‘ट्राफिकको ड्युटी रोटेसनमा’

काठमाडौँ । दसैंमा काठमाडौँ उपत्यकाबाट बाहिरिने करिब १५ लाख यात्रुको आवागमनलाई सुरक्षित, सहज र व्यवस्थित बनाउन ट्राफिक प्रहरीको ड्युटी प्रणालीमा सुधार गर्न संसदीय समितिले सुझाव दिएको छ ।

लामो समयसम्म लगातार ड्युटीमा खटिँदा ट्राफिक प्रहरीमा हुने शारीरिक तथा मानसिक थकानले सवारी व्यवस्थापन र यात्रु सुरक्षामा समेत असर पार्न सक्ने भन्दै समितिले २४ घन्टा सडकमा प्रहरीको उपस्थिति सुनिश्चित हुने गरी ३ देखि ४ चरणको सिफ्ट प्रणाली लागू गर्न सिफारिस गरेको हो । पूर्वाधार विकास समितिले तयार पारेको ‘२०८३ दसैं पर्वका लागि सार्वजनिक यातायातको यात्रा व्यवस्थापन सम्बन्धी प्रतिवेदन’ मा यस्तो सुझाव समेटिएको छ । समितिका सभापति आशिष गजुरेलले उक्त प्रतिवेदन पूर्वाधार विकास मन्त्री सुनिल लम्साललाई हस्तान्तरण गरेका छन् ।

चाडपर्वका बेला उपत्यकाबाट बाहिरिने यात्रुको संख्या अत्यधिक हुने भएकाले सडक व्यवस्थापनमा ट्राफिक प्रहरीको भूमिका महत्वपूर्ण हुन्छ । तर, हाल सडकमा खटिने प्रहरीले बिहानैदेखि रातिसम्म १५ देखि १६ घन्टासम्म लगातार ड्युटी गर्नुपर्ने अवस्था रहेको समितिको अध्ययनमा उल्लेख छ । लामो समय उभिएर र अत्यधिक चापका बीच काम गर्नुपर्दा प्रहरीमा थकान बढ्ने र त्यसले ट्राफिक व्यवस्थापनमा समेत असर पार्ने समितिको निष्कर्ष छ । त्यसैले ट्राफिक प्रहरीलाई ३ देखि ४ वटा सिफ्टमा विभाजन गरी जिम्मेवारी तोक्न समितिले सुझाव दिएको हो । यसबाट प्रहरीलाई पर्याप्त आरामको अवसर मिल्नुका साथै सडकमा चौबीसै घन्टा जनशक्ति परिचालन गर्न सकिने समितिको अपेक्षा छ । प्रतिवेदन तयार गर्ने क्रममा समितिले काठमाडौँ उपत्यकाका प्रमुख यात्रु प्रस्थान केन्द्र, सडक तथा राजमार्गको अवस्था र यातायात क्षेत्रका सरोकारवालासँग छलफल गरेको थियो । समितिका प्रतिनिधिले कलङ्की, नागढुङ्गा, जडीबुटी र नयाँ बसपार्कलगायत स्थानको स्थलगत निरीक्षणसमेत गरेका थिए ।

यस्तै, यातायात व्यवस्था विभाग, नेपाल प्रहरी, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, यातायात व्यवसायी राष्ट्रिय महासंघ तथा उपभोक्ता अधिकारकर्मीसँग छुट्टाछुट्टै र संयुक्त छलफल गरी विगतका दसैंमा देखिएका समस्या पहिचान गरिएको थियो । समितिले तत्काल कार्यान्वयन गर्न सकिने उपायसँगै दीर्घकालीन नीतिगत सुधारलाई समेत प्रतिवेदनमा समेटेको जनाएको छ । दसैंको समयमा १५ लाखभन्दा बढी मानिस उपत्यकाबाट गृहजिल्लातर्फ जाने भएकाले नागढुङ्गा–कलङ्की र कोटेश्वर–जडीबुटी क्षेत्रमा अत्यधिक सवारी चाप हुने गरेको छ । निर्माणाधीन सडक, सडकको कमजोर अवस्था, सवारी साधन बिग्रिने समस्या तथा अव्यवस्थित आवागमनका कारण मुख्य नाकामा घन्टौँसम्म जाम हुने समस्या दोहोरिँदै आएको छ । यात्रुले बस टिकट खरिद गर्ने क्रममा पनि विभिन्न समस्या भोग्नुपरेको समितिले औँल्याएको छ । बस काउन्टरमा कालोबजारी, बिचौलियाको प्रभाव, तोकिएकोभन्दा बढी भाडा असुली र नक्कली टिकटजस्ता समस्या नियन्त्रण गर्न आवश्यक रहेको प्रतिवेदनमा उल्लेख छ ।

मनसुनपछि दसैं सुरु हुने भएकाले मुख्य राजमार्गमा पहिरोको जोखिमसमेत उच्च हुन्छ । सडक अवरुद्ध भएमा तत्काल पहिरो हटाउन तथा दुर्घटनामा परेका यात्रुको उद्धार गर्न आवश्यक क्रेन र हेभी इक्विपमेन्ट पर्याप्त नहुनु अर्को चुनौतीका रूपमा समितिले पहिचान गरेको छ । समितिले बसपार्कदेखि नागढुङ्गासम्मको सडकलाई छुट्टाछुट्टै चोकका रूपमा नभई एउटै करिडोरका रूपमा व्यवस्थापन गर्न र त्यसका लागि एकीकृत संयोजक तोक्न सुझाव दिएको छ । टिकट प्रणालीलाई पारदर्शी बनाउन शतप्रतिशत डिजिटल इ–टिकटिङ लागू गर्न, प्रमुख नाकामा स्वचालित नम्बर प्लेट पहिचान गर्ने क्यामेरा जडान गर्न तथा सवारी साधनमा जीपीएस ट्र्याकिङ अनिवार्य गर्न पनि सिफारिस गरिएको छ ।

फूलपातीदेखि अष्टमीसम्म यात्रुको चाप उच्च हुने भएकाले सवारी साधनको अभाव हुन नदिन कलेज, विद्यालय तथा विभिन्न संस्थासँग रहेका बसलाई जगेडा सवारीका रूपमा प्रयोग गर्ने व्यवस्था मिलाउन समितिले सुझाएको छ । उपत्यकाका १० प्रमुख स्थानमा यात्रु सहायता कक्ष सञ्चालन गर्न र राजमार्गमा पहिरो पन्छाउन ५३ वटा ठूला हेभी इक्विपमेन्ट तयारी अवस्थामा राख्नुपर्ने प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदन बुझ्दै मन्त्री लम्सालले समितिले दिएका व्यावहारिक सुझावलाई मन्त्रालयगत समन्वयमार्फत तत्काल कार्यान्वयनमा लैजाने बताएका छन् । उनले यसपटकको दसैं यात्रा विगतको तुलनामा सुरक्षित, सहज र व्यवस्थित बनाउन आवश्यक तयारी अघि बढाउने प्रतिबद्धता जनाएका छन् । 

प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।