राति तालको पानीमा अदृश्य प्रकाश र प्रतिबिम्बहरू देखिन्छन् । कहिलेकाहीँ तालमा डुङ्गा चलाउँदा अज्ञात आवाज र गीत गाएको पनि सुनिन्छ । त्यसैले ताल सांस्कृतिक र धार्मिक दृष्टिले महत्वपूर्ण छ । त्यसैले यहाँका मानिसहरू ताललाई शान्ति, शक्ति र समृद्धिको स्रोत पनि मानिन्छन् ।

तालको उत्तरपूर्वी भागमा बराहदेवको मन्दिर छ । यसलाई स्थानीयमा बराहकैला पनि भनिन्छ । मन्दिरको उत्पत्ति भगवान् विष्णुको बराह अवतारबाट भएको हो भन्ने भनाइ छ । मन्दिरको शक्तिका कारण यो क्षेत्रको पहाड र ताल वरिपरिको जनजीवनलाई सुरक्षित राख्न भगवान् विष्णुले यहाँ बराह अवतार लिएका हुन् भन्ने मान्यता छ ।

बराहदेव मन्दिरमा मनले चिताएको सबै कुरा पुग्छ भन्ने जनविश्वास छ । त्यसैले यहाँ आएर बराहदेवको अगाडि भाकल गर्ने चलन पनि छ । भाकल पूरा भयो भने कुखुरा, हाँस, बोका, सँुगुर, राँगा जे भाकल गरेको हो, त्यो चढाउने चलन छ । मन्दिरको नजिकै मौला पनि बनाइएको छ । त्यहाँ बलि दिइन्छ । हरेक दिन त्यहाँ पूजा हुन्छ र हरेक दिन बलि । बलि नभएको खाली हुँदैन । शनिबार र मंगलबारका दिन यहाँ धेरै बलि हुन्छ । हुन त साधारण फूल र नरिवल चढाएर पनि पूजा हुन्छ ।

पहिले–पहिले त कुपिण्डे तालमा स्थानीय खालका काठबाट बनेका डुङ्गाहरू नै प्रयोगमा आउँथे । त्यसरी तालमा सयर गर्दा सुरक्षित कम हुन्थ्यो । आजकाल आधुनिक डुङ्गाहरू ल्याइएका छन् । लाइफज्याकेट पनि लाउन दिइन्छ । त्यसैले पनि तालको यात्रा सुरक्षित र भरपर्दो छ । त्यहाँ भएका डुङ्गाको मूल्य ८–१२ लाखसम्म पर्छ । चालक भाइले सुनाउँदै थिए ।
१ जना कानमा मुन्द्रा लगाएका, घुमाउरो कपाल पछाडि बाँधेका, हँसिला, खाइलाग्दो ज्यान भएका चालकले आफ्नो पीडा पोखे । ‘घुम्न आउने आगन्तुकलाई दिनभरि घुमाउँछौँ ।

तेरो–मेरो भन्ने लुछातानी गर्दैनौँ । पूरै ताल घुमाएको प्रतिव्यक्ति २०० रुपैयाँ र आधा ताल घुमाएको १०० रुपैयाँ लिन्छौँ । साँझमा दिनभरिको आम्दानी भाग लगाउँछौँ । प्रतिव्यक्ति कहिले २ हजार र कहिले ३ हजार भागमा पर्न आउँछ । १ महिनामा गाउँपालिकालाई एउटा डुङ्गाबापत १० हजार रुपैयाँ कर तिर्नुपर्छ । हाम्रो कमाइअनुसार कर धेरै हो । हामी डुङ्गाको किस्ता पनि तिर्नुपर्छ । कर कम गर्नका लागि पालिकामा अनुरोध गरेका छौं । हाम्रो कुराको सुनुवाइ भएको छैन ।’

कर्णाली प्रदेशकै कृषि उत्पादन बढी हुने जिल्ला सल्यान हो । यहाँका बासिन्दालाई बाहिरी अन्न किनेर खानु पर्दैन । शारदाको दायाँबायाँ अन्न उत्पादन हुने निकै ठूला–ठूला फाँटहरू छन् । टिमुर र अदुवा प्रशस्त फल्छ । सौन्दर्यको हिसाबले सल्यान जिल्ला निकै सुन्दर छ । पर्यटकीय हिसाबले पनि भविष्य बोकेको जिल्ला हो । कुपिण्डे ताल, छायाँक्षेत्र धाम, त्रिवेणी धाम, शारदा नदी, शिद्धबाबा मन्दिर, झिम्मे पहाड, खैराबाङ भगवती मन्दिर, कालिमाटी गंगामाला मन्दिर, श्रीकृष्ण मन्दिर, माझखण्ड, शंखमुल आदि यहाँका पर्यटकीय धार्मिक स्थलहरू हुन् । स्थानीय कालिगढबाट तयार गरिएको खुकुरी यहाँको पहिचान हो ।

प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।