काठमाडौँ । गोरखाको बुढीगण्डकी नदीमा आइतबार बिहान आएको आकस्मिक बाढीको उचाइ माथिल्लो क्षेत्रमा १५ देखि २० मिटरसम्म पुगेको हुन सक्ने विज्ञहरूले प्रारम्भिक अनुमान गरेका छन् ।
नदीको सहायक खोलामा पहिरो खसेर पानी थुनिएको र त्यसबाट बनेको अवरोध एक्कासि फुटेपछि ठूलो बाढी आएको हुन सक्ने उनीहरूको आकलन छ । यद्यपि, बाढीको वास्तविक उत्पत्ति, पानीको अधिकतम उचाइ र बहावको गति भने विस्तृत अध्ययनपछि मात्रै यकिन हुने छ । जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रका बाढी पूर्वानुमान शाखा प्रमुख तथा जलविद् विनोद पराजुलीका अनुसार चुमनुब्री गाउँपालिका–६, तुम्जे क्षेत्रको सहायक नदीबाट बाढी सुरु भएको प्रारम्भिक अध्ययनले देखाएको छ । माथिल्लो क्षेत्रमा नदीको बहाव अवरुद्ध भएपछि थुनिएको पानी एकैपटक बाहिर निस्कँदा बाढीले विनाशकारी रूप लिएको हुन सक्ने उनको भनाइ छ ।
विज्ञहरूले यस घटनालाई प्रारम्भिक रूपमा ‘ल्यान्डस्लाइड ड्याम आउटबर्स्ट फ्लड’ अर्थात् पहिरोले नदी थुनेर बनेको अवरोध फुट्दा उत्पन्न हुने बाढीका रूपमा वर्गीकरण गरेका छन् । यस्तो बाढीमा नदीको सामान्य बहाव केही समयका लागि रोकिन्छ । त्यसपछि थुनिएको पानीको चाप बढ्दै जाँदा अवरोध भत्किन्छ र ठूलो परिमाणमा पानी, ढुंगा, माटो तथा लेदो एकैपटक तलतिर बग्छ ।
पराजुलीका अनुसार बुढीगण्डकीमा आएको बाढीको प्रकृति हेर्दा यही प्रक्रिया दोहोरिएको हुन सक्ने देखिन्छ । तर, घटनास्थलको विस्तृत अध्ययन, भूउपग्रहबाट प्राप्त तस्बिर र नदीको बहावसम्बन्धी तथ्यांक विश्लेषण नगरी यसको कारणबारे अन्तिम निष्कर्ष निकाल्न सकिने अवस्था छैन ।
‘अहिलेसम्म प्राप्त प्रारम्भिक तथ्यका आधारमा यसलाई ल्यान्डस्लाइड ड्याम आउटबर्स्ट फ्लड भनेका छौँ । बुढीगण्डकीको सहायक नदी पहिरोका कारण थुनिएको र त्यसपछि अवरोध फुटेर एकैपटक बाढी आएको हुन सक्ने देखिन्छ,’ पराजुलीले बताएका छन् ।
उनका अनुसार आकस्मिक बाढी विभिन्न कारणले आउन सक्छ । वर्षाका कारण नदीमा पानीको बहाव बढ्दा, हिमताल विस्फोट हुँदा वा हिमपहिरोका कारण पानीको ठूलो परिमाण एकैपटक नदीमा मिसिँदा पनि यस्तो बाढी आउन सक्छ । बुढीगण्डकीको हकमा भने अहिलेसम्मको प्रारम्भिक अध्ययनले पहिरोबाट नदी थुनिएको सम्भावनालाई बढी संकेत गरेको छ ।
बाढीले गोरखाको आरुघाट क्षेत्रमा ठूलो भौतिक क्षति पुर्याएको छ । नदीको जलसतह मापन गर्न स्थापना गरिएको आरुघाटस्थित जलमापन केन्द्र बाढीले बगाएको छ । त्यहाँ रहेको करिब १० मिटर अग्लो मोटरेबल पुलसमेत बगेको छ । यसबाहेक नदीमा आएको ढुंगा, माटो र लेदोसहितको तीव्र बहावले अन्य छवटा साना तथा ठूला पुलमा पनि क्षति पुर्याएको छ । बाढीले जलमापन केन्द्र नै बगाएपछि घटनाको वास्तविक प्रकृति र नदीमा पुगेको अधिकतम जलसतह यकिन गर्न थप चुनौती देखिएको छ । जलसतह मापन गर्ने उपकरण नष्ट हुँदा बाढीको सबैभन्दा उच्च बिन्दु, पानी बढेको दर र बहावको अधिकतम अवस्था प्रत्यक्ष तथ्यांकबाट पुष्टि गर्न कठिन भएको हो ।
आरुघाटमा बाढी आउनुअघि नदीको जलसतह करिब २ दशमलव २५ मिटर थियो । बाढी आएपछि जलसतह आठ मिटरभन्दा माथि पुगेको अनुमान गरिएको छ । पछिल्लो सात वर्षमा आरुघाटमा मापन गरिएको उच्च जलसतह करिब साढे सात मिटर थियो । यसपटकको बाढीले विगतका वर्षमा अभिलेख गरिएको उच्च जलसतहसमेत पार गरेको देखिएको विज्ञहरूले बताएका छन् ।
पराजुलीका अनुसार आरुघाटमा बाढीको प्रभाव हेर्दा नदीको जलसतह १० मिटरभन्दा माथि पुगेको अनुमान गर्न सकिन्छ । त्यसको आधारमा बाढीको स्रोत रहेको माथिल्लो क्षेत्रमा पानीको उचाइ अझ बढी भएको हुन सक्ने उनको भनाइ छ ।
‘यो निकै ठूलो बाढी हो । माथिल्लो क्षेत्रमा १५ देखि २० मिटरसम्म उचाइ पुगेको हुन सक्छ,’ पराजुलीले बताएका छन् । उनका अनुसार नदीको माथिल्लो भागमा पानीको बहाव र उचाइ बढी भए पनि तलतिर आइपुग्दा त्यसको प्रभाव क्रमशः घट्दै जान सक्छ । तर, माथिल्लो क्षेत्रमा बाढीको उचाइ २० मिटरसम्म पुगेको भन्ने अनुमान प्रत्यक्ष मापनबाट पुष्टि भएको छैन । बाढीको वास्तविक उचाइ निर्धारण गर्न पानीको स्रोतस्थलमा कति परिमाणमा पानी जम्मा भएको थियो, नदी कति समयसम्म थुनिएको थियो र अवरोध फुटेपछि पानी कुन गतिमा बाहिर निस्किएको थियो भन्ने विषय महत्वपूर्ण हुन्छन् । यी सबै पक्षको अध्ययन भइरहेको विज्ञहरूले बताएका छन् ।
बाढी सुरु भएको समय र आरुघाटसम्म आइपुग्न लागेको अवधिलाई आधार बनाएर यसको बहावको गति पनि अध्ययन भइरहेको छ । प्रारम्भिक विवरणअनुसार बिहान करिब ४ बजेतिर माथिल्लो क्षेत्रमा बाढीको प्रक्रिया सुरु भएको र मुख्य बाढी करिब ८ बजेतिर आरुघाट पुगेको देखिएको छ । यस आधारमा बाढीको यात्रा र बहावको प्रकृति विश्लेषण गर्ने काम भइरहेको छ ।
यद्यपि, बुढीगण्डकीको बाढी भदौ १० गते रसुवा र नुवाकोट क्षेत्रमा आएको विनाशकारी भोटेकोसी बाढीजस्तो अत्यन्त तीव्र गतिमा आएको नदेखिएको पराजुलीको भनाइ छ । त्यसो भन्दैमा यसको प्रभाव सामान्य भने नरहेको उनले स्पष्ट पारेका छन् । नियमित रूपमा आउने बाढीभन्दा यसको तीव्रता बढी देखिएको र नदी आसपासका संरचनामा ठूलो क्षति पुगेको छ । विज्ञहरूले बुढीगण्डकीको घटनालाई गत भदौमा भोटेकोसी क्षेत्रमा आएको बाढीसँग तुलना गरेर पनि अध्ययन गरिरहेका छन् । दुवै घटनामा नदीको सामान्य बहावभन्दा असाधारण रूपमा ठूलो परिमाणमा पानी एकैपटक तलतिर आएको देखिए पनि तिनको उत्पत्ति एउटै कारणबाट भएको हो भन्ने निष्कर्षमा पुगिसकिएको छैन ।
भोटेकोसी बाढीका सम्बन्धमा विज्ञहरूले लाङटाङ लिरुङ क्षेत्रबाट हिमपहिरो खसेर पानी थुनिएको र त्यसबाट बनेको ताल विस्फोट भएपछि विनाशकारी बाढी आएको बताएका थिए । उक्त बाढीको गति प्रतिघण्टा १८८ किलोमिटरसम्म पुगेको अनुमान गरिएको थियो । तीव्र गतिमा आएको बाढीले रसुवा र नुवाकोटका नदीकिनारका बस्ती तथा पूर्वाधारमा व्यापक क्षति पुर्याएको थियो ।
तर, बुढीगण्डकीको बाढी हिमताल विस्फोट वा हिमपहिरोका कारण नै आएको हो भन्ने प्रमाण अहिलेसम्म भेटिएको छैन । प्रारम्भिक रूपमा पहिरोले सहायक नदी थुनेको हुन सक्ने देखिए पनि त्यो सुक्खा पहिरो थियो वा हिमाली क्षेत्रमा भएको अन्य कुनै घटना यसको कारण बन्यो भन्ने विषय अनुसन्धानकै क्रममा छ ।
पराजुलीका अनुसार बाढीको सम्भावित स्रोत रहेको क्षेत्रमा पछिल्लो २४ घण्टामा छिटपुट वर्षाबाहेक उल्लेख्य वर्षा भएको विवरण छैन । त्यसैले वर्षाकै कारण नदीमा एकाएक ठूलो बाढी आएको सम्भावना कम देखिएको छ । प्रारम्भिक रूपमा हेर्दा उक्त क्षेत्रमा सुक्खा पहिरो गएको हुन सक्ने संकेत देखिएको उनले बताएका छन् । यद्यपि, हिमपहिरोको सम्भावनालाई पूर्ण रूपमा अस्वीकार गर्न सकिने अवस्था नरहेको उनको भनाइ छ ।
बाढीको कारण पत्ता लगाउन विज्ञहरूले माथिल्लो हिमाली क्षेत्रको भौगोलिक अवस्था, भूउपग्रहबाट प्राप्त तस्बिर, नदीको जलसतहमा आएको परिवर्तन र घटनाको समयक्रमलाई आधार बनाएका छन् । नदी थुनिएको भनिएको सम्भावित स्थानमा पहिरो गएको अवस्था, अवरोधको आकार र त्यसबाट पानी बाहिर निस्कँदाको प्रकृतिबारे पनि थप अध्ययन गरिनेछ । यस घटनाले बाढी पूर्वानुमान र जोखिम न्यूनीकरणका लागि नदीका माथिल्लो तथा दुर्गम क्षेत्रमा निगरानी प्रणाली विस्तार गर्नुपर्ने आवश्यकता पनि देखाएको छ । जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले विभिन्न नदीमा जलसतह मापन गर्ने स्टेसन स्थापना गरी तिनबाट प्राप्त तथ्यांकका आधारमा बाढीसम्बन्धी सूचना र सतर्कता जारी गर्दै आएको छ । नदीको जलसतह सतर्कता तह पार गर्न लाग्दा सम्बन्धित क्षेत्रलाई सचेत गराउने उद्देश्यले यस्ता उपकरण प्रयोग गरिन्छन् ।
तर, बुढीगण्डकी नदीको माथिल्लो तथा दुर्गम भेगका धेरै स्थानमा यस्ता मापन केन्द्र छैनन् । त्यसैले नदीको स्रोत क्षेत्रमा अचानक भएको परिवर्तनबारे तत्काल जानकारी प्राप्त गर्न कठिन हुने गरेको छ । आरुघाटमा रहेको जलमापन केन्द्रसमेत बाढीले बगाएपछि त्यहाँबाट नियमित रूपमा तथ्यांक प्राप्त गर्ने प्रणालीमा पनि असर परेको छ । पहाडी तथा हिमाली क्षेत्रमा नदी थुनिने, पहिरो खस्ने वा पानीको बहाव अचानक परिवर्तन हुने घटनाले छोटो समयमै ठूलो क्षति पुर्याउन सक्छ ।
यस्ता घटनाको जोखिम पहिचान गर्न नदीका सहायक खोलासम्म निगरानी विस्तार गर्नु, सम्भावित जोखिमयुक्त क्षेत्रको नियमित अध्ययन गर्नु र स्थानीय स्तरमा पूर्वसूचना प्रणाली प्रभावकारी बनाउनु आवश्यक हुन्छ । बुढीगण्डकीमा आएको बाढीको उत्पत्ति र प्रकृतिबारे अन्तिम निष्कर्षमा पुग्न भने थप प्रमाण आवश्यक छ । विज्ञहरूले अहिले सम्भावित पहिरोस्थल, नदी थुनिएको भनिएको क्षेत्र, भूउपग्रह तस्बिर र उपलब्ध जलसतहसम्बन्धी विवरणको अध्ययन गरिरहेका छन् । अनुसन्धानबाट बाढीको वास्तविक कारण, अधिकतम उचाइ र बहावको तीव्रता स्पष्ट भएपछि मात्रै घटनाको पूर्ण वैज्ञानिक चित्र प्राप्त हुने अपेक्षा गरिएको छ ।
प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।



































