गोरखा । काखमा १६ महिनाको बच्चा छ । शरीरमा एकसरो लुगा छ । न ओत लाग्ने घर छ, न भोक मेटाउने अन्न । जीवनभर दुःख गरेर जोडेको सम्पत्ति बूढीगण्डकीको बाढीले बगाएपछि सल्लेरीकी कमला गुरुङको अगाडि अहिले सबैभन्दा ठूलो प्रश्न छ– अब कहाँ बस्ने, के खाने ? सोमबार नेपाली सेनाको हेलिकप्टरबाट उद्धार भएर आरुघाट आइपुग्दा कमलाको साथमा न घरबाट निकाल्न भ्याएको सामान थियो, न भविष्यको कुनै निश्चित योजना ।
काखको बच्चा र शरीरमा लगाएको कपडाबाहेक उनीसँग केही बाँकी रहेन । बाढीले घरसँगै उनका सपना, वर्षौको मिहिनेत र सुरक्षित जीवनको आधारसमेत बगाएर लग्यो । ‘लुगाफाटादेखि सबै बाढीले बगायो,’ कमलाले भनिन्, ‘अब के खाने, कहाँ बस्ने टुंगो छैन ।’ दसैँको मुखमा घरपरिवारसँग बसेर चाडबाड मनाउने, मीठोमसिनो खाने र केही दिन भए पनि दुःख बिर्सने आशा बोकेका कमलाजस्ता परिवारका लागि अहिले चाडबाडको खुसीभन्दा बाँच्ने चिन्ता ठूलो भएको छ । बाढीले घरबारविहीन बनाएपछि उनीहरूका लागि सामान्य दैनिकीसमेत असामान्य बनेको छ । बस्ने ठाउँ छैन, खानेकुराको टुंगो छैन । भोलिको बिहान कसरी बिताउने भन्ने चिन्ताले उनीहरूलाई पिरोलिरहेको छ ।
सल्लेरीकै सुन्दर गुरुङको अवस्था पनि कमलाको भन्दा फरक छैन । बाढीबाट मुस्किलले ज्यान जोगाएका सुन्दरले आफ्नो घर मात्र गुमाएनन्, घरभित्र भएका सरसामान र वर्षौको कमाइसमेत गुमाए । अहिले उनीसँग शरीरमा लगाएको कपडाबाहेक आफ्नो भन्न सकिने केही बाँकी छैन । बाढी आएको समयमा सुन्दर निदाइरहेका थिए । एक्कासि ठूलो आवाज आएपछि उनी झस्किए । के भएको हो भन्ने बुझ्न नपाउँदै भागेर घरभन्दा माथिको सुरक्षित स्थानमा पुगे । केही समयअघिसम्म आफू बसेको घर आँखैअगाडि बाढीले बगाएर लग्यो । घरभित्र रहेका सामान निकाल्ने मौका नै पाएनन् । ‘घरभित्रको केही सामान निकाल्न पाइएन, यो लगाएको कपडा पनि अरूसँग मागेको हुँ,’ उनले सुनाए ।
आफूले दुःख गरेर बनाएको घर, वर्षौदेखि प्रयोग गर्दै आएका सामान र परिवारको जीवन धान्ने आधार एकैछिनमा बाढीले समाप्त पारिदिएपछि सुन्दरलाई अब गाउँमा बसेर के गर्ने भन्ने चिन्ताले सताउन थाल्यो । घर छैन, खाने अन्न छैन । तत्काल सडक खुल्ने सम्भावना पनि देखिँदैन । यस्तो अवस्थामा परिवारसहित गाउँमै बसेर जीवन गुजार्न सकिने उपाय उनले देखेनन् । त्यसैले उनी परिवार लिएर आरुघाट झरेका छन् । अब काम खोज्न काठमाडौं जाने उनको योजना छ ।
‘गाउँमा बसेर के गर्नु, केही नै रहेन,’ उनले भने, ‘तत्काल बाटो खुल्ने अवस्था पनि छैन । खानै समस्या हुने देखियो, त्यसैले गरिखाने ठाउँ खोज्न काठमाडौं जान लागेको हुँ ।’ सुन्दरको काठमाडौं जाने निर्णय रहरले जन्मिएको होइन । आफ्नो गाउँ, घर र थातथलो छाडेर अपरिचित ठाउँमा काम खोज्न जानुपर्ने बाध्यता बाढीले सिर्जना गरिदिएको हो । घरबार गुमाएका उनीजस्ता स्थानीयका लागि अहिले आफ्नै गाउँमा फर्किएर बस्ने अवस्था छैन । जीवन धान्नकै लागि उनीहरू विस्थापित हुनुपर्ने परिस्थितिमा पुगेका छन् ।
बूढीगण्डकीमा आएको बाढीले उत्तरी गोरखाका विभिन्न बस्तीमा यस्तै पीडा छाडेको छ । विशेषगरी सल्लेरी, पैंयु, बगर, जगत, माछीखोला, आरुघाटको शान्तिबजार र सोतीलगायत क्षेत्रका स्थानीय बढी प्रभावित भएका छन् । जिल्ला प्रशासन कार्यालयका अनुसार ती क्षेत्रमा १०० भन्दा बढी घर पूर्ण रूपमा क्षति भएका छन् । घर भत्किएका र बाढीले बगाएका परिवारमध्ये केही आफन्त तथा छिमेकीकहाँ आश्रय लिएर बसेका छन् । कतिपयले तत्कालका लागि सुरक्षित ठाउँमा पुगेर ज्यान जोगाएका छन् । तर, घरबार गुमेपछि उनीहरूका अगाडि अबको जीवन कसरी अघि बढाउने भन्ने गम्भीर चुनौती खडा भएको छ । घर पुनर्निर्माण गर्न आवश्यक पैसा छैन, दैनिक उपभोग्य वस्तु जुटाउने आधार पनि छैन । चाडबाडको समयमा उनीहरूको गाँस र बास दुवै खोसिएको छ ।
बाढीले भौतिक संरचना मात्र ध्वस्त पारेको छैन, स्थानीयको जीविकोपार्जनमा समेत गम्भीर असर पुर्याएको छ । घरमा भएका अन्नपात, लत्ताकपडा र दैनिक जीवनमा आवश्यक पर्ने सामान गुमाएका परिवारलाई तत्काल राहत आवश्यक छ । तर, राहतले केही दिनको आवश्यकता पूरा गरे पनि घरबार गुमाएका परिवारको दीर्घकालीन समस्या समाधान गर्न पुनर्स्थापनाको योजना अपरिहार्य देखिएको छ । स्थानीयले राहत वितरणसँगै घरबारविहीन परिवारको सुरक्षित बसोबास र पुनर्स्थापनालाई प्राथमिकता दिन सरकारसँग माग गरेका छन् । कमला र सुन्दरजस्ता परिवारका लागि अहिले सबैभन्दा ठूलो आवश्यकता भनेकै सुरक्षित आश्रय र दैनिक गुजारा चलाउने आधार हो ।
बाढीले उत्तरी गोरखाको जनजीवनमा अर्को गम्भीर समस्या पनि निम्त्याएको छ । विभिन्न स्थानमा रहेका पुल र पदमार्ग बगाएपछि उत्तरी गोरखाका बस्तीको सडक तथा पदमार्ग सम्पर्क टुटेको छ । यसले स्थानीयको आवतजावत मात्र रोकेको छैन, खाद्यान्न ढुवानी र राहत सामग्री पुर्याउनसमेत कठिनाइ सिर्जना गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार बाढीले दुईवटा पक्की मोटरेबल पुलसहित १० वटा पुल बगाएको छ । सोतीबाट मान्वु जोड्ने र आरुघाटबाट धादिङ जोड्ने पक्की मोटरेबल पुल बाढीले बगाएको प्रहरीको भनाइ छ । त्यस्तै, धार्चे गाउँपालिका–१ दोभानबाट उहिया जोड्ने बेलिब्रिज र विभिन्न स्थानका झोलुङ्गे पुलमा पनि क्षति पुगेको छ ।
डीएसपी राजकुमार श्रेष्ठका अनुसार चुमनुब्री गाउँपालिका–३ नाग्चेतबाट सिर्दिवास, माछीखोलाबाट केरौजा, दोभानबाट हुल्चुक र लोक्पाबाट गुमलुङ जाने झोलुङ्गे पुल बाढीले बगाएको छ । पैंयु र ठाडोभर्याङमा रहेका झोलुङ्गे पुलमा पनि क्षति पुगेको छ । चुमनुब्री गाउँपालिका–६ लोक्पाबाट गुमलुङ जाने क्यान्टिलिभर पुलसमेत क्षतिग्रस्त बनेको उनले जानकारी दिए । पुल र पदमार्गमा क्षति पुगेपछि उत्तरी गोरखाका विभिन्न बस्तीको सम्पर्क विच्छेद भएको छ । यसको प्रत्यक्ष असर स्थानीयको दैनिक जीवनमा परेको छ । बजारबाट सामान ल्याउन, बिरामीलाई उपचारका लागि लैजान र आवश्यक सामग्री ओसारपसार गर्न कठिन भएको छ । बाढीपछि विस्थापित भएका परिवारलाई राहत पुर्याउने कामसमेत प्रभावित बनेको छ ।
चुम उपत्यकामा पदयात्रा गर्न जाने पर्यटकका लागि पनि बाढीले समस्या निम्त्याएको छ । मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) ले चुम उपत्यकाको पदयात्रामा अस्थायी रूपमा रोक लगाएको छ । बाढीले क्यान्टिलिभर पुलसहित विभिन्न स्थानका पदमार्गमा क्षति पुर्याएकाले यात्रुहरूको सुरक्षालाई ध्यानमा राखेर यस्तो निर्णय गरिएको हो ।
चुमनुब्री–६ लोक्पास्थित सार्दीभिरमा रहेको क्यान्टिलिभर पुल बाढीले बगाएपछि छेकम्पार जाने पदमार्ग अवरुद्ध भएको छ । धार्चे गाउँपालिकाको माछाखोलादेखि चुमनुब्रीको जगतसम्मको बाटोका विभिन्न स्थानमा पदमार्ग क्षतिग्रस्त बनेको एमक्यापका सूचना अधिकारी भुवनराज ओझाले बताए । उनका अनुसार फिलिमदेखि लार्के पाससम्मको पदमार्ग भने खुला र सुरक्षित अवस्थामा छ । सामागाउँ जान चाहने पदयात्री हेलिकप्टरबाट सिधै फिलिमसम्म जान सक्ने उनले जानकारी दिए । तर, माछीखोलादेखि जगतसम्म र सल्लेरी भएर जाने पदमार्ग क्षतिग्रस्त भएकाले ती क्षेत्रबाट हुने आवतजावत सहज छैन ।
पदमार्ग अवरुद्ध हुँदा स्थानीयलाई पर्यटनसँग जोडिएको आर्थिक गतिविधिमा समेत असर पर्ने देखिएको छ । उत्तरी गोरखाका धेरै बस्तीमा दैनिक उपभोग्य वस्तु ढुवानीका लागि खच्चड प्रयोग गरिन्छ । सडक नपुगेका क्षेत्रमा खाद्यान्नलगायत सामग्री पुर्याउने मुख्य माध्यम नै खच्चड भएकाले पदमार्ग बिग्रनु स्थानीयका लागि थप संकट हो । चुम्चेतका शेराप गुरुङलाई यही कुराले चिन्तित बनाएको छ । बाढी र पहिरोले बाटो अवरुद्ध भएपछि माथिल्लो भेगमा खाद्यान्न पुर्याउन समस्या भएको छ । तलबाट खच्चडमा बोकेर ल्याइने खाद्यान्नको ढुवानी रोकिएपछि स्थानीयलाई भोकमरीको चिन्ता हुन थालेको छ ।
‘माथि खाद्यान्न छैन, खच्चडले तलबाट बोकेर ल्याउने हो,’ उनले भने, ‘बाटो बन्द भएकाले खाद्यान्न ल्याउन सकिएको छैन, भोकमरी लाग्ला भन्ने चिन्ता छ ।’ उनले क्षतिग्रस्त पदमार्ग मर्मत गरेर खच्चडबाट खाद्यान्न ढुवानी गर्ने व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेका छन् । उनका लागि बाटो खुल्नु भनेको आवतजावत सहज हुनु मात्र होइन, गाउँमा खाद्यान्न पुग्नु र स्थानीयको दैनिक जीवन सामान्य अवस्थामा फर्किनु पनि हो ।
बाढी र पहिरोका कारण पाँच जना अझै सम्पर्कविहीन छन् । उनीहरूको खोजी कार्य जारी रहेको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जानकारी दिए । बाढीमा फसेका स्थानीयको उद्धारसँगै प्रभावित क्षेत्रमा राहत वितरणको काम पनि भइरहेको उनले बताए । ‘हालसम्म करिब ४०० जनाको उद्धार गरिसक्यौं,’ मिश्रले भने, ‘उद्धारमा नेपाली सेनाका तीनवटा हेलिकप्टर प्रयोग भएको छ ।’
प्रभावित क्षेत्रमा त्रिपाल, खाद्यान्न, औषधि, लाइट, सोलार, जेनेरेटर र लत्ताकपडालगायत सामग्री हेलिकप्टरमार्फत पठाइएको प्रशासनले जनाएको छ । राहत वितरणलाई व्यवस्थित बनाउन एकद्वार प्रणाली अपनाइएको छ । उद्धार र राहत तत्कालका लागि आवश्यक भए पनि बाढी प्रभावितको समस्या त्यसमा मात्र सीमित छैन । घरबारविहीन परिवारलाई सुरक्षित स्थानमा राख्ने, खाद्यान्नको नियमित आपूर्ति सुनिश्चित गर्ने, अवरुद्ध पदमार्ग र पुल मर्मत गर्ने तथा क्षतिग्रस्त संरचनाको पुनर्निर्माण गर्ने काम उत्तिकै महत्त्वपूर्ण छन् । सम्पर्क विच्छेद भएका बस्तीमा नियमित आपूर्ति व्यवस्था मिलाउन नसकिए खाद्यान्न अभावको समस्या अझ गम्भीर बन्न सक्छ ।
सल्लेरीबाट काखमा १६ महिनाको बच्चा च्यापेर आरुघाट आइपुगेकी कमला गुरुङका लागि अहिले पनि सबैभन्दा ठूलो प्रश्न उही छ– अब कहाँ बस्ने र के खाने ? सुन्दर गुरुङका लागि पनि परिवार पाल्ने काम खोज्नुको विकल्प छैन । उनीहरूका जस्तै सयौँ प्रभावित परिवारको जीवन अहिले अनिश्चित बनेको छ । बूढीगण्डकीको बाढीले उनीहरूका घर र सम्पत्ति मात्र बगाएको छैन, सामान्य जीवनमा फर्किने बाटोसमेत अवरुद्ध गरिदिएको छ । कसैलाई तत्काल आश्रय चाहिएको छ, कसैलाई खाद्यान्न, त कसैलाई परिवार पाल्न काम । उनीहरूका लागि राहतको अर्थ केही थान त्रिपाल र केही बोरा चामलमा मात्र सीमित छैन । आफ्नै गाउँमा फर्किएर सुरक्षित रूपमा बाँच्न सक्ने अवस्था निर्माण हुनु र गुमेको जीवनलाई फेरि अघि बढाउने आधार पाउनु नै अहिलेको सबैभन्दा ठूलो आवश्यकता हो ।
प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।



































