काठमाडौं । काठमाडौं उपत्यकाका अधिकांश बासिन्दाले वायु प्रदूषणलाई स्वास्थ्यका लागि गम्भीर जोखिमका रूपमा लिने गरे पनि आफूले श्वास फेर्ने हावाको गुणस्तर कस्तो छ भन्ने थाहा पाउन भरपर्दो तथ्यांक प्रयोग गर्नेको सङ्ख्या निकै कम रहेको एक सर्वेक्षणले देखाएको छ ।
ताजा इनिसिएटिभ नेपालले काठमाडौं उपत्यकाका एक हजार २०० बासिन्दामाझ गरेको सर्वेक्षणमा ८१.२ प्रतिशतले उपत्यकाको वायु प्रदूषणलाई स्वास्थ्यका लागि हानिकारकदेखि अत्यन्त हानिकारकसम्म रहेको बताएका छन् । तर वायु गुणस्तर जाँच्ने उत्तरदातामध्ये ९४.१ प्रतिशतले आधिकारिक तथ्यांक वा निगरानी प्रणालीको सट्टा गन्ध, दृश्यता र आँखामा हुने जलनजस्ता आफ्नै इन्द्रियका आधारमा हावाको अवस्था बुझ्ने गरेको पाइएको छ ।
सर्वेक्षणका अनुसार ५२.३ प्रतिशत बासिन्दाले आफ्नो स्थानीय क्षेत्रको वायु गुणस्तरलाई खराबदेखि अति खराबसम्म मूल्याङ्कन गरेका छन् । प्रमुख सहरी क्षेत्रमा यस्तो धारणा अझ बढी देखिएको छ । ललितपुरमा ६०.९ प्रतिशत, काठमाडौंमा ५९.२ प्रतिशत र भक्तपुरमा ५६ प्रतिशत उत्तरदाताले आफ्नो स्थानीय वायुको गुणस्तर खराब रहेको बताएका छन् । उत्तर काठमाडौंमा भने यस्तो धारणा राख्नेको सङ्ख्या ३५.९ प्रतिशत छ ।
ताजा इनिसिएटिभ नेपालले सन् २०२६ मा स्थापना भई काठमाडौं उपत्यकामा वायु प्रदूषण न्यूनीकरणका लागि अनुसन्धान, वायु गुणस्तर निगरानी र प्रमाणमा आधारित समाधान प्रवद्र्धन गर्दै आएको जनाएको छ । संस्थाले आफ्नो शुभारम्भसँगै सर्वेक्षणको नतिजा सार्वजनिक गरेको हो ।
शिक्षासँगै बढ्छ वायु गुणस्तर बुझ्ने क्षमता
सर्वेक्षणले वायु गुणस्तर कसरी जाँच्ने भन्ने ज्ञानमा शैक्षिक स्तरअनुसार ठूलो अन्तर रहेको देखाएको छ ।
प्राथमिक शिक्षा वा सोभन्दा कम शैक्षिक योग्यता भएका उत्तरदातामध्ये १०.८ प्रतिशतले मात्र वायु गुणस्तर जाँच्ने तरिका थाहा भएको बताएका छन् । स्नातकोत्तर वा सोभन्दा माथिको शैक्षिक योग्यता भएकाहरूमा भने यस्तो दर ६३ प्रतिशत पुगेको छ ।
युवामा डिजिटल माध्यमबाट वायु गुणस्तर निगरानी गर्ने प्रवृत्ति देखिए पनि यो समग्र युवा जनसङ्ख्याको सानो हिस्सामा मात्र सीमित रहेको सर्वेक्षणले देखाएको छ ।
१८ देखि २४ वर्ष उमेर समूहका वायु गुणस्तर सक्रिय रूपमा ट्र्याक गर्ने उत्तरदातामध्ये ६०.३ प्रतिशतले वेबसाइट र ४२.५ प्रतिशतले मोबाइल एप प्रयोग गर्ने बताएका छन् । तर यी क्रमशः उक्त उमेर समूहका १४.१ प्रतिशत र १० प्रतिशत मात्र हुन् । यसले वायु गुणस्तरबारे नियमित जानकारी लिनेभन्दा निगरानी नगर्ने व्यवहार व्यापक रहेको देखाउँछ ।
सवारीसाधन र सडकको धूलो मुख्य समस्या
सर्वेक्षणमा सहभागीमध्ये ९८.६ प्रतिशतले मोटर सवारीसाधन तथा यातायातबाट निस्कने धूवाँलाई वायु प्रदूषणको प्रमुख स्रोतका रूपमा पहिचान गरेका छन् । त्यस्तै ९४.८ प्रतिशतले सडक निर्माणबाट उत्पन्न हुने धूलोलाई महत्वपूर्ण प्रदूषणको स्रोत मानेका छन् ।
वायु प्रदूषण नियन्त्रणका उपायप्रति भने जनसमर्थन बलियो देखिएको छ । ७९.९ प्रतिशत उत्तरदाताले सार्वजनिक यातायात विस्तार र विद्युतीय गतिशीलतालाई समर्थन गरेका छन् । ७१.५ प्रतिशतले कडा धूलो नियन्त्रण तथा सहरी हरियाली विस्तारको पक्षमा मत दिएका छन् ।
सरकारले वायु प्रदूषण न्यूनीकरणका लागि गरिरहेको कामप्रति भने ७०.४ प्रतिशत उत्तरदाता असन्तुष्ट रहेको सर्वेक्षणमा उल्लेख छ ।
मास्क लगाउने धेरै, व्यक्तिगत उपाय नअपनाउने पनि धेरै
वायु प्रदूषणबाट जोगिन व्यक्तिगत रूपमा अपनाइने उपायबारे सोध्दा ८२ प्रतिशत उत्तरदाताले सर्जिकल मास्क वा स्कार्फ प्रयोग गर्ने बताएका छन् ।
तर ४३.४ प्रतिशतले प्रदूषणबाट आफूलाई जोगाउन कुनै पनि व्यक्तिगत उपाय नअपनाउने बताएका छन् । यसले प्रदूषणबारे चिन्ता उच्च रहे पनि त्यसअनुसार व्यवहार परिवर्तन गर्न अझै चुनौती रहेको देखाउँछ ।
सर्वेक्षणले वायु प्रदूषण उपत्यका छाड्ने सोचसँग समेत जोडिन थालेको देखाएको छ । काठमाडौं उपत्यका छाड्ने विचार गरिरहेका ७.२ प्रतिशत उत्तरदातामध्ये ३९.१ प्रतिशतले खराब वायु गुणस्तरलाई त्यसको एउटा कारण बताएका छन् । महँगी तथा आर्थिक दबाबलाई भने ४७.८ प्रतिशतले कारणका रूपमा औँल्याएका छन् ।
‘सूचनाको खाडल मेटाउनुपर्छ’
ताजा इनिसिएटिभ नेपालकी कार्यकारी निर्देशक रोशनी गिरीले सर्वेक्षणले वायु प्रदूषणबारे जनचासो र भरपर्दो सूचनामा पहुँचबीच ठूलो अन्तर देखाएको बताइन् ।
“सर्वेक्षणको तथ्यांकले गम्भीर विच्छेद देखाएको छ । पाँचमध्ये चार बासिन्दाहरू हावा उनीहरूको स्वास्थ्यका लागि हानिकारक छ भन्छन्, तथापि अधिकांश मानिसहरू आफूले श्वास फेर्ने हावा बुझ्न विज्ञानभन्दा आफ्नै इन्द्रियमा भर पर्न बाध्य छन्,” उनले भनिन् । उनका अनुसार उपत्यकाका १० मध्ये करिब छ जनालाई वायु प्रदूषणको स्तर कसरी जाँच्ने भन्ने जानकारी छैन । गिरीले वायु गुणस्तरसम्बन्धी तथ्यांकलाई सर्वसाधारणका लागि थप पहुँचयोग्य, बुझ्न सकिने र प्रयोग गर्न मिल्ने बनाउन संस्था केन्द्रित हुने बताइन् ।
सर्वेक्षणको निष्कर्षका आधारमा संस्थाले आगामी दिनमा उपत्यकाभरि वायु गुणस्तरसम्बन्धी अनुसन्धान विस्तार गर्ने, पहुँचयोग्य डेटा प्लेटफर्म विकास गर्ने तथा वायु गुणस्तरसम्बन्धी जनचेतना र साक्षरता कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।
संस्थाका अनुसार यसको उद्देश्य उपत्यकावासीलाई भरपर्दो र सहज रूपमा बुझ्न सकिने जानकारी उपलब्ध गराउनु हो, ताकि उनीहरूले आफू वरपरको वायु प्रदूषणको अवस्था बुझ्न, सचेत निर्णय लिन र वायु गुणस्तर सुधारका प्रयासमा अर्थपूर्ण रूपमा सहभागी हुन सकून् ।




































