एनपीएल–३ मा पनि विराटनगर किङ्सलाई एभरेस्ट बैंकको साथ

विराटनगर । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा विराटनगर किङ्स र एभरेस्ट बैंक लिमिटेडबीचको सहकार्यले निरन्तरता पाउने भएको छ ।

विगतका संस्करणदेखि टोलीसँग सहकार्य गर्दै आएको बैंकले आगामी सिजनमा पनि विराटनगर किङ्ससँगको साझेदारीलाई निरन्तरता दिने भएको हो ।

विराटनगरमा आयोजित एक कार्यक्रमबीच विराटनगर किङ्स र एभरेस्ट बैंकबीच सहकार्यसम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौतासँगै बैंक आगामी एनपीएल सिजन–३ मा पनि विराटनगर किङ्सको साझेदारका रूपमा रहनेछ ।

नेपाली क्रिकेटको विकास तथा खेलकुद क्षेत्रको प्रवर्द्धनमा निजी क्षेत्रको सहभागिता बढिरहेका बेला बैंक र क्रिकेट टोलीबीचको निरन्तर सहकार्यलाई महत्वपूर्ण रूपमा हेरिएको छ । यस प्रकारको साझेदारीले खेलकुदको व्यावसायिक विकाससँगै क्रिकेट क्षेत्रमा कर्पोरेट क्षेत्रको संलग्नतालाई थप बलियो बनाउने अपेक्षा गरिएको छ ।

सहकार्यलाई निरन्तरता दिएकोमा विराटनगर किङ्सले एभरेस्ट बैंकप्रति आभार व्यक्त गरेको छ । टोलीका अनुसार नेपाली क्रिकेटको विकास, युवा खेलाडीको प्रतिभा पहिचान तथा प्रोत्साहन र खेलकुदलाई व्यावसायिक रूपमा अघि बढाउन निजी क्षेत्रको साथ महत्वपूर्ण छ ।

विराटनगर किङ्सले बैंकको निरन्तर विश्वास र सहयोगका लागि धन्यवाद दिँदै आगामी दिनमा पनि साझेदारीलाई प्रभावकारी र दीर्घकालीन रूपमा अघि बढाउने प्रतिबद्धता जनाएको छ ।

एभरेस्ट बैंक र विराटनगर किङ्सबीचको निरन्तर सहकार्यले खेलकुद र कर्पोरेट क्षेत्रबीचको सम्बन्धलाई थप मजबुत बनाउँदै नेपाली क्रिकेटको व्यावसायिक यात्रामा योगदान पुर्‍याउने विश्वास दुवै पक्षले व्यक्त गरेका छन् ।