काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित भएका छन् । पार्टीको १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा थापाले प्रतिस्पर्धी श्यामकृष्ण खड्गीलाई फराकिलो मतान्तरले पराजित गर्दै सभापति पदमा निर्वाचित भएका हुन् ।
निर्वाचनमा थापाले ६ हजार ५८४ मत प्राप्त गर्दा खड्गीले ३७५ मत पाए । कुल ७ हजार १३ मत खसेकोमा ५४ मत बदर भएको थियो । कुल खसेको मतमध्ये थापाले ९३.८८ प्रतिशत र खड्गीले ५.३५ प्रतिशत मत प्राप्त गरेका छन् । बदर मतको हिस्सा ०.७७ प्रतिशत छ । थापाले खड्गीभन्दा ६ हजार २०९ मत बढी प्राप्त गरेका हुन् । थापाको यो जितलाई नेपाली कांग्रेसभित्र लामो समयदेखि चल्दै आएको नेतृत्व परिवर्तन, पुस्तान्तरण र पार्टी रूपान्तरणको बहसले संस्थागत मान्यता पाएको घटनाका रूपमा हेरिएको छ । विद्यार्थी राजनीतिबाट कांग्रेसको केन्द्रीय नेतृत्वसम्म आइपुगेका थापाले पार्टीको पुरानो नेतृत्वलाई चुनौती दिँदै नेतृत्व परिवर्तनको अभियान अघि बढाएका थिए ।
विद्यार्थी राजनीतिदेखि पार्टीको सर्वोच्च नेतृत्वसम्म
२०३३ साउन ४ गते काठमाडौँमा जन्मिएका थापा किशोरावस्थादेखि नै राजनीतिप्रति आकर्षित थिए । २०४६–४७ को जनआन्दोलनका बेला प्रजातन्त्र पुनःस्थापनाका लागि भएको आन्दोलनले उनको राजनीतिक चेतना निर्माणमा महत्त्वपूर्ण भूमिका खेलेको थियो । विद्यालय तहदेखि नै वक्तृत्वकला र वादविवादमा सक्रिय उनी उच्च शिक्षा अध्ययनका क्रममा नेपाल विद्यार्थी संघ (नेविसंघ) मा आबद्ध भए । त्रिचन्द्र क्याम्पसमा अध्ययन गर्दा उनी विद्यार्थी राजनीतिमा सक्रिय भए । २०५१ सालमा स्ववियु सदस्य बनेका थापा सचिव हुँदै २०५५ सालमा स्ववियु सभापतिमा निर्वाचित भए । त्यसपछि नेविसंघको केन्द्रीय राजनीतिमा प्रवेश गरेका उनी २०५९ सालमा संगठनको महामन्त्री बने ।
तत्कालीन राजा ज्ञानेन्द्रले २०५९ सालमा शासनसत्ता आफ्नो हातमा लिएपछि थापाले राजतन्त्रविरुद्ध गणतन्त्रको पक्षमा आवाज उठाए । त्यतिबेला नेपाली कांग्रेसको आधिकारिक राजनीतिक धार संवैधानिक राजतन्त्रको पक्षमा थियो । पार्टीको स्थापित मान्यताभन्दा अघि बढेर गणतन्त्रको पक्षमा उभिएका थापाको कदमलाई जोखिमपूर्ण राजनीतिक विद्रोहका रूपमा लिइएको थियो । राजतन्त्रविरोधी आन्दोलनका क्रममा उनी पक्राउ परे र हिरासतमा राखिए । उनको रिहाइका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा आवाज उठेको थियो । तत्कालीन राजनीतिक व्यवस्थाविरुद्ध निर्भीक रूपमा बोल्ने युवा नेताका रूपमा उनको पहिचान स्थापित हुँदै गयो ।
कांग्रेसभित्र गणतन्त्रको बहस बलियो बन्दै जाँदा थापालगायत युवा नेताहरूको दबाबले पार्टीको राजनीतिक दिशा परिवर्तनमा पनि भूमिका खेल्यो । संवैधानिक राजतन्त्रको नीतिबाट गणतन्त्रको बाटोमा अघि बढ्ने कांग्रेसको निर्णयमा थापाको राजनीतिक अडानलाई महत्त्वपूर्ण पृष्ठभूमिका रूपमा लिने गरिन्छ । २०६४ सालको संविधानसभा निर्वाचनमा उनी प्रत्यक्षतर्फ उम्मेदवार बन्न पाएनन् । तर समानुपातिक प्रणालीबाट संविधानसभा सदस्य बनेपछि उनको संसदीय यात्रा सुरु भयो । २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर ४ बाट प्रत्यक्ष निर्वाचित भएपछि उनी राष्ट्रिय राजनीतिमा थप स्थापित भए । त्यसपछि २०७४ र २०७९ सालका प्रतिनिधिसभा निर्वाचनमा पनि सोही क्षेत्रबाट निर्वाचित हुँदै उनले लगातार तीनपटक प्रत्यक्ष निर्वाचन जिते ।
२०७३ सालमा स्वास्थ्य तथा जनसंख्यामन्त्री बनेका थापाले स्वास्थ्य बिमा, सरकारी अस्पतालमा औषधि उपलब्धता र स्वास्थ्य सेवामा सर्वसाधारणको पहुँच विस्तारलगायत विषयलाई प्राथमिकता दिएका थिए । मन्त्रीका रूपमा उनको कार्यकाल छोटो भए पनि नीतिगत सुधारका विषयमा उनले देखाएको सक्रियताले उनलाई पार्टी राजनीतिबाहिर पनि चिनायो । नेपाली कांग्रेसको १२औँ महाधिवेशनबाट केन्द्रीय सदस्य बनेका थापा १४औँ महाधिवेशनमा महामन्त्री निर्वाचित भए । पार्टीको संगठनात्मक सुधार, नेतृत्वमा पुस्तान्तरण र कांग्रेसलाई समयानुकूल बनाउने विषयमा उनले निरन्तर आवाज उठाउँदै आएका थिए । २०७९ सालको संसदीय दलको नेताको निर्वाचनमा तत्कालीन सभापति शेरबहादुर देउवासँग प्रतिस्पर्धा गरे पनि उनी सफल हुन सकेनन् । त्यसपछि पनि उनले पार्टीको नेतृत्व परिवर्तनको प्रयासलाई निरन्तरता दिए ।
विद्रोहबाट नेतृत्व परिवर्तनसम्म
कांग्रेसभित्र नेतृत्व परिवर्तनको बहसले जेनजी आन्दोलनपछि थप गति लियो । भ्रष्टाचार, कुशासन र पुराना राजनीतिक दलप्रतिको असन्तुष्टिले देशको राजनीतिमा नयाँ बहस सिर्जना गरेको अवस्थामा थापा र महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको नेतृत्व तथा संरचनामा परिवर्तन आवश्यक रहेको धारणा अघि सारे । तत्कालीन सभापति देउवा नेतृत्वको समूहसँग मतभेद बढ्दै गएपछि विशेष महाधिवेशनको माग उठ्यो । नेतृत्व परिवर्तनको पक्षमा रहेका थापा र शर्माले विशेष महाधिवेशनको प्रक्रियालाई अघि बढाउने अडान लिए । पार्टीभित्र सहमति जुट्न नसकेपछि २०८२ पुसमा विशेष महाधिवेशन आयोजना भयो, जहाँ थापा सभापति चयन भए ।
विशेष महाधिवेशनबाट भएको नेतृत्व चयनलाई देउवा पक्षले चुनौती दिँदै निर्वाचन आयोग र अदालतसम्म पुर्याएको थियो । त्यस प्रक्रियापछि पनि पार्टीभित्रको विवाद पूर्ण रूपमा समाधान हुन सकेको थिएन । यद्यपि थापा नेतृत्वको समूहले पार्टीको नियमित महाधिवेशनको प्रक्रिया अघि बढायो ।
१५औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित भएपछि थापाको नेतृत्वले विशेष महाधिवेशनबाट सुरु भएको परिवर्तनको प्रक्रियालाई नियमित महाधिवेशनमार्फत थप वैधानिकता र राजनीतिक समर्थन प्राप्त गरेको छ । थापाको राजनीतिक यात्रालाई केवल पद प्राप्तिको संघर्षका रूपमा मात्र बुझ्न सकिँदैन । पार्टीको स्थापित नीतिविरुद्ध गणतन्त्रको पक्षमा उभिनेदेखि नेतृत्व परिवर्तनका लागि आफ्नै दलभित्र संघर्ष गर्नेसम्मका घटनाले उनको राजनीतिक पहिचान निर्माण गरेका छन् । यद्यपि नेतृत्वमा पुगेपछि पार्टीभित्रको गुटगत विभाजन अन्त्य गर्ने, असन्तुष्ट पक्षलाई समेट्ने, संगठनलाई बलियो बनाउने र जनतामा घटेको राजनीतिक विश्वास पुनःस्थापित गर्ने चुनौती उनका सामु छन् । सभापतिको निर्वाचनमा प्राप्त फराकिलो मतले थापालाई पार्टी सञ्चालनका लागि बलियो राजनीतिक आधार दिएको छ । तर मतपरिणामलाई संगठनात्मक एकता, नीतिगत सुधार र जनअपेक्षा पूरा गर्ने परिणाममा बदल्नु नै उनको नेतृत्वको वास्तविक परीक्षा हुनेछ ।
मेरो बचाउमा कांग्रेस बोल्नुपर्दैन : गगन थापा
काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले आफू वा पार्टीका कुनै सदस्यबाट गलत तथा गैरकानुनी काम भए त्यसको जिम्मेवारी सम्बन्धित व्यक्तिले नै लिनुपर्ने बताएका छन् । व्यक्तिगत, पारिवारिक वा आर्थिक जीवनमा अनियमितता भेटिए त्यसको बचाउमा पार्टीका कुनै पनि नेता तथा कार्यकर्ता उभिन नपर्ने उनको स्पष्ट भनाइ छ ।नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित भएपछि शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा कार्यकर्ता तथा समर्थकलाई सम्बोधन गर्दै थापाले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता र कानुनको शासनप्रति पार्टी प्रतिबद्ध रहेको बताए । ‘मेरो व्यक्तिगत जीवन, कांग्रेससँग सम्बन्ध नभएको मेरो पारिवारिक कुरामा, मेरो आर्थिक जीवनमा कतै मबाट अनियमितता हुन्छ भने मेरो बचाउमा एक जना साथीले पनि बोल्ने छैन,’ उनले भने, ‘त्यस्तो कांग्रेस हामीले बनाउने हो ।’
थापाले कुनै व्यक्तिले गलत वा गैरकानुनी काम गरे त्यसको भार पार्टीले नबोक्ने स्पष्ट पारे । व्यक्तिमाथि लागेको आरोप वा दाग मेटाउने जिम्मेवारी पनि सम्बन्धित व्यक्तिकै हुने उनको भनाइ थियो । ‘कुनै पनि गलत काम गर्छ, गैरकानुनी काम गर्छ भने त्यसको भारी त्यो व्यक्ति आफैँले बोक्नुपर्छ । पार्टीले त्यो भारी बोक्दैन,’ उनले भने । सभापति थापाले पार्टीको महाधिवेशनमा प्रतिस्पर्धा गरेका एक सदस्य ठगीको मुद्दामा पक्राउ परेको समाचार आफूले पढेको उल्लेख गर्दै गलत काम गर्ने व्यक्तिको बचाउमा पार्टी नलाग्ने बताए । विगतमा कतिपय विषयमा पार्टीले अनावश्यक भार बोक्नुपरेको भए पनि अब त्यस्तो प्रवृत्तिको अन्त्य गर्ने उनको भनाइ थियो । ‘हिजो कतिपय कुराहरूको भारी बोक्नुपर्ने बाध्यता थियो होला । तर यो अधिवेशनसँगै हामी ती तमाम भारी बिसाएर नयाँ संकल्पका साथ अघि बढ्ने गरी आएका छौँ,’ उनले भने ।
थापाले महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुँदैमा मात्रै पार्टी रूपान्तरण नहुने बताए । पार्टीको काम गर्ने शैलीमा परिवर्तन गर्दै जिम्मेवारी, जवाफदेहिता र नैतिक आचरणलाई प्राथमिकता दिनुपर्नेमा उनले जोड दिए । आफूले प्राप्त गरेको जिम्मेवारीलाई अधिकारका रूपमा नभई नागरिकको विश्वास जित्ने अवसरका रूपमा लिएको उनले बताए । ‘तपाईंहरूले विश्वास गरेर पार्टीको जिम्मेवारी सुम्पिनुभएको छ। यो परिवर्तनका लागि गरिएको विश्वास हो । यो विश्वासलाई अधिकार सम्झन्नँ, जिम्मेवारी सम्झन्छु,’ उनले भने । उनका अनुसार नयाँ कांग्रेसले तत्कालको राजनीतिक लाभ, व्यक्तिगत स्वार्थ र निजी फाइदाका लागि सिद्धान्त तथा नैतिकतासँग सम्झौता गर्ने छैन । पार्टीभित्र हुने गलत काम र व्यक्तिगत आचरणका कमजोरीमा आँखा चिम्लेर समर्थन गर्ने प्रवृत्तिको अन्त्य गरिने उनले बताए ।
थापाले कांग्रेसका मूल मूल्य, स्वतन्त्रता र समानताका लागि संघर्ष, राष्ट्रप्रतिको प्रेम, राष्ट्रियताप्रतिको समर्पण तथा सामाजिक न्यायप्रतिको प्रतिबद्धता भने यथावत् रहने स्पष्ट पारे ।
सभापति थापाले नेपाली कांग्रेस र नागरिकबीचको विश्वास कमजोर भएको उल्लेख गर्दै त्यसलाई पुनःस्थापित गर्नु नयाँ नेतृत्वको मुख्य चुनौती रहेको बताए । किसान, उद्योगी, व्यवसायी तथा वैदेशिक रोजगारीमा रहेका नेपालीले समेत भरोसा गर्न सक्ने पार्टी निर्माण गर्ने उनको प्रतिबद्धता थियो । ‘नेपाली कांग्रेसलाई माया गर्ने लाखौँ शुभेच्छुकलाई फेरि कांग्रेसमा फर्कन र घरघरमा कांग्रेसलाई स्वागत गर्ने वातावरण बनाउनुपर्छ। नयाँ इतिहास बनाउने तागत लिएर आएका छौँ,’ उनले भने, ‘बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ ।’
महाधिवेशनमा भएको प्रतिस्पर्धालाई जित र हारका रूपमा मात्र लिन नहुने बताउँदै थापाले अब सबै नेता तथा कार्यकर्ता एकजुट भएर नागरिकको विश्वास जित्न लाग्नुपर्ने धारणा राखे ।
सभापतिमा प्रतिस्पर्धा गरेका श्यामकृष्ण खड्गीलाई धन्यवाद दिँदै उनले लोकतान्त्रिक प्रतिस्पर्धाले पार्टीलाई जीवन्त बनाउने बताए । प्रतिस्पर्धामा सहभागी सबैलाई साथमा लिएर अघि बढ्ने उनको भनाइ थियो । महाधिवेशनबाट पारित प्रतिवेदनहरूको अध्ययनका लागि एक साताको समय दिइएको जानकारी दिँदै थापाले नेता तथा कार्यकर्ताबाट सुझाव प्राप्त भएपछि पहिलो केन्द्रीय कार्यसमिति बैठकबाट कार्ययोजना तयार गरिने बताए ।
कांग्रेसलाई व्यक्तिगत स्वार्थ र सीमित समूहको लाभभन्दा माथि उठाएर सामाजिक लोकतन्त्रका मान्यताअनुसार अघि बढाउने उनको लक्ष्य छ । पार्टीको नेतृत्व परिवर्तनलाई व्यवहारमा देखिने सुधारसँग जोड्नुपर्नेमा जोड दिँदै थापाले काम गर्ने शैली परिवर्तन गरेर नागरिकको विश्वास पुनःस्थापित गर्ने प्रतिबद्धता व्यक्त गरे ।कांग्रेसलाई व्यक्तिगत स्वार्थ र सीमित समूहको लाभभन्दा माथि उठाएर सामाजिक लोकतन्त्रका मान्यताअनुसार अघि बढाउने उनको लक्ष्य छ । पार्टीको नेतृत्व परिवर्तनलाई व्यवहारमा देखिने सुधारसँग जोड्नुपर्नेमा जोड दिँदै थापाले काम गर्ने शैली परिवर्तन गरेर नागरिकको विश्वास पुनःस्थापित गर्ने प्रतिबद्धता व्यक्त गरे ।
प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।



































