अमेरिकी अदालतबाट नेपाली नर्स ममता हत्या प्रकरणमा पति नरेश दोषी ठहर

अमेरिका । अमेरिकाको भर्जिनियामा नेपाली मूलकी नर्स ममता काफ्ले भट्टको हत्या प्रकरणमा उनका पति नरेश भट्ट दोषी ठहर भएका छन् । करिब छ हप्तासम्म चलेको सुनुवाइपछि अदालतले नरेशलाई प्रथम श्रेणीको हत्या अभियोगमा दोषी ठहर गरेको हो ।

मंगलबार आएको फैसलामा अदालतले नरेशले ममताको हत्या गर्नुका साथै उनको शवको अपमान गरेको र लुकाएकोसमेत ठहर गरेको छ । ममता बेपत्ता भएको घटनाले लामो समयदेखि नेपाली समुदाय र उनको परिवारलाई चिन्तित बनाइरहेको अवस्थामा अदालतको यो फैसलालाई महत्वपूर्ण रूपमा हेरिएको छ।

सुनुवाइका क्रममा नरेशले ममता आफ्नो बेडरुममा मृत अवस्थामा फेला परेको र आफूले शव व्यवस्थापन मात्रै गरेको दाबी गर्दै आएका थिए। तर सरकारी पक्षले उक्त दाबी अस्वीकार गर्दै नरेशले योजनाबद्ध रूपमा ममताको हत्या गरी शव नष्ट गर्ने प्रयास गरेको जिकिर गरेको थियो ।

अन्तिम बहसका क्रममा वरिष्ठ सहायक सरकारी वकिल सारा सामीले जुरीसमक्ष नरेशका भनाइहरू विश्वासयोग्य नरहेको बताउनुभएको थियो। उहाँले नरेशले ममताको हत्या गरी शव टुक्राटुक्रा पारेको र फोहोर फाल्ने स्थानमा पुर्‍याएको दाबी गर्नुभएको थियो।

सरकारी वकिल सामीका अनुसार ममताको शव भर्जिनियाको लुरायस्थित ल्यान्डफिलमा फालिएको थियो । उनले ममताको शव अहिलेसम्म फेला नपरेका कारण परिवारले अन्तिम संस्कारसमेत गर्न नपाएको अवस्थालाई अदालतसमक्ष प्रस्तुत गर्नुभएको थियो ।

उहाँले परिवारले ममताको मृत्युको पीडासँगै उनको शवसमेत फेला नपरेको अर्को पीडा सहनुपरेको उल्लेख गर्नुभएको थियो। ममता जीवित नरहे पनि परिवारका लागि उनी अझै बेपत्ताकै अवस्थामा रहेको सरकारी पक्षको भनाइ थियो ।

प्रथम श्रेणीको हत्यामा दोषी ठहर भएका नरेशलाई कम्तीमा २० वर्षदेखि आजीवन कारावाससम्मको सजाय हुन सक्नेछ। त्यस्तै, शव लुकाएको र अपवित्र पारेको कसुरमा छुट्टाछुट्टै पाँच वर्षसम्म कैद हुन सक्ने व्यवस्था छ। नरेशलाई हुने अन्तिम सजाय आगामी मार्च महिनामा सुनाइने जनाइएको छ ।

अदालतले दोषी ठहर गरेको फैसला सुनाएपछि ममताका साथी तथा स्थानीय नेपाली समुदायका सदस्यहरू अदालत भवनबाहिर भेला भएका थिए । उनीहरूले फैसलाप्रति खुसी व्यक्त गर्दै ममताका लागि न्याय भएको प्रतिक्रिया दिएका थिए ।

यसरी सुरु भएको थियो ममता बेपत्ता प्रकरण

ममता काफ्ले भट्ट अमेरिकाको भर्जिनिया राज्यस्थित यूभीए हेल्थ प्रिन्स विलियम मेडिकल सेन्टरमा नर्सका रूपमा कार्यरत थिइन्। सन् २०२४ अगस्ट १ मा उनी नियमित काममा उपस्थित नभएपछि उनका सहकर्मीहरूले खोजी र चासो व्यक्त गरेका थिए ।

ममता काममा नआएपछि उनको अवस्थाबारे जानकारी लिन प्रहरी उनको घर पुगेको थियो। त्यस क्रममा उनका पति नरेशले ममता हराएको विश्वास नभएको र आफूले उनलाई जुलाई २९ मा अन्तिमपटक देखेको बताएका थिए ।

नरेशले प्रहरीसमक्ष ममता घर छाडेर जान चाहेको र आफूहरूसँग सम्बन्ध विच्छेदको विषयमा समेत कुरा भएको दाबी गरेका थिए । त्यसपछि अगस्ट ५ मा उनले औपचारिक रूपमा ममता हराएको उजुरी दिएका थिए ।

तर ममताका परिवार र साथीहरूले सानी छोरीलाई घरमै छाडेर कसैलाई जानकारी नदिई उनी आफैँ घरबाट निस्किएको भन्ने कुरामा विश्वास गरेका थिएनन्। उनीहरूले ममताको अवस्था र बेपत्ता हुनुको कारणबारे थप अनुसन्धान गर्न माग गरेका थिए ।

अनुसन्धानका क्रममा प्रहरीले सन् २०२४ अगस्ट २२ मा नरेशलाई पक्राउ गरेको थियो। त्यसयता उनीविरुद्ध हत्या तथा शव लुकाएको सम्बन्धी अभियोगमा कानुनी प्रक्रिया अघि बढाइएको थियो ।

यस घटनाको सबैभन्दा दुःखद पक्ष भनेको ममताको शव अहिलेसम्म फेला पर्न नसक्नु हो । अदालतले नरेशलाई दोषी ठहर गरे पनि परिवारले उनको शव प्राप्त गरी अन्तिम संस्कार गर्न पाउने अवस्था अझै बनेको छैन ।

नेपाली मूलकी नर्स ममताको हत्यासम्बन्धी घटनाले अमेरिकामा रहेका नेपाली समुदायलाई लामो समयदेखि स्तब्ध बनाउँदै आएको थियो । अदालतको पछिल्लो फैसलाले कानुनी प्रक्रियामा महत्वपूर्ण चरण पूरा गरे पनि परिवारका लागि ममताको शव खोजी र अन्तिम संस्कारको प्रतीक्षा भने अझै बाँकी रहेको छ ।