काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि बिहीबार हुने मतदानको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन समितिले जनाएको छ ।
केन्द्रीय निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काका अनुसार विभिन्न तीनवटा स्थानमा मतदान केन्द्र राख्ने तयारी भएको छ । बिहान १० बजेदेखि हुने मतदानका लागि निर्वाचन आयोगबाट मतपेटिका ल्याइएको छ । मतदानका लागि ५०० जना मतदान अधिकृत खटिने भएका छन् । “मतदानका लागि मतदान अधिकृत पनि तयार छन् । अब बक्सा कहाँ राख्ने, सुरक्षा व्यवस्था कसरी गर्ने तयारी गर्नु छ । अरु त सबै तयारी भइसकेको छ,” उनले भने ।
मतदानका लागि ८० प्रतिशत काम सम्पन्न भएको खड्काको भनाइ छ । “रातभरि भए पनि बाँकी रहेका काम सम्पन्न गर्छौं,” उनले भने । “मतपत्र २३ वटा रहन्छ । त्यो क्षेत्र, प्रदेश र क्लस्टर अनुसार छ,“ उनले भने, “मतपत्र खसाल्दा भन्दा गन्दाखेरी चाँडो होस् भन्ने दृष्टिकोणले हामीले मतपत्र त्यसरी राखेको हो ।” मतदानको समय बिहान १० देखि बेलुका ५ बजेसम्मका लागि तोकिए पनि अवस्थाअनुसार, व्यवस्था गर्ने उनले बताए । ’’तोकिएको समयभित्र लाइनमा आएकाहरूलाई ध्यानमा राखेर समय हेरफेर हुनसक्छ,” खड्काले भने । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा मतदानका लागि एकजनालाई कम्तीमा पनि आधा घण्टादेखि ४५ मिनेटसम्म लाग्ने उनको भनाइ छ । मतदानस्थल राष्ट्रिय सभागृह, खुलामञ्च र कमलादीस्थित प्रज्ञाप्रतिष्ठानमा राख्ने समितिको तयारी छ ।
“मतदानस्थल प्रदेशअनुसार छ । राष्ट्रिय सभागृहमा वाग्मती प्रदेशको, मधेस र सूदुरपश्चिम प्रदशेको खुलामञ्चमा र कोसीलगायत अन्यको मतदानस्थल प्रज्ञाप्रतिष्ठानमा रहनेछ,” उनले भने । सकेसम्म सहमति गरेरै मतदानमा जाने तयारी रहेको नेताहरूले बताएका छन् । सहमति गरेपछि उमेदवारको संख्या पनि कम हुने र मतदान गर्न समय कम लाग्ने भएकाले सहमतिको प्रयास भइरहेको नेताहरूले बताएका छन् । प्रारम्भमा सभापतिमा तीनजनाको उमेदवारी परे पनि किशोरसिंह राठौरले फिर्ता लिएसँगै सभापतिमा गगनकुमार थापा र श्यामकृष्ण खड्कीको उमेदवारी बाँकी रहेको निर्वाचन समिति संयोजक खड्काले बताए । उनले भने, “खड्कीजीले उमेदवारी फिर्ता लिने भन्दै हुनुहुन्थ्यो अहिलेसम्म आउनु भएको छैन ।” धेरै मनोनयन खुलातर्फ केन्द्रीय सदस्यमा परेको पनि उनले बताए । मतगणना ललितपुरस्थित पार्टी कार्यालयमा गर्ने तयारी रहेको निर्वाचन समिति संयोजक खड्काले बताए ।
प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।




































