छठ पर्वको उल्लास : आज खरना विधि गरिँदै, भोलिदेखि अस्ताउँदो सूर्यलाई अर्घ्य

महोत्तरी । मिथिलाञ्चलसहित तराई मधेसका विभिन्न क्षेत्रमा लोकआस्था र श्रद्धाको महापर्व छठको रौनक बढेको छ। चार दिनसम्म विभिन्न धार्मिक विधि र पूजाआराधना गरी मनाइने छठ पर्वको दोस्रो दिन आज बर्तालुहरूले खरना विधि सम्पन्न गर्दैछन्।

छठ पर्वको पहिलो दिन शुक्रबार कात्तिक शुक्ल चौथी तिथिमा बर्तालुहरूले नहाय–खाय विधि पूरा गर्दै पर्वको औपचारिक सुरुआत गरेका थिए। यस विधिमा पवित्र स्नान गरी शुद्ध र सात्त्विक भोजन ग्रहण गरेर बर्तालुले छठी माताप्रति श्रद्धा र समर्पणसहित व्रतको संकल्प गर्ने परम्परा छ ।

पर्वको दोस्रो दिन अर्थात् कात्तिक शुक्ल पञ्चमीमा बर्तालुहरू बिहानै पवित्र स्नान गरी दिनभर निराहार उपवास बस्ने गर्छन्। साँझ सूर्यास्तपछि चन्द्रदर्शन गरेर नयाँ माटोको चुलो र भाँडामा पकाइएको सख्खरको खीर कुलदेवता तथा छठी मातालाई अर्पण गरिन्छ। त्यसपछि बर्तालुले उक्त खीर प्रसादका रूपमा ग्रहण गर्छन्। मैथिली भाषामा यस धार्मिक विधिलाई ‘खरना’ भनिन्छ ।

खरना विधिका लागि विशेष शुद्धता र पवित्रतालाई ध्यान दिइन्छ। नयाँ माटोको चुलोमा माटोकै भाँडो प्रयोग गरी दूध, सख्खर र स्थानीय जातको चामलबाट खीर तयार गरिन्छ । तयार पारिएको खीर केराको पातमा राखेर छठी मातालाई चढाउने चलन छ। पूजापछि बर्तालु र परिवारका सदस्यले प्रसादका रूपमा खीर ग्रहण गर्छन् ।

छठ पर्वलाई मिथिलाञ्चलमा लोकआस्थाको महापर्वका रूपमा लिइन्छ। श्रद्धा, निष्ठा, आत्मशुद्धि र समर्पण यस पर्वका प्रमुख विशेषता हुन्। धार्मिक मान्यताअनुसार सूर्यदेव र छठी माताको पूजा आराधना गरी परिवारको सुख, शान्ति, समृद्धि तथा सन्तानको दीर्घायु र कल्याणको कामना गरिन्छ।

अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिने तयारी

छठ पर्वको तेस्रो दिन अर्थात् कात्तिक शुक्ल षष्ठीमा बर्तालुहरूले दिनभर निराहार व्रत बसेर साँझ जलाशय, नदी, पोखरी तथा तलाउमा बनाइएका आकर्षक घाटमा पुगेर अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य अर्पण गर्नेछन्।

मिथिलाञ्चलमा साँझपख अस्ताउँदो सूर्यलाई दिइने अर्घ्यलाई ‘सझुका अरख’ वा ‘सझियाघाट’ भनिन्छ। यस दिन बर्तालुहरू कम्मरसम्म पानीमा डुबेर सूर्यदेवको आराधना गर्दै विभिन्न पूजासामग्रीसहित अर्घ्य दिने गर्छन्।

पर्वको अन्तिम दिन अर्थात् कात्तिक शुक्ल सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई दोस्रो अर्घ्य दिएपछि छठ पर्व विधिवत् सम्पन्न हुन्छ। उदाउँदो सूर्यलाई दिइने अर्घ्यलाई मैथिली भाषामा ‘भोरका अरख’ वा ‘पारन’ भनिन्छ। बिहान सूर्य उदाएपछि जलाशयमा पुगेर अर्घ्य अर्पण गर्ने र त्यसपछि प्रसाद ग्रहण गरी व्रत समापन गर्ने परम्परा छ।

अर्घ्य दिने क्रममा जटासहितको नरिवल, केरा, विभिन्न फलफूल तथा छठ पर्वका लागि विशेष रूपमा तयार पारिएका मिष्ठान्न परिकार सूर्यदेवलाई अर्पण गरिन्छ। बाँसका ढाकी, नाङ्लो तथा सुपमा सजाइएका पूजा सामग्री लिएर बर्तालुहरू घाटमा पुग्ने गर्छन्।

ठकुवा र भुसुवाको विशेष महत्व

छठ पर्वमा प्रसादका रूपमा तयार गरिने ठकुवा, भुसुवा तथा अन्य मिष्ठान्न परिकारको विशेष महत्व छ। यी परिकार घरमै शुद्धताका साथ तयार गरिन्छन्। परम्पराअनुसार ढिकी–जाँतोमा कुटिएको तथा पिसिएको पिठो प्रयोग गरी ठकुवा र भुसुवालगायत परिकार बनाउने चलन छ।

छठका लागि तयार पारिएका प्रसाद आफन्त, इष्टमित्र तथा छरछिमेकलाई बाँड्ने र घरमै निमन्त्रणा गरेर खुवाउने परम्परा पनि रहेको छ। यसले परिवार तथा समुदायबीच आपसी सद्भाव, आत्मीयता र सामाजिक सम्बन्धलाई थप बलियो बनाउने गरेको छ।

पर्वलाई व्यवस्थित र आकर्षक बनाउन नदी, पोखरी तथा जलाशयका किनारमा विशेष सरसफाइ गरी घाट निर्माण र सजावट गरिन्छ। विभिन्न रङका बत्ती, फूलमाला तथा अन्य सजावटले छठ घाटहरू आकर्षक देखिने गर्छन्। साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिने र बिहान उदाउँदो सूर्यको पूजा गर्ने समयमा घाटमा ठूलो संख्यामा श्रद्धालुको उपस्थिति रहने गर्छ।

सबै समुदायको साझा पर्व बन्दै छठ

केही वर्षअघिसम्म मुख्यतः मधेसी हिन्दू समुदायमा सीमित रहेको छठ पर्व पछिल्लो समय अन्य समुदायमा पनि लोकप्रिय बन्दै गएको छ। पहाडी समुदायका हिन्दू धर्मावलम्बीले समेत उत्साहपूर्वक छठ मनाउन थालेका छन्।

मिथिलाञ्चलमा मुस्लिम समुदायका व्यक्तिहरूले समेत छठ पर्वमा सहभागिता जनाउने र बर्तालुहरूलाई अर्घ्यका बेला सूर्यदेवसमक्ष आफ्नो भाकल देखाइदिन पूजा सामग्री उपलब्ध गराउने परम्परा विकास भएको छ। यसले छठ पर्वलाई धार्मिक आस्थासँगै सामाजिक एकता र सद्भावको साझा उत्सवका रूपमा स्थापित गर्न सहयोग पुर्‍याएको छ।

जाति, धर्म र समुदायबीचको आपसी सद्भाव तथा सहअस्तित्वलाई प्रतिबिम्बित गर्ने भएकाले छठ पर्व मिथिलाको लोकसंस्कृतिको अभिन्न अङ्ग बनेको भङ्गाहा–५ सीतापुरस्थित माध्यमिक विद्यालयका प्रधानाध्यापक मनोहरप्रसाद यादव बताउछन् ।

उनका अनुसार छठ पर्वमा विभिन्न जाति, धर्म र समुदायका मानिस एकै ठाउँमा भेला भएर पूजा तथा सांस्कृतिक गतिविधिमा सहभागी हुने गरेका छन्। यसले समाजमा धार्मिक सहिष्णुता, सामाजिक एकता र आपसी सद्भावको सन्देश प्रवाह गर्दै आएको छ।

चार दिनसम्म श्रद्धा, निष्ठा र पवित्रताका साथ मनाइने छठ पर्वले सूर्य उपासनाको धार्मिक महत्वलाई मात्र नभई मिथिलाको मौलिक संस्कृति, परम्परा र सामाजिक एकतालाई समेत जीवन्त राख्दै आएको छ। पछिल्लो समय समुदायको सीमा पार गर्दै साझा पर्वका रूपमा विस्तार हुनुले यसको सांस्कृतिक महत्व अझ बढाएको छ।