कांग्रेसमा थपियो वरिष्ठ उपसभापति, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सोमबार बसेको बन्दसत्रले पार्टीको संशोधित विधान पारित गरेको छ ।

खुलामञ्चमा जारी बन्दसत्रमा महामन्त्री प्रदीप पौडेलले प्रस्तुत गरेको संशोधित विधान सर्वसम्मत रूपमा पारित भएको हो । संशोधित विधानले कांग्रेसको केन्द्रीय कार्यसमितिको संरचनामा समेत केही महत्वपूर्ण परिवर्तन गरेको छ ।  कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार नयाँ विधानअनुसार केन्द्रीय कार्यसमिति २९७ सदस्यीय हुनेछ ।

यसअघि रहेको संरचनामा परिवर्तन गर्दै वरिष्ठ उपसभापतिको नयाँ पद सिर्जना गरिएको छ । अब कांग्रेसमा एक जना सभापति, एक जना वरिष्ठ उपसभापति र चार जना उपसभापति रहनेछन् । चार उपसभापतिमध्ये कम्तीमा एक जना महिला अनिवार्य गरिएको छ ।

त्यस्तै महामन्त्रीको संख्या तीन पुर्‍याइएको छ । तीन महामन्त्रीमध्ये एक जना महिला अनिवार्य हुने व्यवस्था गरिएको छ । सहमहामन्त्रीको संख्या पनि बढाएर १५ पुर्‍याइएको छ । कोषाध्यक्ष भने केन्द्रीय कार्यसमितिका सदस्यमध्येबाट एक जना चयन हुनेछन् । पार्टीमा एक जना प्रवक्ता र एक जना सहप्रवक्ता रहने व्यवस्था पनि विधानमा गरिएको छ । केन्द्रीय सदस्यको संरचनामा पनि विभिन्न समावेशी समूहलाई प्रतिनिधित्व गराउने व्यवस्था गरिएको छ । खुलातर्फ ४५ जना केन्द्रीय सदस्य रहनेछन् भने खुला महिलातर्फ १५ जना रहनेछन् ।

सातै प्रदेशबाट एक महिलासहित चार–चार जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन् । यसरी प्रदेशबाट मात्रै २८ जना केन्द्रीय सदस्य आउनेछन् । काठमाडौं उपत्यकाको प्रतिनिधित्वका लागि एक महिलासहित दुई जना केन्द्रीय सदस्य रहने व्यवस्था गरिएको छ । दलिततर्फ १४ जना रहनेछन्, जसमा पाँच जना महिला र एक जना मधेसी दलितको प्रतिनिधित्व सुनिश्चित गरिएको छ । आदिवासी जनजातितर्फ २० जना रहनेछन्, जसमा आठ जना महिला हुनेछन् । खस आर्यतर्फ १८ जना रहनेछन् भने त्यसमा आठ जना महिला रहने व्यवस्था गरिएको छ ।

मधेसी समुदायबाट १३ जना केन्द्रीय सदस्य रहनेछन्, जसमा पाँच जना महिला हुनेछन् । त्यस्तै जनसम्पर्क समितिबाट सात जना केन्द्रीय सदस्य चयन हुनेछन्, जसमा दुई जना महिला अनिवार्य गरिएको छ । पिछडिएको वर्गबाट तीन जना, थारू समुदायबाट छ जना र श्रमिकतर्फ तीन जना केन्द्रीय सदस्य रहनेछन् । थारूबाट दुई जना महिला तथा श्रमिकबाट एक जना महिला अनिवार्य गरिएको छ ।  पेशागत विज्ञतर्फ सात जना केन्द्रीय सदस्य रहनेछन् । यस समूहमा दुई जना महिला रहने व्यवस्था गरिएको छ । कांग्रेसले युवा प्रतिनिधित्वलाई पनि विधानमा प्राथमिकता दिएको छ । सातै प्रदेशबाट ३५ वर्षमुनिका २१ जना युवा केन्द्रीय सदस्य रहनेछन् । त्यस्तै अपाङ्गता भएका व्यक्तिबाट एक जना र प्रजातन्त्र सेनानीबाट तीन जना केन्द्रीय सदस्य रहने व्यवस्था गरिएको छ । निर्वाचित तथा पदेन संरचनाबाहेक केन्द्रीय कार्यसमितिले थप ६६ जना सदस्य मनोनित गर्न सक्ने व्यवस्था गरिएको छ ।

सोमबार संशोधित विधान पारित भए पनि सभापति, उपसभापति र कोषाध्यक्षको प्रतिवेदन भने मंगलबारको बन्दसत्रले पारित गर्नेछ । कांग्रेसले मंगलबार बिहान १० बजेदेखि महाधिवेशनमा उम्मेदवारको मनोनयन प्रक्रिया सुरु गर्ने तयारी गरेको छ । उम्मेदवारी दर्ताको प्रक्रिया अघि बढाउन आवश्यक विधान सोमबार नै पारित गरिएको कांग्रेसले जनाएको छ ।  नयाँ विधानसँगै कांग्रेसको केन्द्रीय नेतृत्वमा वरिष्ठ उपसभापतिको पद थपिएको छ भने पदाधिकारी तथा समावेशी समूहको प्रतिनिधित्व पनि विस्तार गरिएको छ । १५औँ महाधिवेशनबाट निर्वाचित हुने नयाँ केन्द्रीय कार्यसमितिले यही संरचनाअनुसार काम गर्नेछ ।