जब मेसीले अर्जेन्टिनाको जर्सी अन्तिमपटक चुमे

 काठमाडौं । मोनुमेन्टल रंगशाला खचाखच भरिएको थियो। ८५ हजारभन्दा बढी दर्शक एउटै अनुहार हेर्न आतुर थिए । मैदानमा अर्जेन्टिनाको चर्चित १० नम्बरको विशाल जर्सी प्रदर्शन गरिएको थियो, जसमा एउटा शब्द लेखिएको थियो—‘ग्रासियास’ अर्थात् धन्यवाद ।

रंगशालाको वातावरण खेलको भन्दा बढी भावनात्मक थियो। किनकि अर्जेन्टिनाले केवल बेनिनविरुद्ध मैत्रीपूर्ण खेल खेलिरहेको थिएन, एउटा युगलाई बिदाइ गरिरहेको थियो ।

मैदानमा उत्रिएका थिए लियोनल मेसी । अर्जेन्टिनाको जर्सीमा उनको यो अन्तिम खेल थियो ।
बुधबार ब्युनस आयर्सस्थित मोनुमेन्टल रंगशालामा भएको खेलमा अर्जेन्टिनाले बेनिनलाई ३–० ले पराजित गर्‍यो । निकोलस ओटामेन्डी र निको पासले एक–एक गोल गर्दा मेसीले पेनाल्टीमार्फत आफ्नो अन्तिम अन्तर्राष्ट्रिय खेलमा गोल गरे। उनले ओटामेन्डी र निको पासका गोलमा असिस्टसमेत दिए । तर त्यो रात स्कोरबोर्डभन्दा ठूलो थियो—मेसीसँग जोडिएको भावनाको स्कोर ।

खेल सुरु हुनुअघि नै मेसी भावुक देखिएका थिए । टोलीको बस रंगशालातर्फ अघि बढ्दा उनले आँसु पुछिरहेको दृश्य देखिएको थियो । राष्ट्रिय गान बज्दा पनि उनी भावुक बने। मैदानमा प्रवेश गर्दा आफ्ना सन्तानसमेत साथमा रहेका मेसीका लागि त्यो क्षण दुई दशक लामो यात्राको अन्तिम अध्याय थियो ।

खेल सुरु भएको १० मिनेटपछि मैदानमा खेल रोकियो। ८५ हजारभन्दा बढी दर्शक एकैपटक उभिए। आतिशबाजी भयो। तालीको गडगडाहटले मोनुमेन्टल गुञ्जियो। बेनिनका खेलाडीहरूले समेत मेसीसँग हात मिलाउँदै सम्मान गरे ।
त्यो सम्मान एउटा खेलाडीका लागि मात्र थिएन। त्यो अर्जेन्टिनाको एउटा पुस्ताले आफ्नो नायकलाई दिएको बिदाइ थियो ।
मेसीले पनि अन्तिम खेलमा आफूलाई फेरि एकपटक प्रमाणित गरे । उनका दुई फ्रिकिक बेनिनका गोलरक्षकले उत्कृष्ट बचाउ गरे। केही अवसर खेर गए । एउटा प्रहार पोस्टमा लाग्यो । तर अन्ततः दोस्रो हाफमा पेनाल्टीको अवसर आयो र मेसीले बल जाली चुमाए ।

उनको गोलसँगै अर्जेन्टिनाको अग्रता ३–० भयो। अनि मेसीको राष्ट्रिय टोलीका लागि गोल संख्या १२६ पुग्यो ।
२१ वर्ष लामो अन्तर्राष्ट्रिय यात्रामा उनले अर्जेन्टिनाका लागि २०८ खेल खेले। १२६ गोल गरे। विश्वकप र दुई कोपा अमेरिका उपाधि जिते। उनी अर्जेन्टिनाका सर्वाधिक गोलकर्ता र सर्वाधिक खेल खेल्ने खेलाडी बने । तर मेसीको अर्जेन्टिनासँगको कथा सधैँ यति सहज थिएन ।

क्लब फुटबलमा बार्सिलोनाबाट लगातार सफलता पाइरहँदा राष्ट्रिय टोलीमा भने लामो समयसम्म ठूलो उपाधिको अभाव थियो। अर्जेन्टिनाका समर्थकहरू उनलाई डिएगो म्याराडोनासँग तुलना गर्थे । म्याराडोनाको आक्रामक व्यक्तित्वको तुलनामा मेसीको शान्त स्वभावले पनि उनलाई आलोचनाबाट बचाउन सकेन ।

सन् २०१६ मा अर्जेन्टिना लगातार तेस्रो ठूलो फाइनलमा पराजित भएपछि मेसीले केही समय राष्ट्रिय टोलीबाट अलग हुने घोषणा गरेका थिए । त्यसपछि कथा बदलियो । सन् २०२१ मा ब्राजिललाई हराउँदै अर्जेन्टिनाले २८ वर्षपछि कोपा अमेरिका जित्यो । मैदानमै मेसी भावुक बनेर रोए । एक वर्षपछि कतारमा अर्जेन्टिनाले विश्वकप जित्यो । त्यो क्षण मेसीको करिअरको सबैभन्दा ठूलो अधुरो सपना पूरा भएको क्षण थियो ।

विश्वकप जितेपछि अर्जेन्टिनाका लाखौँ मानिस सडकमा निस्किए । ब्युनस आयर्सका सडकदेखि देशका विभिन्न स्थानसम्म मेसीको नाम गुञ्जियो । अर्जेन्टिनाको १० नम्बर जर्सी लगाएका समर्थकहरूको भीडले देशभर एउटै कथा सुनाइरहेको थियो—मेसी अब केवल फुटबलर रहेनन्, उनी राष्ट्रिय गौरवको हिस्सा बनिसकेका थिए । त्यसैले अन्तिम बिदाइ पनि सामान्य हुन सकेन ।

मोनुमेन्टलमा टिकट बिक्री खुलेको ९० मिनेटमै ८५ हजारभन्दा बढी टिकट बिक्री भए। पुनःबिक्री गर्ने साइटमा टिकटको मूल्य २ हजार ५०० अमेरिकी डलरभन्दा बढी पुगेको थियो। सन् १९७८, १९८६ र २०२२ का विश्वकप विजेता अर्जेन्टिनी टोलीका खेलाडी तथा उनीहरूका परिवारसमेत मेसीको बिदाइमा सहभागी भए । खेलपछि मेसीले करिब १० मिनेट समर्थकलाई सम्बोधन गरे । बोल्दै गर्दा उनी पटकपटक भावुक बने। वरिपरि रहेका खेलाडीका आँखामा पनि आँसु देखिन्थ्यो ।

‘अर्जेन्टिनी भएर जन्मिन पाएकोमा म भगवानप्रति कृतज्ञ छु,’ मेसीले भने। उनले अर्जेन्टिनाको घरेलु मैदानमा खेल्न पाएको क्षणलाई जीवनभर सम्झिरहने बताए । ‘म यहाँ खेल्न धेरै सम्झनेछु । म तपाईंहरू सबैलाई माया गर्छु र अर्जेन्टिनी भएकोमा गर्व गर्छु ।’ मेसीले राष्ट्रिय टोलीसँगको यात्राबाट आफू सन्तुष्ट रहेको बताए ।

‘म कृतज्ञ, गर्विलो र शान्त मन लिएर जाँदैछु । सबै कुराका लागि धन्यवाद।’ उनका लागि त्यो बिदाइ केवल आफ्नो करिअरको अन्त्य थिएन । उनले आफूभन्दा अघि अर्जेन्टिनाको जर्सी लगाएर संघर्ष गरेका खेलाडीहरूलाई पनि सम्झिए ।
‘यो यात्रा केवल २०२२ को विश्वकपको बारेमा थिएन । हामी विश्व च्याम्पियन बन्नुअघि नै धेरै साथीहरूले यो जर्सीका लागि मसँगै संघर्ष गरेका थिए,’ उनले भने ।

मेसीले दुई दशकसम्म अर्जेन्टिनाको जर्सीका लागि आफूले कहिल्यै हार नमान्दै संघर्ष गरेको स्मरण गरे ।
‘मैले यो जर्सीका लागि कहिल्यै हार मानेनँ। सधैँ लडेँ, प्रयास गरेँ र आफ्नो उत्कृष्ट दिएँ। २० वर्षसम्म मैले अर्जेन्टिनाका लागि आफ्नो उत्कृष्ट दिएँ। अब यो जर्सीलाई धन्यवाद दिनुबाहेक मसँग केही बाँकी छैन ।’ अन्तिम खेलपछि उनलाई बिदाइ गर्ने क्रममा विश्व फुटबलका थुप्रै परिचित अनुहार पनि जोडिए ।

बार्सिलोना र पीएसजीमा मेसीसँगै खेलेका नेयमारले उनलाई धन्यवाद दिँदै अर्जेन्टिनाले मात्र नभई विश्वले नै उनले फुटबलका लागि गरेको योगदान सम्झिरहने बताए । अर्जेन्टिनाका निकट साथी रोड्रिगो डे पाउलले मेसीले आफूलाई राम्रो फुटबलर मात्र नभई राम्रो मानिस, पिता र साथी बन्नसमेत प्रेरित गरेको बताए ।

पूर्व सहकर्मी एन्जेल डी मारियाले पनि मेसीले अर्जेन्टिनाका लागि आफूले दिन सक्ने सबै दिएको भन्दै उनलाई खुसी र सन्तुष्ट अवस्थामा देख्न पाउनु नै सबैका लागि खुसीको विषय भएको बताए । सन् २००५ मा अर्जेन्टिनाका लागि डेब्यु गर्दा १८ वर्षीय मेसीले हंगेरीविरुद्धको पहिलो खेलमै रातो कार्ड पाएका थिए। त्यहाँबाट सुरु भएको यात्रा २१ वर्षपछि २०८ खेल, १२६ गोल र विश्वकप तथा दुई कोपा अमेरिका उपाधिसहित टुंगिएको छ ।

कुनै समय राष्ट्रिय टोलीमा सफलता नदिलाएको भन्दै आलोचना खेपेका त्यही मेसी अन्ततः अर्जेन्टिनाको सबैभन्दा ठूलो फुटबल नायक बने । उनको बिदाइसँगै अब अर्जेन्टिनाको १० नम्बर जर्सी कसले लगाउने भन्ने प्रश्न पनि उठेको छ । तर त्यसको उत्तरभन्दा ठूलो प्रश्न यो हो—मेसीपछि अर्जेन्टिनाले त्यही जादु फेरि कहिले देख्नेछ ?
अहिले त्यसको उत्तर कसैसँग छैन ।

मेसी राष्ट्रिय टोलीबाट बाहिरिए पनि उनको फुटबल यात्रा भने सकिएको छैन । अमेरिकी मेजर लिग सकर क्लब इन्टर मियामीसँग सन् २०२८ को सिजनसम्मको सम्झौता रहेकाले उनी क्लब फुटबलमा सक्रिय रहनेछन् । तर अर्जेन्टिनाको जर्सीमा उनको अन्तिम रात अब इतिहास बनिसकेको छ । मोनुमेन्टलको त्यो रात, १० नम्बरको जर्सी, हजारौँ समर्थकको ताली, आँखामा आँसु र अन्तिमपटक गुञ्जिएको एउटा शब्द—‘ग्रासियास, मेसी । ’ अर्जेन्टिनाले आफ्नो नायकलाई बिदाइ गरेको छ । तर मेसीको कथा भने अर्जेन्टिनाको फुटबल इतिहासमा अब कहिल्यै अन्त्य नहुने अध्याय बनेको छ ।

प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।