दाजुभाइको सुख, शान्ति र दीर्घायुको कामना गर्दै आज भाइटीका मनाइँदै

काठमाडौँ । दिदीबहिनी र दाजुभाइबीचको आत्मीयता, प्रेम र आपसी सम्बन्धलाई प्रगाढ बनाउने पर्व भाइटीका आज देशभर हर्षोल्लासका साथ मनाइँदैछ। यमपञ्चक अर्थात् तिहारको अन्तिम दिन मनाइने यस पर्वमा दिदीबहिनीले दाजुभाइको दीर्घायु, सुस्वास्थ्य, सुख, शान्ति र समृद्धिको कामना गर्दै सप्तरङ्गी वा पञ्चरङ्गी टीका लगाइदिने परम्परा छ।

प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने भाइटीका नेपालीको दोस्रो ठूलो चाड तिहारको महत्वपूर्ण पर्व हो। धार्मिक मान्यताअनुसार यस दिन दिदीबहिनीले दाजुभाइको पूजा गरी निधारमा टीका लगाइदिने, मखमली, सयपत्री र गोदावरीलगायत फूलका माला पहिर्‍याउने तथा विभिन्न परिकार खुवाउने गर्छन्। दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाइदिई उपहार र दक्षिणा प्रदान गरेर सम्मान प्रकट गर्ने चलन छ ।

यस वर्ष भाइटीका लगाउनका लागि बिहान ११ बजेर ७ मिनेटको समय उत्तम साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष सहप्रा डा. पुरुषोत्तम भट्टराईले जानकारी दिए । उनका अनुसार साइत खोज्नेहरूका लागि उक्त समय उपयुक्त भए पनि दिनभर टीका लगाउन कुनै बाधा छैन। यद्यपि राज्य सञ्चालकका लागि भने समितिले तोकेको साइतमै टीका लगाउनुपर्ने जनाइएको छ।

समितिका अनुसार यस वर्ष टीका लगाइदिने दिदीबहिनी पूर्व फर्कने र टीका लगाउने दाजुभाइ पश्चिम फर्कनुपर्नेछ। यसो गर्दा वृश्चिक राशिमा रहेका चन्द्रमा दाजुभाइको दाहिने पर्ने धार्मिक मान्यता छ ।

आज बिहान चन्द्रमा वृश्चिक राशिमा प्रवेश गर्नेछन्। त्यसअघि चन्द्रमा तुला राशिमा रहने भए पनि उक्त समयमा समेत तोकिएको दिशाअनुसार टीका लगाउन सकिने धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतमले बताए । शुभकार्य गर्दा चन्द्रमालाई अगाडि वा दाहिने पार्नुपर्ने शास्त्रीय मान्यता रहेको उनको भनाइ छ।

भाइटीकाका अवसरमा दिदीबहिनीले लक्ष्मीपूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गरेर धार्मिक विधि सुरु गर्छन् । त्यसपछि अष्टचिरञ्जीवी मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुरामका साथै चित्रगुप्त, यमराज, यमुना, धर्मराजलगायत देवीदेवताको पूजा आराधना गर्ने परम्परा छ ।

पूजापछि दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर टीका लगाइदिने गर्छन्। सप्तरङ्गी टीका लगाउने चलन व्यापक भए पनि शास्त्रीय मान्यताअनुसार रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँच रङका टीका लगाउने व्यवस्था रहेको धर्मशास्त्रविद् गौतमले बताउनुभएको छ ।

टीका लगाएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मरमसला, सेलरोटीलगायत विभिन्न परिकार प्रदान गर्छन्। दाजुभाइले पनि आफ्नो आर्थिक क्षमताअनुसार दिदीबहिनीलाई कपडा, गरगहना तथा दक्षिणा दिएर माया र सम्मान साटासाट गर्ने गर्छन् ।

दिदीबहिनी नहुनेका लागि रानीपोखरीको बालगोपालेश्वर मन्दिर खुला

भाइटीकाका दिन दिदीबहिनी वा दाजुभाइ नहुने व्यक्तिका लागि काठमाडौँको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर खुला गरिन्छ। वर्षमा एकपटक भाइटीकाका दिन मात्रै खुल्ने यस मन्दिरमा दिदीबहिनी वा दाजुभाइ नहुनेले पूजा, दर्शन गरी टीका लगाउने परम्परा छ ।

यस वर्ष पनि भक्तजनलाई सहज रूपमा दर्शन तथा टीका लगाउने व्यवस्था मिलाउन आवश्यक तयारी पूरा भएको काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिएका छन् ।

त्यस्तै, काठमाडौँको जयवागेश्वरीस्थित खञ्जनेश्वर महादेव मन्दिरमा पनि दिदीबहिनी वा दाजुभाइ नहुनेले पूजा तथा दर्शन गरी भाइटीका लगाउने चलन छ । संस्कृतिविद् एवम् गुठी संस्थानका अध्यक्ष डा. गोविन्द टण्डनका अनुसार रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर बन्द रहेका बेला खञ्जनेश्वर मन्दिर दिदीबहिनी तथा दाजुभाइ नहुनेहरूका लागि भेटघाट र टीका लगाउने प्रमुख स्थानका रूपमा रहेको थियो ।

उनका अनुसार विसं २०३५ अघिसम्म रानीपोखरीमा हामफालेर मन्दिर प्रवेश गर्ने समस्या देखिएपछि बालगोपालेश्वर मन्दिर बन्द गरिन्थ्यो। त्यस समयमा दिदीबहिनी नहुने दाजुभाइ र दाजुभाइ नहुने दिदीबहिनी जयवागेश्वरीस्थित खञ्जनेश्वर महादेव मन्दिरमा भेला भएर टीका लगाउने गर्थे।

विसं २०३५ पछि रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिर भाइटीकाका दिन नियमित रूपमा खुल्न थालेको हो। विसं २०७२ वैशाख १२ गतेको गोरखा भूकम्पले मन्दिर क्षतिग्रस्त बनाएपछि पुनर्निर्माण सम्पन्न नहुँदासम्म अर्थात् विसं २०७७ सम्म भक्तजनले खञ्जनेश्वर महादेव मन्दिरमै पुगेर टीका लगाउने गरेका थिए। पुनर्निर्माणपछि विसं २०७७ देखि बालगोपालेश्वर मन्दिर पुनः भक्तजनका लागि खुला गरिएको हो ।

नेवार समुदायमा किजापूजाको रौनक

भाइटीकालाई नेवार समुदायले किजापूजाका रूपमा मनाउने गर्छन्। यस समुदायमा पारिवारिक तथा कुल परम्पराअनुसार किजापूजा गर्ने दिन फरक हुन सक्छ। कसैले भाइटीकाकै दिन त कसैले अघिल्लो दिन किजापूजा गर्ने प्रचलन रहेको छ ।

भक्तपुरका अधिकांश नेवार समुदायले भने यस वर्ष अघिल्लो दिन नै किजापूजा गरेका छन्। तलेजु मन्दिरका पुजारी तथा ज्योतिषीको निर्णयअनुसार भक्तपुरका नेवार समुदायले अघिल्लो दिन किजापूजा सम्पन्न गरेको जनाइएको छ ।

यसरी भाइटीका केवल टीका र उपहार आदानप्रदानमा सीमित पर्व नभई पारिवारिक सम्बन्ध, आपसी सद्भाव, माया, विश्वास र सांस्कृतिक एकताको प्रतीकका रूपमा स्थापित छ । दिदीबहिनी र दाजुभाइबीचको आत्मीयता नवीकरण गर्दै मनाइने यस पर्वले नेपाली समाजमा पारिवारिक एकता र परम्पराको महत्वलाई समेत उजागर गर्दै आएको छ ।