काठमाडौँ । शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले चिनियाँ सान्क्सी अटोमोबाइल ग्रुप (स्याकम्यान)सँगको सहकार्यमा नेपालमा दुई नयाँ विद्युतीय हेभी–ड्युटी व्यावसायिक सवारीसाधन सार्वजनिक गरेको छ ।
कम्पनीले स्याकम्यान X5000e ६×४ इलेक्ट्रिक प्राइम मुभर र X5000e ६×४ इलेक्ट्रिक टिपर नेपाली बजारमा ल्याएको हो ।
यी दुई मोडलको सार्वजनिकसँगै स्याकम्यानले नेपालमा विस्तार हुँदै गएको विद्युतीय हेभी–ड्युटी व्यावसायिक सवारीसाधनको बजारमा प्रवेश गरेको कम्पनीले जनाएको छ । नयाँ सवारीसाधन यातायात, निर्माण, खानी तथा औद्योगिक क्षेत्रमा प्रयोग गर्न सकिने गरी तयार पारिएको बताइएको छ ।
X5000e इलेक्ट्रिक प्राइम मुभर विशेषगरी भारी सामान ढुवानी तथा लामो दूरीको यातायातलाई लक्षित गरी विकास गरिएको हो । त्यस्तै, X5000e इलेक्ट्रिक टिपर निर्माण तथा खानी क्षेत्रमा हुने कामका साथै चुनौतीपूर्ण अफ–रोड सञ्चालनलाई ध्यानमा राखेर डिजाइन गरिएको कम्पनीको भनाइ छ ।
दुवै मोडलमा इलेक्ट्रिक पावरट्रेन र ६×४ ड्राइभट्रेन प्रयोग गरिएको छ । फास्ट चार्जिङ, रिजेनेरेटिभ ब्रेकिङ तथा इन्टेलिजेन्ट ब्याट्री व्यवस्थापन प्रणालीसमेत उपलब्ध रहेको कम्पनीले जनाएको छ । यी प्रविधिले व्यावसायिक क्षेत्रमा सवारीसाधनको सञ्चालन प्रभावकारिता र विश्वसनीयता बढाउन सहयोग गर्ने अपेक्षा गरिएको छ ।
सहकार्यबारे शंकर ग्रुपकी निर्देशक दीपा अग्रवालले स्याकम्यानसँगको साझेदारीले नेपालमा आधुनिक विद्युतीय मोबिलिटी समाधान भित्र्याउने कम्पनीको प्रतिबद्धता झल्काउने बताइन् । आगामी दिनमा सहकार्यलाई थप विस्तार गर्दै व्यावसायिक यातायात क्षेत्रमा नयाँ अवसर सिर्जना गर्ने लक्ष्य रहेको उनको भनाइ छ ।
सान्क्सी अटोमोबाइल होल्डिङ ग्रुपका साउथ एसिया जनरल म्यानेजर स्यान्डर्स लीले नेपाल विद्युतीय हेभी–ड्युटी सवारीसाधनका लागि सम्भावनायुक्त बजार रहेको बताए । शंकर ग्रुप र जगदम्बा मोटर्ससँग सहकार्य गर्न पाउँदा खुसी लागेको उल्लेख गर्दै उनले नेपाली बजारका लागि भरपर्दो तथा प्रविधिमा आधारित हेभी–ड्युटी समाधान उपलब्ध गराउने लक्ष्य रहेको बताए ।
X5000e का दुवै मोडलमा विद्युतीय पावरट्रेनसँगै चालकको आराम र सञ्चालन सहजतालाई ध्यानमा राखेर विभिन्न सुविधा राखिएको छ । एयर–सस्पेन्डेड सिट, मल्टिफङ्सन स्टेयरिङ, एयर कन्डिसनिङ तथा ठूलो इन्स्ट्रुमेन्ट डिस्प्लेजस्ता सुविधा उपलब्ध छन् । हेभी–ड्युटी व्यावसायिक सञ्चालनका लागि आवश्यक सुरक्षा तथा नियन्त्रण प्रणालीसमेत सवारीसाधनमा समावेश गरिएको कम्पनीले जनाएको छ ।
जगदम्बा मोटर्सका एक्जेक्युटिभ डिरेक्टर अखिल गुप्ताले X5000e लाई कम्पनीको व्यावसायिक सवारीसाधन पोर्टफोलियोमा महत्वपूर्ण थपका रूपमा प्रस्तुत गरिएको बताए । नेपालको यातायात, निर्माण तथा औद्योगिक क्षेत्रमा देखिएका बदलिँदा आवश्यकतालाई सम्बोधन गर्ने उद्देश्यले विद्युतीय हेभी–ड्युटी सवारीसाधन उपलब्ध गराइएको उनको भनाइ छ ।
कम्पनीका अनुसार स्याकम्यान X5000e ६×४ इलेक्ट्रिक प्राइम मुभरको मूल्य २ करोड ५ लाख रुपैयाँ तोकिएको छ । त्यस्तै, X5000e ६×४ इलेक्ट्रिक टिपरको मूल्य २ करोड ३५ लाख रुपैयाँ रहेको छ ।
नयाँ दुई मोडल बजारमा ल्याएसँगै जगदम्बा मोटर्सले आफ्नो व्यावसायिक सवारीसाधनको दायरालाई विद्युतीय हेभी–ड्युटी सेग्मेन्टमा विस्तार गरेको छ । कम्पनीले यी सवारीसाधनमार्फत नेपालका यातायात, निर्माण, खानी तथा औद्योगिक क्षेत्रमा विद्युतीय मोबिलिटीको विकल्प विस्तार गर्ने लक्ष्य राखेको जनाएको छ ।
स्याकम्यान सान्क्सी अटोमोबाइल ग्रुपअन्तर्गतको चिनियाँ हेभी–ड्युटी व्यावसायिक सवारीसाधन निर्माता कम्पनी हो । करिब ६० वर्षको इतिहास रहेको कम्पनीले सैन्य तथा व्यावसायिक प्रयोजनका सवारीसाधन उत्पादन गर्दै आएको छ । विभिन्न सञ्चालन वातावरणलाई लक्षित गरी ट्रक तथा यातायातसम्बन्धी समाधान विकास गर्दै आएको स्याकम्यानले हेभी–ड्युटी सवारीसाधन प्रविधि र उत्पादन विकासमा काम गर्दै आएको जनाएको छ ।
शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले नेपालमा विभिन्न व्यावसायिक तथा अटोमोटिभ उत्पादनको वितरण तथा प्रवर्द्धन गर्दै आएको छ । कम्पनीले अन्तर्राष्ट्रिय अटोमोबाइल ब्रान्डको पोर्टफोलियो र देशभर विस्तार हुँदै गएको नेटवर्कमार्फत यातायात तथा मोबिलिटीसम्बन्धी सेवा उपलब्ध गराउँदै आएको जनाएको छ ।



































