नवरात्रमा नवदुर्गा साधना र नेपाली समाजमा दशैँको गरिमा

नेपालीहरूको महान् पर्व बडादशैँको मुख्य आधार आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म मनाइने ‘नवरात्र’ हो । नवरात्र धार्मिक पूजाआजा र कर्मकाण्डको औपचारिकता मात्र नभई अध्यात्म, प्रकृति, नारी शक्ति र मानव चेतनाको शुद्धीकरणको गहन र वैज्ञानिक प्रक्रिया हो ।

‘नव’को अर्थ ९ र नयाँ दुवै हुन्छ । अर्थात् ९ वटा रातमा गरिने विशेष साधना, जसले साधकभित्रका अज्ञान र नकारात्मकतालाई नष्ट गरी नयाँ ऊर्जा, सकारात्मकता र उच्च चेतनाको सञ्चार गराउँछ । वैदिक तथा तान्त्रिक परम्परामा नवरात्रका ९ दिनलाई नवदुर्गाका ९ फरक–फरक रूपको आराधना गर्दै मानव शरीरका विभिन्न चेतना केन्द्र (चक्र) हरूलाई जागृत गराउने दिव्य अवसरका रूपमा लिइन्छ ।

पहिलो दिन शैलपुत्री (प्रतिपदा)

पर्वतराज हिमालयकी छोरीका रूपमा जन्मिएकी हुनाले प्रथम दिन ‘शैलपुत्री’ देवीको आराधना गरिन्छ । वृषभ (साँढे) माथि सवार, दाहिने हातमा त्रिशूल र देब्रे हातमा कमलको फूल लिएकी यी देवी मूलतः स्थिरता, धैर्य र दृढ संकल्पकी प्रतीक हुन् । योग साधनाका दृष्टिले यो दिन मानव शरीरको ‘मूलाधार चक्र’मा ध्यान केन्द्रित गर्ने दिन हो । यस दिन वैदिक विधिपूर्वक घटस्थापना गरी जौ तथा गहुँको जमरा राखिन्छ । कलशलाई गणेश, नवग्रह र भगवतीको प्रतीक मानेर शैलपुत्रीको ध्यान, आवाहन, धूप, दीप, नैवेद्य र सेतो फूल अर्पण गरी पूजा गरिन्छ । यस साधनाले जीवनमा प्राकृतिक सन्तुलन र मानसिक दृढता प्रदान गर्छ ।

दोस्रो दिन : ब्रह्मचारिणी (द्वितीया)

‘ब्रह्म’को अर्थ तपस्या र ‘चारिणी’को अर्थ आचरण गर्ने हुन्छ । भगवान् शिवलाई पतिका रूपमा पाउन हजारौँ वर्षसम्म कठोर तपस्या गरेकी हुनाले यिनलाई ‘ब्रह्मचारिणी’ भनिएको हो । दाहिने हातमा जपमाला र देब्रे हातमा कमण्डलु लिएकी यी देवीले संयम, त्याग, सदाचार र अनुशासनको सन्देश दिन्छिन् । यो दिन साधकको चेतना ‘स्वाधिष्ठान चक्र’मा अवस्थित हुन्छ । प्रातः स्नान गरी देवी ब्रह्मचारिणीलाई पहेँलो वा सेतो वस्त्र, कमलको फूल, शक्कर र दूधबाट बनेका सात्विक परिकार अर्पण गरी ध्यान र साधना गरिन्छ । यिनको उपासनाले मानिसलाई संकट र प्रलोभनमा पनि विचलित नहुने आत्मबल प्रदान गर्छ ।

तेस्रो दिन : चन्द्रघण्टा (तृतीया)

मस्तकमा घण्टाकारको अर्धचन्द्र धारण गरेकी हुनाले यिनलाई ‘चन्द्रघण्टा’ भनिन्छ । स्वर्ण वर्णमा १० हात भएकी र सिंहमाथि सवार यी देवीको रूप एकातिर शान्त र सौम्य छ भने अर्कातिर दुष्टहरूको विनाशका लागि गर्जन गर्ने युद्धपोत जस्तै तत्पर छ । योग साधनाका अनुसार यस दिन चेतना ‘मणिपुर चक्र’मा पुग्छ । यस दिन देवीलाई चम्किलो वस्त्र, रातो गुलाब र दूध वा दूधबाट बनेका मिठाईको भोग लगाएर पूजा गरिन्छ । चन्द्रघण्टाको आराधनाले साधकमा निर्भिकता, वीरताका साथै सौम्यता र एकाग्रताको विकास हुन्छ ।

चौथो दिन : कुष्माण्डा (चतुर्थी)

मन्द मुस्कानद्वारा अण्ड अर्थात् सम्पूर्ण ब्रह्माण्डको सृष्टि गरेकी हुनाले यिनलाई ‘कुष्माण्डा’ भनिन्छ । अष्टभुजा भएकी र सूर्यमण्डलको भित्री लोकमा निवास गर्ने यी देवीको तेजका अगाडि सम्पूर्ण ब्रह्माण्ड प्रकाशमान छ । यस दिन साधकको ध्यान ‘अनाहत चक्र’मा केन्द्रित हुन्छ । देवीलाई कुभिन्डो (कुष्माण्ड), मालपुवा, हरियो वस्त्र र मौसमी फलफूल अर्पण गरी पूजा गरिन्छ । कुष्माण्डाको उपासनाले आयु, यश, बल र आरोग्य प्राप्त हुनुका साथै सम्पूर्ण शारीरिक र मानसिक व्याधिहरूको नाश हुन्छ ।

पाँचौँ दिन : स्कन्दमाता (पञ्चमी)

भगवान् कार्तिकेय (जसको अर्को नाम स्कन्द हो) की आमा भएकाले यिनलाई ‘स्कन्दमाता’ भनिन्छ । ४ हात भएकी, सिंहमाथि सवार र काखमा बाल स्कन्दलाई लिएर कमलको फूलमाथि विराजमान यी देवी वात्सल्य, ममता र करुणाकी साक्षात् मूर्ति हुन् । यस दिन साधकको चेतना ‘विशुद्ध चक्र’मा पुग्छ । देवी स्कन्दमाता र बाल स्कन्दको संयुक्त ध्यान गर्दै यिनलाई केरा, पहेँलो वस्त्र र पहेँलो फूल अर्पण गरी पूजा गर्ने विधान छ । यिनको भक्तिले भक्तको अज्ञानता हटेर परम ज्ञान र परम शान्ति प्राप्त हुन्छ ।

छैटौँ दिन : कात्यायनी (षष्ठी)

महर्षि कात्यायनको कठोर तपस्याबाट प्रसन्न भई उहाँकी छोरीका रूपमा प्रकट भएकी हुनाले यिनलाई ‘कात्यायनी’ भनिएको हो । सिंहमाथि सवार, हातमा चमकदार खड्ग धारण गरेकी यी देवी महिषासुर वधकी मुख्य नायिका हुन् । यो दिन साधकको ध्यान ‘आज्ञा चक्र’मा केन्द्रित हुन्छ । यस दिन देवीलाई मह, रातो वस्त्र र कनेर वा रातो फूल अर्पण गरी पूजा गरिन्छ । कात्यायनीको साधनाले धर्म, अर्थ, काम र मोक्ष चारै पुरुषार्थको प्राप्ति हुन्छ र जीवनका सम्पूर्ण बाधा–अड्चनहरू हट्छन् ।

सातौँ दिन : कालरात्री (सप्तमी–फूलपाती)

घनघोर अन्धकारजस्तै कालो वर्ण, विशाल ३ वटा आँखा र गधामाथि सवार यी देवीको रूप अत्यन्त भयानक र रोद्र देखिन्छ । तर यिनले आफ्ना भक्तहरूलाई सधैँ शुभ फल दिने हुनाले यिनलाई ‘शुभंकरी’ पनि भनिन्छ । यिनले काल, दैत्य, भूत र सम्पूर्ण नकारात्मक ऊर्जाको नाश गर्छिन् । यस दिन घरघरमा शास्त्रीय विधिअनुसार नवपत्रिका अर्थात् ‘फूलपाती’ भित्र्याइन्छ । देवीलाई गुँड, नीलो वा कालो वस्त्र र रातो फूल अर्पण गरी पूजा गरिन्छ । कालरात्रीको साधनाले मानिसलाई हरेक प्रकारका भय, डर र नकारात्मक प्रभावबाट पूर्ण रूपमा मुक्त गराउँछ ।

आठौँ दिन : महागौरी (अष्टमी–महाअष्टमी)

कठोर तपस्याका कारण कालो बनेको शरीरलाई भगवान् शिवले गङ्गाजलले धुएर गौर वर्ण प्रदान गरेकी हुनाले यिनलाई ‘महागौरी’ भनिन्छ । वृषभमाथि सवार, सेतो वस्त्र र आभूषण धारण गरेकी यी देवी परम पवित्रता, शान्ति र करूणाकी प्रतीक हुन् । यस दिन महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजा गरिन्छ । देवीलाई नारियल, हलुवा, पूरी र सेतो फूल अर्पण गरिन्छ । महाअष्टमीका दिन शक्तिपीठहरूमा विशेष पूजा, बलि वा सात्विक बलि (कुभिन्डो, घिरौँला आदि) अर्पण गरी देवीको कृपा प्राप्त गरिन्छ ।

नवौँ दिन : सिद्धिदात्री (नवमी–महानवमी)

अणिमा, महिमा, गरिमा, लघिमा आदि आठै प्रकारका सिद्धिहरू प्रदान गर्ने हुनाले यिनलाई ‘सिद्धिदात्री’ भनिन्छ । कमलको फूलमाथि विराजमान र सिंहमाथि सवार यी देवीका ४ हात छन् । पौराणिक मान्यताअनुसार भगवान् शिवले पनि यिनकै कृपाबाट सम्पूर्ण सिद्धिहरू प्राप्त गरी ‘अर्धनारीश्वर’ रूप धारण गर्नुभएको थियो । यस दिन नवमीको विशेष पूजा, हवन र कुमारी पूजा (कन्या पूजा) गरिन्छ । ९ जना साना कन्याहरूलाई नवदुर्गाका जीवन्त प्रतीक मानेर पूजिन्छ र भोजन गराइन्छ । यस साधनाले भक्तलाई लौकिक र अलौकिक दुवै क्षेत्रमा पूर्णता र सफलता दिलाउँछ ।

नेपाली समाजमा बडादशैँको महत्व

नेपाली समाजमा बडादशैँ एउटा धार्मिक पर्व मात्र नभई हाम्रो राष्ट्रिय पहिचान, सामाजिक संरचना, आर्थिक चक्र र पारिवारिक पुनर्मिलनको महाउत्सव हो । विश्वभर छरिएर रहेका नेपालीहरूलाई सांस्कृतिक सूत्रमा बाँध्ने सबैभन्दा शक्तिशाली माध्यम नै दशैँ हो ।
आधुनिकता र रोजगारीको सिलसिलामा देशविदेशका विभिन्न कुनामा पुगेका परिवारका सदस्यहरू वर्षमा एकपटक आफ्नै थातथलो र पैत्रिक घरमा भेला हुन्छन् । विजयादशमीका दिन मान्यजनका हातबाट रातो टिका, पहेंलो जमरा र आशीर्वाद ग्रहण गर्ने परम्पराले पुस्तान्तरणलाई जोड्छ । सानाहरूले ठूलाप्रति आदर र ठूलाहरूले सानाप्रति स्नेह प्रकट गर्ने संस्कारले पारिवारिक सम्बन्धलाई अझ प्रगाढ र जीवन्त बनाउँछ ।

दशैँले धनी–गरीब, उमेर, लिङ्ग र वर्गको भेदभाव बिर्साएर सम्पूर्ण नेपालीहरूलाई एउटै खुसीको परिधिमा ल्याउँछ । गाउँघरमा सामूहिक रूपमा लिङ्गे पिङ हाल्ने, बाटोघाटो तथा सार्वजनिक पाटी–पौवा सफा गर्ने, घरआँगन रंगाउने र शुभकामना आदानप्रदान गर्ने परम्पराले सामुदायिक जीवन र सामाजिक सद्भावलाई बलियो बनाउँछ ।

पौराणिक मान्यताअनुसार विजयादशमी असत्यमाथि सत्यको र अधर्ममाथि धर्मको विजयको प्रतीक हो । देवी दुर्गाद्वारा महिषासुरको वध र भगवान् रामद्वारा रावणको वध यही विजयादशमीकै दिन भएको मानिन्छ । यसले समाजमा विद्यमान अन्याय, अत्याचार, भ्रष्टाचार, कुविचार र अहंकारजस्ता ‘आसुरी प्रवृत्ति’लाई परास्त गरी सत्य, न्याय, सुशासन र सदाचार कायम गर्नुपर्छ भन्ने शाश्वत सन्देश दिन्छ ।
नेपाल कृषिप्रधान देश भएकाले वर्षात् सकिएर धान बाली पाक्ने, बाटोघाटो सुक्खा हुने र मौसम सुन्दर हुने रमाइलो शरद ऋतुमा दशैँ आउँछ । घटस्थापनामा उमारिने जमरा (जौ र गहुँको अंकुर) ले प्रकृति, समृद्धि र हरियालीप्रतिको हाम्रो अगाध कृतज्ञता दर्साउँछ । दशैँको समयमा हुने व्यापार–व्यवसाय, नयाँ कपडा तथा सामानको खरिद–बिक्री र बजारको आर्थिक गतिविधिले मुलुकको समग्र अर्थतन्त्रलाई चलायमान बनाउन ठूलो योगदान पुर्‍याउँछ ।

दशैँ र नवरात्र हाम्रो मौलिक संस्कृति, दर्शन र आध्यात्मिक चेतनाका अमूल्य धरोहर हुन् । नवरात्रका ९ दिनमा नवदुर्गाको साधना गर्दै हामीभित्र लुकेर बसेका काम, क्रोध, लोभ, मोह र अहंकारजस्ता अवगुणहरूलाई त्याग गरी भातृत्व, करुणा, दया र सत्यको मार्गमा हिँड्ने संकल्प लिनु नै दशैँ मनाउनुको वास्तविक सार्थकता हो । विकृति, देखासिकी र तडकभडकलाई त्यागेर सांस्कृतिक मर्म अनुसार दशैँ मनाउन सके यसले व्यक्ति, परिवार र सिङ्गो राष्ट्रमै सुख, शान्ति र समृद्धिको नयाँ सञ्चार गराउनेछ ।

प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।