काठमाडौं । म्यानहन्ट इन्टरनेशनलका विजेता तथा १० भन्दा बढी म्युजिक भिडियोमा मोडलका रूपमा देखिएका जीवन विश्वकर्मा अहिले नयाँ दुई गीतको तयारीमा जुटेका छन् ।
उनको चर्चित गीत ‘ह्याभ यू एभर सिन द रेन’ पछि उनी ‘स्टिल हियर फर यू’ र ‘मुटुभित्र तिम्रो माया’ सार्वजनिक गर्ने तयारीमा छन् ।
‘मुटुभित्र तिम्रो माया’मा जीवनले गायनसँगै अभिनयसमेत गरेका छन् । मोडलिङबाट कलाकारिताको यात्रा अघि बढाएका उनी पछिल्लो समय गायन र अभिनयलाई सँगसँगै अगाडि बढाउने तयारीमा छन् ।
जीवनका लागि कलाकारिता केवल पेशा नभई जीवनको मुख्य लक्ष्य बनेको छ । लामो समयदेखि यही क्षेत्रमा सक्रिय रहेका उनी कलाकारिता छाडेर अन्य क्षेत्रमा जाने सोचमा नरहेको बताउँछन् ।
“अहिलेसम्म जे–जति गरें, कलाकारितामै गरें । त्यसैले यो क्षेत्र छोडेर जाने कुरा मेरो सोचमा छैन,” उनी भन्छन्, “मैले गरेका कामलाई दर्शक तथा स्रोताले मन पराइदिनुभएको छ । त्यसैले पनि अझै केही नयाँ गरौँ भन्ने उत्साह बढेको छ ।”
कलाकारिताले मनोरञ्जनसँगै समाजमा सकारात्मक सन्देश प्रवाह गर्न सक्ने भएकाले आफू सानैदेखि यस क्षेत्रमा आकर्षित भएको उनको भनाइ छ । कला र सिर्जनाका माध्यमबाट समाजका लागि केही योगदान गर्ने सोचले कलाकारिताप्रतिको आफ्नो रुचिलाई थप बलियो बनाएको उनी बताउँछन् ।
मोडलिङ तथा अभिनयमा लामो समयको अनुभव बटुलेका जीवनले आफूलाई फरक परिस्थितिअनुसार भूमिकामा ढाल्न सक्ने बताएका छन् । अभिनयमा प्राप्त अनुभवलाई अब आफ्नै गीतमार्फत प्रस्तुत गर्ने उनको तयारी छ ।
नयाँ गीतमार्फत दर्शक तथा स्रोतामाझ थप फरक पहिचान बनाउने लक्ष्यमा रहेका जीवनले आगामी दिनमा पनि कलाकारितामै निरन्तर सक्रिय रहने बताएका छन् ।



































