राजमार्गका होटलमा खाना खाँदा यात्रु बिरामी भए चालक र सञ्चालकलाई कारबाही

काठमाडौं । राजमार्गका होटल तथा रेस्टुरेन्टमा उपलब्ध गराइने खाना, खाजा र नास्ताको गुणस्तर कमजोर भएका कारण यात्रु बिरामी परे सवारी चालक र होटल सञ्चालक दुवैलाई कारबाही गरिने भएको छ ।

यातायात व्यवस्था विभागले मंगलबार सूचना जारी गर्दै यात्रुको स्वास्थ्य र खाद्य स्वच्छतामा लापरबाही गर्ने चालक तथा होटल र रेस्टुरेन्ट सञ्चालकलाई प्रचलित कानुनबमोजिम कडा कारबाही गर्ने चेतावनी दिएको हो । विभागका अनुसार राजमार्गमा यात्रा गर्ने यात्रुले होटल तथा रेस्टुरेन्टमा खाना खाएपछि बिरामी परेको गुनासो बढ्न थालेपछि सरकारले यस विषयमा निगरानी बढाएको छ । होटल तथा रेस्टुरेन्टले उपलब्ध गराउने खाजा, नास्ता र खाना न्यून गुणस्तरको हुँदा यात्रुको स्वास्थ्यमा समस्या देखिने गरेको गुनासो आएपछि सम्बन्धित निकायले यस विषयलाई गम्भीरतापूर्वक लिएका हुन् ।

पूर्वाधार विकास मन्त्रालयमा भएको सरोकारवालाको बैठकपछि विभागले सार्वजनिक यात्रुवाहक सवारीसाधनका चालक, होटल तथा रेस्टुरेन्ट सञ्चालक र यात्रुलाई लक्षित गर्दै यस्तो सूचना जारी गरेको हो । यात्राको क्रममा यात्रुको स्वास्थ्यमा असर नपरोस् र राजमार्गका होटलमा खाद्य स्वच्छता कायम होस् भन्ने उद्देश्यले सम्बन्धित पक्षलाई जिम्मेवार बनाउन खोजिएको विभागले जनाएको छ । विभागले सार्वजनिक यात्रुवाहक सवारीसाधनका चालकलाई यात्रुका लागि खाना, खाजा र नास्ताको व्यवस्था गर्दा विशेष सावधानी अपनाउन निर्देशन दिएको छ । चालकले सम्भव भएसम्म खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट खाद्य स्वच्छतासम्बन्धी स्टिकर टाँसिएका होटल तथा रेस्टुरेन्टलाई प्राथमिकता दिनुपर्नेछ । सफा, स्वच्छ र गुणस्तरीय खाना उपलब्ध हुने स्थानमा मात्र यात्रुवाहक सवारीसाधन रोक्न विभागले आग्रह गरेको छ ।

लामो दूरीको यात्रा गर्ने यात्रु प्रायः राजमार्गमा रहेका होटल तथा रेस्टुरेन्टमा खाना खान बाध्य हुन्छन् । सवारीसाधनले खाना र खाजाका लागि निश्चित स्थानमा रोक्ने भएकाले यात्रुले आफूले चाहेको होटल रोज्न नपाउने अवस्था पनि हुन्छ । यस्तो अवस्थामा चालकले यात्रुको स्वास्थ्यलाई ध्यानमा राखेर स्वच्छ र गुणस्तरीय खाद्य पदार्थ उपलब्ध हुने होटल छनोट गर्नुपर्ने विभागको भनाइ छ । खाना, खाजा र नास्ताको गुणस्तरमा लापरबाही गर्ने होटल तथा रेस्टुरेन्टलाई मात्रै नभई त्यस्ता स्थानमा सवारी रोकेर यात्रुलाई खाना खुवाउने चालकलाई समेत जिम्मेवार बनाइने विभागले स्पष्ट पारेको छ । होटल तथा रेस्टुरेन्टमा उपलब्ध गराइएको खाद्य पदार्थकै कारण यात्रु बिरामी भएको पुष्टि भए सम्बन्धित सवारी चालक र होटल वा रेस्टुरेन्ट सञ्चालकलाई प्रचलित कानुनअनुसार कडा कारबाही गरिने विभागको चेतावनी छ ।

विभागका अनुसार सरकारका सम्बन्धित निकायले राजमार्गका होटल तथा रेस्टुरेन्टमा उपलब्ध हुने खाद्य पदार्थको गुणस्तर र स्वच्छताबारे सूक्ष्म निगरानी गरिरहेका छन् । यात्रुको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको विषय भएकाले खाद्य स्वच्छता कायम गर्नु होटल सञ्चालकको दायित्व भएको र यात्रुलाई सुरक्षित स्थानमा खाना खाने व्यवस्था मिलाउनु चालकको जिम्मेवारी भएको विभागको भनाइ छ । त्यसैगरी, होटल तथा रेस्टुरेन्टमा खाना, खाजा र नास्ताको स्वच्छता तथा गुणस्तरमा कमी पाइएमा वा तोकिएको मूल्यभन्दा बढी रकम लिएर यात्रुलाई ठगी गरेको पाइएमा सम्बन्धित निकायमा उजुरी गर्न विभागले यात्रुलाई आग्रह गरेको छ । यात्रुले यस्ता समस्या देखिएमा नेपाल प्रहरीको हेल्पलाइन नम्बर १०० मा फोन गरेर जानकारी गराउन सक्नेछन् ।

यसका अतिरिक्त सम्बन्धित जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, ट्राफिक प्रहरी कार्यालय वा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका कार्यालयमा समेत उजुरी तथा जानकारी दिन सकिने व्यवस्था गरिएको छ । यात्रुले आफूले खाना खाएको होटलको नाम, स्थान, मूल्य र देखिएको समस्याबारे स्पष्ट जानकारी गराएमा सम्बन्धित निकायलाई अनुगमन तथा कारबाहीको प्रक्रिया अघि बढाउन सहज हुने अपेक्षा गरिएको छ । राजमार्गमा यात्रा गर्ने यात्रुको स्वास्थ्य सुरक्षाका लागि होटल तथा रेस्टुरेन्टमा स्वच्छता र गुणस्तर कायम गर्नु, खाद्य पदार्थको उचित व्यवस्थापन गर्नु र मूल्यमा पारदर्शिता अपनाउनु आवश्यक छ । विभागको यो चेतावनीले राजमार्गका होटल तथा रेस्टुरेन्टमा खाद्य स्वच्छता कायम गर्न र यात्रुलाई गुणस्तरीय सेवा उपलब्ध गराउन सम्बन्धित व्यवसायी तथा सवारी चालकलाई थप जिम्मेवार बनाउने अपेक्षा गरिएको छ ।

प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।