जापानीज इन्सेफलाइटिसबाट १३१ संक्रमित, २८ जनाको मृत्यु

काठमाडौँ । नेपालमा सन् २०२६ मा हालसम्म १३१ जनामा जापानीज इन्सेफलाइटिस (जेई) संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये २८ जनाको मृत्यु भएको परिवार कल्याण महाशाखाले जनाएको छ ।

परिवार कल्याण महाशाखाको पछिल्लो अवस्थासम्बन्धी प्रतिवेदनअनुसार यस वर्ष हालसम्म देशभर १ हजार ३७२ जनामा एक्युट इन्सेफलाइटिस सिन्ड्रोम (एईएस) देखिएको छ । तीमध्ये १३१ जनामा परीक्षणबाट जेई संक्रमण पुष्टि भएको हो ।

प्रतिवेदनअनुसार जेई संक्रमितमध्ये ८७ प्रतिशतले खोप नलगाएको पाइएको छ । हालसम्म ३७ जिल्लाका ९० स्थानीय तहमा जेई संक्रमण पुष्टि भएको छ ।

महाशाखाका अनुसार अधिकांश संक्रमित धानखेत तथा सुँगुर फार्म आसपास बसोबास गर्ने र कृषि पेसामा संलग्न रहेका छन् । लामखुट्टेको माध्यमबाट सर्ने जेईको जोखिम विशेषगरी वर्षायाममा बढ्ने भएकाले प्रभावित क्षेत्रमा निगरानी तथा रोकथामका उपायलाई प्राथमिकता दिइएको छ ।

प्रभावित क्षेत्रमा खोप अभियान

सरकारले जेई संक्रमण देखिएका क्षेत्रमा खोप अभियान सञ्चालन गरिरहेको छ । हाल झापाका सबै स्थानीय तह तथा कैलालीका घोडाघोडी नगरपालिका, धनगढी उपमहानगरपालिका र लम्कीचुहा नगरपालिकामा जेईविरुद्धको खोप अभियान सञ्चालन भइरहेको छ ।

अभियानमा ३० वर्ष वा सोभन्दा माथिका व्यक्ति तथा स्वास्थ्यकर्मीलाई लक्षित गरिएको छ । हालसम्म कैलालीमा १ लाख ११ हजार ७९० र झापामा ३ लाख ४६ हजार ७७७ जनाले जेईविरुद्धको खोप लगाइसकेका छन् ।

नियमित खोपमा पनि जेईविरुद्धको मात्रा

सरकारले नियमित खोप कार्यक्रमअन्तर्गत १२ महिनाको उमेरमा जेईविरुद्धको एक मात्रा खोप दिने व्यवस्था गरेको छ । नियमित खोप छुटेको अवस्थामा पाँच वर्षको उमेरसम्म खोप लगाउन सकिने व्यवस्था रहेको छ ।

स्वास्थ्य अधिकारीहरूले जेईबाट जोगिन खोपलाई प्राथमिकता दिनुका साथै लामखुट्टेको टोकाइबाट बच्न पनि आवश्यक सावधानी अपनाउन आग्रह गरेका छन् । घर वरपर पानी जम्न नदिने, साँझ–बिहान शरीर ढाक्ने कपडा लगाउने तथा आवश्यकताअनुसार लामखुट्टे भगाउने साधन प्रयोग गर्न स्वास्थ्यकर्मीले सुझाव दिएका छन् ।