काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को भारत भ्रमणको तयारी तीव्र पारिएको छ । आगामी नोभेम्बरको अन्तिम साता वा डिसेम्बरको पहिलो साता प्रधानमन्त्री बालेनले भारत भ्रमण गर्ने गरी कूटनीतिक तहमा तयारी अघि बढाइएको हो ।
भ्रमणको औपचारिक मिति भने तय भइसकेको छैन । उच्च स्रोतका अनुसार प्रधानमन्त्रीको भारत भ्रमणलाई आगामी मंसिर दोस्रो वा तेस्रो साताभित्र सम्पन्न गर्ने लक्ष्यसहित परराष्ट्र मन्त्रालयले आवश्यक गृहकार्य गरिरहेको छ । भ्रमणको मिति, एजेन्डा र त्यस क्रममा हुने द्विपक्षीय भेटवार्ताका विषयमा दुवै देशका अधिकारीहरूबीच छलफल भइरहेको छ ।
“प्रधानमन्त्रीको भारत भ्रमणको तयारी सुरु भएको छ । मिति ठ्याक्कै तोकिएको छैन तर आगामी नोभेम्बरको अन्तिम साता वा डिसेम्बर पहिलो साता गर्ने गरी भ्रमणको तयारी चलिरहेको छ,” उच्च स्रोतले भन्यो । प्रधानमन्त्रीको भ्रमणलाई उपलब्धिमूलक बनाउने उद्देश्यले परराष्ट्र मन्त्रालयले विभिन्न मन्त्रालयसँग छलफल गरेर एजेन्डा संकलन गरिरहेको छ । नेपालका प्राथमिकता, द्विपक्षीय सम्बन्धका विषय तथा भारतसँगको सहकार्यमा अघि बढाउन सकिने परियोजनालाई समेटेर भ्रमणको कार्यसूची तयार गर्ने काम भइरहेको स्रोतले जनाएको छ ।
परराष्ट्र मन्त्रालयले सम्बन्धित मन्त्रालयहरूबाट प्रस्तावित एजेन्डा प्राप्त भएपछि भारतीय पक्षसँग थप छलफल गर्ने तयारी गरेको छ । त्यसपछि दुवै देशका अधिकारीबीच सहमति जुटेका विषयलाई भ्रमणको औपचारिक कार्यसूचीमा समावेश गरिनेछ । “विभिन्न मन्त्रालयहरूसँग छलफल गरी एजेन्डा सेट गर्ने कार्यमा परराष्ट्र मन्त्रालय जुटेको छ । सबै मन्त्रालयबाट एजेन्डा आएपछि भारतसँग थप छलफल गरिने छ,” स्रोतले भन्यो ।
यसपटकको भ्रमणमा भोटेकोसी बाढीबाट प्रभावित क्षेत्रको पुनर्निर्माणलाई मुख्य प्राथमिकतामा राखिने भएको छ । बाढीबाट क्षति पुगेका भौतिक संरचना, सडक, पुल, जलविद्युत् आयोजना तथा अन्य पूर्वाधारको पुनर्निर्माणका लागि भारतसँग सहयोग र सहकार्यको विषय उठाइने तयारी छ । बाढीपछि प्रभावित क्षेत्रको पुनर्निर्माण र पुनःस्थापनाका लागि ठूलो स्रोत आवश्यक पर्ने भएकाले भारतसँगको छलफलमा यस विषयले विशेष स्थान पाउने सरकारी तयारी छ । विपद्पछिको पुनर्निर्माणमा छिमेकी मुलुकको सहयोग परिचालन गर्ने, प्रभावित क्षेत्रका पूर्वाधारलाई पुनः सञ्चालनमा ल्याउने तथा भविष्यमा यस्ता विपद्बाट हुने क्षति न्यूनीकरणका लागि सहकार्य गर्ने विषय पनि छलफलमा आउन सक्नेछन् ।
यद्यपि, पुनर्निर्माणका कुन–कुन परियोजनामा भारतसँग सहयोग माग्ने, कस्तो आर्थिक वा प्राविधिक सहयोग प्रस्ताव गर्ने र त्यसका लागि कस्तो संयन्त्र बनाउने भन्ने विषयमा अन्तिम निर्णय भइसकेको छैन । सम्बन्धित मन्त्रालयबाट प्रस्तावित कार्यक्रम र प्राथमिकता संकलन भएपछि यी विषयलाई थप स्पष्ट पारिने स्रोतको भनाइ छ ।
प्रधानमन्त्री बालेनको भारत भ्रमणलाई दुई देशबीचको सम्बन्धलाई थप सक्रिय बनाउने अवसरका रूपमा पनि हेरिएको छ । नयाँ सरकार गठनपछि नेपाल र भारतबीच उच्चस्तरीय राजनीतिक संवादलाई निरन्तरता दिने तथा द्विपक्षीय सहकार्यका विषयलाई अघि बढाउने सन्दर्भमा भ्रमणलाई महत्त्वपूर्ण मानिएको छ । नेपाल र भारतबीच व्यापार, पारवहन, ऊर्जा, पूर्वाधार विकास, सीमापार सम्पर्क सञ्जाल तथा आर्थिक सहकार्यका विभिन्न विषय छन् । प्रधानमन्त्रीको भ्रमणका क्रममा यी विषयले पनि प्राथमिकता पाउन सक्नेछन् । तर कुन विषयमा औपचारिक सहमति गर्ने र कुन विषयलाई छलफलमा मात्र सीमित राख्ने भन्ने निर्णय भ्रमणको एजेन्डा अन्तिम रूप दिएपछि मात्र स्पष्ट हुनेछ ।
विशेषगरी ऊर्जा व्यापार, जलविद्युत् आयोजना, सीमापार प्रसारण लाइन, सडक तथा अन्य पूर्वाधार निर्माणमा सहकार्य नेपालका लागि महत्त्वपूर्ण विषय हुन् । नेपालले उत्पादन गरेको विद्युत् भारतीय बजारमा बिक्री गर्ने तथा क्षेत्रीय ऊर्जा व्यापार विस्तार गर्ने विषयले पनि द्विपक्षीय सम्बन्धमा महत्त्व राख्दै आएको छ । यस्ता विषयलाई भ्रमणको कार्यसूचीमा समावेश गर्ने वा नगर्ने विषयमा भने आधिकारिक जानकारी सार्वजनिक भएको छैन ।
प्रधानमन्त्री बालेनले पदभार ग्रहण गरेलगत्तै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबाट भ्रमणको निम्तो पाएका थिए । २०८२ चैत १३ गते प्रधानमन्त्रीको शपथ लिएलगत्तै मोदीले टेलिफोन गरेर बालेनलाई बधाई दिएका थिए । सोही अवसरमा उनले भारतीय भ्रमणका लागि निम्तोसमेत दिएका थिए । तर, त्यसपछि विभिन्न कारणले प्रधानमन्त्री बालेनको भारत भ्रमण हुन सकेको थिएन । अहिले भ्रमणका लागि अनुकूल समय मिलाउने प्रयाससँगै परराष्ट्र मन्त्रालयले तयारीलाई अघि बढाएको हो ।
प्रधानमन्त्रीको भ्रमणअघि एजेन्डा निर्धारण, द्विपक्षीय छलफलका विषय छनोट, सम्बन्धित मन्त्रालयको प्रस्ताव संकलन र भारतीय पक्षसँग कूटनीतिक समन्वय गर्नुपर्ने भएकाले तयारीलाई चरणबद्ध रूपमा अघि बढाइएको छ । भ्रमणको मिति तय भएपछि उच्चस्तरीय भेटवार्ता, प्रतिनिधिमण्डलको संरचना र भ्रमणका क्रममा हुने सम्भावित समझदारीबारे थप विवरण सार्वजनिक हुने अपेक्षा गरिएको छ । नेपालका तर्फबाट भ्रमणमा उठाइने विषयलाई प्राथमिकताका आधारमा व्यवस्थित गर्ने र भारतसँगको छलफललाई परिणाममुखी बनाउने प्रयास भइरहेको स्रोतको भनाइ छ । विशेषगरी भोटेकोसी बाढीपछिको पुनर्निर्माणलाई प्राथमिकतामा राखेर सहयोग जुटाउन सके प्रभावित क्षेत्रको पुनःस्थापना तथा क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माणमा सहयोग पुग्ने सरकारको अपेक्षा छ ।
यद्यपि, भ्रमणको औपचारिक मिति, एजेन्डा र भारतसँग हुने सम्भावित सहमतिबारे दुवै देशका तर्फबाट औपचारिक घोषणा भइसकेको छैन । अहिले परराष्ट्र मन्त्रालय र भारतीय विदेश मन्त्रालयका अधिकारीहरूबीच भइरहेको छलफल तथा विभिन्न मन्त्रालयबाट प्राप्त हुने प्रस्तावका आधारमा भ्रमणको अन्तिम रूपरेखा तय हुने बताइएको छ ।
प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।




































