मुस्ताङ । मुस्ताङको लेतेदेखि कोरलानाकासम्म झन्डै ५ सयको सङख्यामा कन्टेनर सडकमा लामबद्ध रुपमा रोकिको अवस्थामा रहेको पाइएको छ ।
यही असोज ८ देखि ११ गतेसम्मको वर्षापछिको बाढी, पहिरो र हिमपातले सडक अवरुद्ध भएपछि एक सातादेखि ती कन्टेनर जिल्लाका विभिन्न ठाँउमा रोकिएका हुन्। भारी वर्षाबाट अवरुद्ध म्याग्दीको पोखरेबगर, कुनौटे र बैसरीलगायतका स्थानमा सडक मर्मत भइरहेको छ । उक्त सडक सञ्चालनका लागि अझै १ साता लाग्ने त्यस सडक आयोजनाका प्राविधिकहरूले जनाएका छन् । उक्त सडक सञ्चालनमा नआउँदा ७० बढी कन्टेनर र सय बढी विधुतीय सवारीसाधन जोमसोमस्थित बसपार्कमा राखिएको छ ।
बेनी–जोमसोम सडक अवरुद्ध रहेकै अवस्थामा कोरलानाकाबाट भने केही मालवस्तु बोकेका कन्टेनर जोमसोम ल्याइएको छ । कालीगण्डकी करिडोर सडक आयोजनाले जोमसोम–कोरला खण्डमा अवरुद्ध सडक मर्मत गरेपछि मुस्ताङ भन्सार बन्दरगाहमा रोकिएका ती केही मालवस्तुवाहक कन्टेनर जोमसोम ल्याइएको हो । यसअघि बाढी पहिरोबाट नाका क्षेत्रमा विधुत र इन्टरनेटको समस्या कारण चीनबाट ल्याइएका सामानको भन्सार जाँचपास हुन नसक्दा सयाँैको सङख्यामा ती कन्टेनर रोकिएका थिए ।
भारी वर्षापछिको बाढी, पहिरो र नदी कटानले म्याग्दी खण्डका दर्जनौँ स्थानमा विधुत पोल क्षतिमा हुँदा १ सातादेखि मुस्ताङमा केन्द्रीय ३३ केभी विधुत प्रसारण लाइन र इन्टरनेट सेवा अवरुद्ध थियो । त्यसबाट उपल्लो मुस्ताङ भन्सार कार्यालयको नियमित सेवा प्रभावित हुँदै आएको थियो । कोरला नाकामै रोकिएका कन्टेनर चालक गोबिन्द गुरुङले कोरलानाकाबाट पैठारी गरिएका मालवस्तु बोकेका करिब ३०० कन्टेनर तथा २०० बढी विधुतीय सवारी साधन भन्सार जाँचपासका लागि अहिले पनि रोकिएको बताए । चीनबाट कोरलानाका हुँदै पैठारी गरी नेपाल भित्र्याइएको दशैँ तिहार लक्षित मालवस्तु समयमै गन्तव्यमा पुर्याउन नसक्दा व्यपारीमात्र होइन उपभोक्ता समेत इच्छाइएको सामग्री खरिद गर्नबाट वञ्चित हुनुपरेको छ । त्यसबाट नेपाली बजारसमेत आर्थिक रुपमा चलायमान हुनसकेको छैन ।




































