दानबहादुर कार्कीलाई सल्लाहकारको पत्र थमाइएको खुलासा

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाएर प्रधानमन्त्रीको विशेष सल्लाहकारमा नियुक्त गरिएका दानबहादुर कार्कीलाई सरकारले घरमै पुगेर नियुक्तिसम्बन्धी पत्र थमाएको छ ।

प्रधानमन्त्री बालेन्द्र शाहको विशेष सल्लाहकार बनाउने सरकारको निर्णयपछि कार्कीले सुरुमा नियुक्तिपत्र बुझ्न अस्वीकार गरेका थिए । त्यसपछि गृह मन्त्रालयका कर्मचारी उनको निवासमै पुगेर पत्र बुझाएका हुन् ।

उच्च स्रोतका अनुसार गत १८ कात्तिकमा गृह मन्त्रालयका एक कर्मचारी कार्कीको घरमै पुगेर उनलाई प्रधानमन्त्रीको विशेष सल्लाहकार नियुक्त गरिएको पत्र हस्तान्तरण गरेका थिए । कार्कीले मन्त्रालयबाट पठाइएको पत्र बुझ्न नमानेपछि कर्मचारीलाई उनको निवासमै पठाइएको स्रोतको भनाइ छ । ‘उहाँले सल्लाहकारको पत्र बुझ्न नमानेपछि घरमै पुगेर पत्र बुझाइएको हो,’ उच्च स्रोतले भन्यो ।

गत १८ कात्तिकमा बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई प्रहरी महानिरीक्षक पदबाट हटाएर प्रधानमन्त्रीको विशेष सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको थियो । सरकारले कार्कीलाई आईजीपीबाट हटाएपछि नेपाल प्रहरीको नेतृत्वमा अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) डा. मनोजकुमार केसीलाई नियुक्त गरेको थियो । सरकारको निर्णयसँगै कार्की प्रहरी संगठनको नेतृत्वबाट बाहिरिएका थिए भने केसीले नयाँ आईजीपीका रूपमा जिम्मेवारी सम्हालेका थिए । कार्कीलाई प्रधानमन्त्रीको विशेष सल्लाहकार बनाउने निर्णयअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उनका लागि कार्यकक्षसमेत व्यवस्था गरिएको छ ।
तर, सरकारको निर्णयलाई कार्कीले स्वीकार गरेका छैनन् । आफूलाई प्रहरी महानिरीक्षक पदबाट हटाउने निर्णय गैरकानुनी भएको दाबी गर्दै उनी त्यसविरुद्ध सर्वोच्च अदालत पुगेका छन् । उनले आईजीपी पदमा पुनर्बहालीको मागसहित सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका छन् । कार्कीले दायर गरेको रिटमा सोमबारका लागि पेशी तोकिएको थियो । तर, सोमबार सार्वजनिक बिदा परेकाले उक्त दिन सुनुवाइ नहुने भएको छ । अब उनको रिट कहिले सुनुवाइका लागि पेश हुन्छ भन्ने टुंगो लागेको छैन ।

सरकारले कार्कीलाई पदबाट हटाएर मनोजकुमार केसीलाई प्रहरी महानिरीक्षक नियुक्त गरेपछि प्रहरी संगठनको नेतृत्व परिवर्तन भएको छ । तर, कार्कीले सरकारको निर्णयविरुद्ध न्यायिक उपचार खोजेपछि उनको पदमुक्तिसम्बन्धी विवाद सर्वोच्च अदालतमा पुगेको छ । सरकारले उनलाई प्रधानमन्त्रीको विशेष सल्लाहकारका रूपमा जिम्मेवारी दिने प्रक्रिया अघि बढाइसकेको भए पनि कार्कीको मुख्य माग भने प्रहरी महानिरीक्षक पदमै पुनर्बहाली हुने रहेको छ । सर्वोच्च अदालतबाट आउने आदेशले सरकारको निर्णय र प्रहरी नेतृत्व परिवर्तनसम्बन्धी विवादको आगामी अवस्था निर्धारण गर्नेछ ।

प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।