काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले दुईदिने भ्रमणका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शुक्रबार साँझ अमेरिकाको वासिङ्टन डीसी प्रस्थान गरेका छन् ।
विश्व बैंक समूहका अध्यक्ष अजय बाङ्गाको निमन्त्रणामा वाग्ले अमेरिका गएका हुन् ।
अर्थ मन्त्रालयका अनुसार वाग्लेले असोज १९ र २० गते विश्व बैंक, अमेरिकी अर्थ मन्त्रालय तथा अन्तर्राष्ट्रिय विकास वित्त निगम (डीएफसी) का उच्च अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । यस क्रममा निजी क्षेत्रका अग्रणी लगानीकर्तासँग पनि छलफल हुनेछ ।
भ्रमणका क्रममा नेपाल–अमेरिका द्विपक्षीय सहयोग विस्तार, पुनर्निर्माण, वित्तीय कारबाही कार्यदल (एफएटीएफ) को ग्रे सूचीबाट बाहिरिने नेपालको प्रयास तथा बृहत् आर्थिक सुधारका विषयमा छलफल हुने अर्थ मन्त्रालयले जनाएको छ ।
गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीबाट क्षति पुगेका भौतिक तथा आर्थिक पूर्वाधारको पुनर्निर्माण र भविष्यमा विपद्को जोखिम सामना गर्न सक्ने उत्थानशील विकासका लागि थप सहयोग परिचालन गर्ने विषयमा पनि वाग्लेले विश्व बैंक तथा अमेरिकी सरकारका प्रतिनिधिसँग छलफल गर्नेछन् ।
त्यस्तै, सडक तथा विद्युत् प्रसारण लाइनजस्ता महत्त्वपूर्ण पूर्वाधारमा विकास साझेदार र निजी क्षेत्रको लगानी आकर्षित गर्ने तथा त्यसबाट रोजगारी र आर्थिक अवसर सिर्जना गर्ने उपायबारे पनि छलफल हुने अर्थ मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार भ्रमणमार्फत विकास साझेदार तथा निजी क्षेत्रसँगको सहकार्य विस्तार गर्दै पूर्वाधार पुनर्निर्माण र आर्थिक विकासका लागि थप स्रोत परिचालनका विषयमा पहल गरिनेछ ।



































