फेरिँदै गएको दशैँ

यसपालिको बडादशैं सुरु भएको छ । घटस्थापनाका दिन घरघरमा जमरा राखिएका छन् । विडम्बना ! केही वर्षयता जमरा राख्ने चलन पनि हराउँदै आएको छ । आजकल जमरा समेत किनेर ल्याइन्छ । मानिसहरूको घरको स्वरूप बदलिएसँगै दशैँ मनाउने तरिका पनि बदलिँदै गएको छ ।

यसले परम्परागत रीतिरिवाज र संस्कृति विलय हुने चिन्ता बढेको छ । ३ दशकअघि दशैँ सुरु हुनुअगावै घर मर्मत गरिन्थ्यो । त्यतिबेला काठमाडौँ उपत्यकामा पनि ढुंगा र माटोका घर थिए । घरका छानो खर, पराल, छली, झिंगटी, टायल लगायतको हुन्थ्यो । दशैँ आउँदा घरमा परेका दुलो, चिराहरू टालिन्थ्यो । घरआँगन सफा गरेर चिटिक्क पारिन्थ्यो । अनि घटस्थापनाका दिन रातो माटो, गेरु, चुना लगायतले घर लिपपोत र कमेरो माटो छ्यापेर जमरा राखिन्थ्यो ।

हरेकको घरमा खसी, बोका हुन्थ्यो । गाईवस्तु पनि पालिएको हुन्थ्यो । केराको घरी आफ्नो बारी पाटोमा हुन्थ्यो । चामल, चिउरा आफ्नो घरमै कुटिन्थ्यो । दशैँमा चाहिने सबैथोक घरमै हुन्थ्यो वा व्यवस्थापन गरिन्थ्यो । घटस्थापनाका दिन वर्ष दिनभरि प्रयोग गरिएको हलोको थाली, कोदाली, हँसिया, कुटोलगायत हतियारहरू धोइपखाली गरेर जमरा राख्दा पूजा गरिन्थ्यो । खेतबारीको कान्लामा बाब्यु हुन्थ्यो । त्यो काटेर खाली चौरमा पिङ हालिन्थ्यो । वर, पिपल लगायतको रुखमा पनि पिङ हालिन्थ्यो । दशैँ आउनु केही समयअगावै आफ्नो गाउँघर आफैँले सफा गरिन्थ्यो । बाटोघाटो, ढुंगेधारा, पोखरी, ताल, कुँवा, पाटीपौवा, चौतारा सबैले मिलेर सफा गर्थे । घटस्थापनाका दिन आफ्नो घरमा जमरा राखेकाहरूले अष्टमी वा फूलपातीका दिन घिरौला काटेर खसी, च्याङ्ग्रा वा बोका काटिन्थ्यो ।

काटिनेबित्तिकै जमरा राखेको ठाउँमा टाउको चढाइन्थ्यो । नवमीका दिन आफ्नो खेतबारीमा ओहोरदोहोर गरिन्थ्यो । यसले अन्न उब्जनी राम्रो हुने, पहिरो नखस्ने विश्वास गरिन्थ्यो । दशैँ आउनु १ महिनाअघि नै गाउँघरमा रौनक र चासो हुन्थ्यो । कसको घरमा के–के छ वा छैन ? खोजी हुन्थ्यो । अनि दशैँ मनाउन नसक्ने अवस्थामा भएकालाई कोहीले धान त कोहीले पैसा सापटी दिन्थे ।  यसरी सबै मिलेर दशैँ मनाइन्थ्यो । यसले समाजमा एकता कायम गर्नसमेत सहयोग पुग्थ्यो । किनकि एकको दुःखमा गाउँले नै सहयोग गर्दा मिलेर बस्ने संस्कार बस्थ्यो । दशैँमा होस् या अन्य समयमा दाउराबाट खाना पकाइन्थ्यो । त्यो धुँवा घरको चुच्चोबाट बाहिर निस्किन्थ्यो । यसले गाउँभरिका मानिसले खाना पकाएको थाहा पाउँथे ।

तर ३ दशकको बिचमा यी सबै रितिरिवाज, संस्कार, परम्परा पलायन भइसकेको छ । यो वर्षको बडादशैं सुरु भइसकेको छ । यद्यपि दशैँ लागेजस्तो महसूस भएकै छैन । आजकल दशैँमा न घर सरसफाइ, लिपपोत गरिन्छ, न त जमरा राखिन्छ । जमरा राख्न धान, मकै, जौं चाहिन्छ । उपत्यकासहित शहरी इलाकामा बस्ने अधिकांशलाई जौ, धान भनेकै थाहा छैन । थाहा भए पनि हत्तपत्ता पाइँदैन । त्यसैले बजारबाट किनेर ल्याइन्छ जमरासमेत ।

दशैँ कसले मनायो वा मनाएन ? कसैलाई थाहा हुँदैन । किनकि समाजमा एकता नै छैन । पछिल्लो समय त आफू मात्र खाने, आफू मात्र लगाउने प्रवृत्ति हावी भएको छ । एउटै घरमा बस्ने एउटा परिवारले धुमधामले दशैँ मनाइरहँदा अर्को परिवारले एकछाक मिठोसमेत खान पाएका हुँदैनन् । दशैँमा पिङ खेल्ने चलन पनि हराउँदै गएको छ । वर, पिपलका रुख मासिएका छन् । खाली ठाउँ कतै छैन । यसले दशैँमा पिङ खेल्ने चलन पनि विलय भएको छ ।

गाउँ रित्तिएको छ । शहरमा कोठा भाडा एकदमै चर्को छ । महँगी, बेरोजगारीका कारण मानिसहरू दशैँ मनाउन नसक्ने अवस्थामा पुगेका छन् । यसमा प्रमुख जिम्मेवार भूमाफिया र त्यसपछि सरकार छ । भूमाफियाहरूले शहरी वा जिल्लाका सदरमुकामका जग्गा प्लटिङ गरे । शहरको जग्गा मात्र जग्गा हो भन्ने भ्रम सिर्जना गरे । सरकारले पनि जग्गा प्लटिङ गर्न धमाधम अनुमति दियो ।
राज्य राजस्वको लोभमा पर्दा मुलुकको मौलिक तथा परम्परागत संस्कृति संकटमा परेको छ । गाउँमा सयौं वा हजारौं रोपनी जग्गाजमिन भएकाहरू त्यो जग्गा बाझो राखेर वा केही पैसामा बेचेर शहरी इलाकामा आनाकै ५० लाखदेखि करोडौंमा जग्गा किने । २–५ आना जग्गामा घर बनाए । एउटा कोठाको ५–२५ हजार, फ्‌ल्याटको ३० हजारदेखि ४ लाख र सटरको २० हजारदेखि २२ लाख भाडा असुल्छन् । अनि मै हुँजस्तो व्यवहार गर्छन् । दशैँ मनाउने नाममा महँगा विदेशी रक्सी सेवन गर्छन् ।

लाखौँको कपडा किन्छन् । मिठोमिठो खान्छन् । अनि उनीहरूको दशैँ हुन्छ । तर यो त उनीहरू वर्षैभरि गर्छन् । अनि उनीहरूका लागि त हरेक दिन दशैँ हो । अर्कोतर्फ घरहरू जोडिएर बनेका छन् । ठूला वा अग्ला घरहरूसमेत ४ पट्टि जोडिएर बनेको पाइन्छ । यसले भूकम्प आउँदा एउटा घर भत्किएमा सँगै जोडिएका दर्जनौँ घर पनि ढल्नेछन् । घरहरू त बनेसँगै खेतीयोग्य जमिन पनि मासियो । ४ दशकअघि नेपाल खाद्यान्नमा पूर्ण आत्मनिर्भर थियो । दशैँको कुरा के हो भने दशैंमा आवश्यक पर्ने चामल, खसीबोका, चिउरा, दहीदूध, घिउ मानिसको घरमै उत्पादन हुन्थ्यो । तर अहिले त गुन्द्रकसमेत विदेशबाट आयात गरिन्छ । छिमेकी मुलुक भारत सहितले १ हप्ता खाद्यान्न नपठाए हामी नेपाली भोकभोकै मर्नुपर्ने अवस्था आउनसक्छ । अनि ठूल्ठूलो घर भएर मात्र के गर्नु ? जब बाँच्नलाई खाना नै चाहिन्छ ।

नेपाल खाद्यान्नमा परनिर्भर हुँदा विदेशीलाई लाभ त भएकै छ, हामी रोगीसमेत बन्नुपरेको छ । विषादी मिसाएको खानेकुरा खाँदा पैसा र स्वास्थ्य दुवै गुमाइरहेका छौं । दशैँमा ५ दिनसम्म टीका लगाइन्छ । पहिला–पहिला दशैँमा आशीर्वाद थाप्न टाढाटाढा रहेका आफन्तकहाँ समेत टीका लगाउन गइन्थ्यो । अचेल त पैसा पाउने लोभमा गइन्छ । पैसा दिने आफन्तकहाँ दशैँको पहिलो दिनै टीका लगाउन गइन्छ त पैसा नदिने कहाँ गइँदैन । अर्को हाँस्यास्पद कुरा चाहीँ नेपाली नागरिकता लगेर विदेशमा रहेकाहरू चाहीँ दशैँमा जमरा राखेर, टीका लगाएर सामाजिक सञ्जालमा फोटो हाल्छन् । यसले हाम्रो समाज र हामी कस्तो हुँदै गएछौं ? देखाउँछौँ ।

प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।