डीडीसी भ्रष्टाचार अनुसन्धान कहाँ पुग्यो  ? 

काठमाडौं । नेपाल सरकारको स्वामित्वमा रहेको दुग्ध विकास संस्थान (डीडीसी) मा १२ करोड १३ लाख ४३ हजार ५३० रुपैयाँ हिनामिना गरेको आरोपमा संस्थानका ९ जना कर्मचारी प्रहरी हिरासतमा पुगेका छन् ।

किसानबाट संकलित दूधको भुक्तानी प्रक्रियामा अनियमितता गरी संस्थानको रकम व्यक्तिगत खातामा जम्मा गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनीहरूलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

सीआईबीले सुरुमा गत कात्तिक १३ गते डीडीसीका तत्कालीन महाप्रबन्धक तथा हाल प्रशासन तथा व्यवस्थापन विभागका प्रमुख सञ्जीव झासहित ८ जनालाई पक्राउ गरेको थियो । उनीहरूमाथि अनुसन्धान गर्ने क्रममा प्राप्त बयान र प्रमाणका आधारमा कात्तिक २७ गते विराटनगर दुग्ध वितरण आयोजना प्रमुख नवीनकिशोर शर्मालाई समेत पक्राउ गरिएको हो । शर्मालाई पक्राउ गरेसँगै यस प्रकरणमा हिरासतमा रहेका कर्मचारीको संख्या ९ पुगेको छ ।

पक्राउ परेका सबैमाथि आपराधिक विश्वासघात गर्न नहुने कसुर र संगठित अपराध निवारण ऐनअन्तर्गत अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ । जिल्ला अदालत काठमाडौंको अनुमतिमा उनीहरूलाई हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको हो ।  हिरासतमा रहेका अन्य कर्मचारीमा जुनियर टेक्निकल असिस्टेन्ट विजयकुमार यादव, मनहरि शर्मा र रामकेवल राय छन् । त्यस्तै, बागमती धुलो दूध कारखानामा भरपाई पदमा कार्यरत जितेन्द्रकुमार यादव, गरुडा दूध चिस्यान केन्द्रका इन्चार्ज नवीन राय यादव, माडी चिस्यान केन्द्रमा कार्यरत शिवनन्दन यादव र सोही केन्द्रका इन्चार्ज बिखबहादुर भण्डारी पनि पक्राउ परेका छन् ।

सीआईबीका अनुसार डीडीसीका केही कर्मचारीले संस्थानको खातामा जम्मा हुनुपर्ने रकम व्यक्तिगत बैंक खातामा जम्मा गरी अपचलन गरेको आरोपसहित गत जेठमा उजुरी परेको थियो । उजुरीका आधारमा अनुसन्धान सुरु गरेको ब्युरोले संस्थानको आर्थिक कारोबार, दूध खरिद तथा भुक्तानी प्रक्रियासँग सम्बन्धित कागजात अध्ययन गर्दा १२ करोड रुपैयाँभन्दा बढी रकम हिनामिना भएको प्रारम्भिक निष्कर्ष निकालेको हो । अनुसन्धानका क्रममा सीआईबीले डीडीसीको केन्द्रीय कार्यालय लैनचौर र काठमाडौं दुग्ध वितरण आयोजना बालाजुमा छापा मारेर विभिन्न कागजात नियन्त्रणमा लिएको थियो । ती कागजात र आर्थिक कारोबारको विवरण अध्ययन गर्दा किसान तथा दुग्ध सहकारी संस्थालाई भुक्तानी गर्नुपर्ने रकमको केही हिस्सा कर्मचारीका व्यक्तिगत खातामा पुगेको देखिएको सीआईबीले जनाएको छ ।

सीआईबी प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) उमाप्रसाद चतुर्वेदीका अनुसार संस्थानमा प्राप्त भएको उजुरीमाथि चार महिनासम्म अनुसन्धान र कागजातको सूक्ष्म अध्ययन गरेपछि मात्रै कर्मचारी पक्राउ गर्ने निर्णय गरिएको थियो ।  उनका अनुसार किसानबाट संकलन भएको दूधको भुक्तानी गर्ने क्रममा संस्थानबाट निकासा भएको रकममध्ये केही रकम कर्मचारीको व्यक्तिगत खातामा जम्मा भएको देखिएको छ । त्यति मात्रै नभई किसानले पाउनुपर्नेभन्दा बढी मूल्य भुक्तानी गरेको देखाएर पछि केही रकम फिर्ता लिने गरिएको तथ्यसमेत अनुसन्धानबाट खुलेको छ । ‘सीआईबीमा उजुरी परेपछि हामीले डीडीसीको केन्द्रीय कार्यालय लैनचौर र काठमाडौं दुग्ध कार्यालय बालाजुमा छापा मारेर कागजात नियन्त्रणमा लियौँ । प्रारम्भिक अनुसन्धान गर्दा १२ करोडभन्दा बढी अपचलन भएको तथ्य खुल्यो,’ एआईजी चतुर्वेदीले भने, ‘त्यसपछि मात्रै हामी डीडीसीका अधिकारीहरू पक्राउ गर्ने निष्कर्षमा पुगेर उनीहरूलाई नियन्त्रणमा लिएका हौँ ।’

अनुसन्धानमा संलग्न अधिकारीहरूका अनुसार डीडीसीमा दूधको मूल्य निर्धारण गर्दा दूधमा रहेको चिल्लो पदार्थ र एसएनएफ (सोलिड नट फ्याट) को मात्रा आधार मान्ने गरिएको थियो । दूधमा रहेको चिल्लो पदार्थ र पानीबाहेकका ठोस पदार्थको मात्रा परीक्षण गरी किसान तथा सहकारीलाई भुक्तानी दिने व्यवस्था थियो । तर, यही प्रक्रियामा कर्मचारीले अनियमितता गरेको सीआईबीको दाबी छ । कर्मचारीले दूधको गुणस्तर परीक्षण र एसएनएफको मात्राबारे किसान तथा सहकारीलाई वास्तविक जानकारी नदिई भुक्तानी गर्ने गरेको अनुसन्धानबाट खुलेको छ । कतिपय अवस्थामा एसएनएफको मात्रा बढाएर बढी रकम भुक्तानी गरेको देखाउने र पछि किसान तथा सहकारीबाट केही रकम फिर्ता लिने गरिएको पाइएको सीआईबीका अनुसन्धान अधिकृतले बताएका छन् ।

यसरी संस्थानको भुक्तानी प्रणालीलाई प्रयोग गरेर कर्मचारीले विभिन्न कृषि तथा पशुपालन फार्म र दुग्ध सहकारी संस्थाबाट रकम संकलन गरेको अनुसन्धानबाट खुलेको हो । सीआईबीका अनुसार १७ वटाभन्दा बढी कृषि फार्म तथा सहकारीबाट यसरी रकम लिइएको छ । अनधिकृत रूपमा संकलन गरिएको रकम विभिन्न कर्मचारीका खातामा जम्मा हुँदै तत्कालीन महाप्रबन्धक सञ्जीव झासम्म पुगेको अनुसन्धानको दाबी छ ।  अनुसन्धानका क्रममा लालीगुराँस पशुपालन फार्मबाट मात्रै कर्मचारीको खातामा ४ करोड ४२ लाख रुपैयाँ आएको देखिएको छ । उक्त फार्मबाट दुर्घटनामा मृत्यु भएका रितेश राय यादवको खातामा १ करोड ८६ लाख रुपैयाँ जम्मा भएको सीआईबीले जनाएको छ । त्यस्तै, भैरवपुर भैँसीपालन पशुपन्छी फार्मबाट मात्रै रितेशको खातामा ६९ लाख ११ हजार रुपैयाँ आएको अनुसन्धानबाट खुलेको छ । रितेशको खातामा विभिन्न कृषि फार्मबाट कुल २ करोड ७८ लाख रुपैयाँ जम्मा भएको सीआईबीको अनुसन्धानमा उल्लेख छ । उनको मृत्यु भइसकेको भए पनि बैंक खातामा भएको कारोबारलाई अनुसन्धानको महत्वपूर्ण आधार बनाइएको छ । डीडीसीमा जुनियर टेक्निकल असिस्टेन्टका रूपमा कार्यरत रामकेवल रायले आफ्नै छोरा जितेन्द्रकुमार यादवलाई समेत संस्थानमा राखेको र छोराको खातामा किसानबाट २७ लाख रुपैयाँ जम्मा भएको अनुसन्धानबाट खुलेको छ । रामकेवलले विभिन्न कृषि फार्मबाट आफ्नो खातामा १ करोड १४ लाख रुपैयाँ लिएको सीआईबीको दाबी छ ।

त्यस्तै, जुनियर टेक्निकल असिस्टेन्ट मनहरि शर्माको खातामा विभिन्न कृषि फार्मबाट १ करोड १५ लाख रुपैयाँ जम्मा भएको पाइएको छ । उनको खातामा जोरपाटी दुग्ध उत्पादन संस्थाबाट समेत रकम आएको अनुसन्धान अधिकृतहरूले बताएका छन् । अर्का जुनियर टेक्निकल असिस्टेन्ट विजयकुमार यादवले सिम्ले दुग्ध खरिदबिक्री फार्मबाट ४६ लाख १३ हजार रुपैयाँ अवैध रूपमा लिएको सीआईबीको दाबी छ । डीडीसीमै कार्यरत शिवनन्द रायले दैनिक पारिश्रमिकका नाममा विभिन्न कृषि फार्मबाट १ करोड ६९ लाख रुपैयाँ लिएको अनुसन्धानबाट खुलेको छ । पक्राउ परेका नवीन राय यादवले पनि विभिन्न कृषि फार्मबाट १ करोड ९३ लाख रुपैयाँ लिएको सीआईबीले जनाएको छ ।

यी रकमहरू कसरी संकलन भए, कसको खातामा पुगे र अन्ततः कसले प्रयोग गरे भन्ने विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । सीआईबीको अनुसन्धानमा रकम कारोबार भएको भनिएका संस्थाहरूमा सुशान्त पशुपालन केन्द्र, लालीगुराँस पशुपालन फार्म, एमएनएमबी भैँसीपालन तथा कृषि फार्म, सिर्जना पशुपालन तथा कृषि फार्म, जयनरी पशु विकास फार्म र सक्रिय महिला दुग्ध उत्पादन सहकारी संस्था रहेका छन् । त्यस्तै, सर्लाही एकीकृत कृषि तथा पशुपन्छी फार्म, सर्लाही डेरी उद्योग, जयप्रिय कृषि तथा सहकारी संस्था, अन्नपूर्ण बहुउद्देश्यीय सहकारी संस्था, जोरपाटी दुग्ध उत्पादन सहकारी संस्था, सिम्ले दुग्ध खरिदबिक्री फार्म र राप्ती हरियाली दुग्ध उत्पादन सहकारी संस्थाबाट समेत कर्मचारीले रकम लिएको अनुसन्धानमा उल्लेख छ ।

यसका अतिरिक्त सर्लाही कृषि तथा पशुपन्छी फार्म, पन्त पशुपालन फार्म, सोडारी गाई फार्म र भैरवपुर भैँसीपालन पशुपन्छी फार्मबाट पनि रकम कारोबार भएको सीआईबीले जनाएको छ । किसानले उत्पादन गरेको दूध खरिद गरी प्रशोधन तथा वितरण गर्ने जिम्मेवारी पाएको सरकारी संस्थानमै यस्तो अनियमितता भएको आरोप सार्वजनिक भएपछि डीडीसीको भुक्तानी प्रणाली र संस्थानको आन्तरिक व्यवस्थापनमाथि प्रश्न उठेको छ । किसान तथा सहकारीले दूध बिक्री गरेबापत पाउनुपर्ने रकममा कर्मचारीले चलखेल गरेको प्रहरीको अनुसन्धानले देखाएको छ । यद्यपि, पक्राउ परेका कर्मचारीमाथिको अनुसन्धान जारी रहेकाले रकम हिनामिनामा कसको कति भूमिका थियो, अपचलन भएको भनिएको रकमको अन्तिम हिसाब कति हो र त्यसमा अन्य व्यक्तिको संलग्नता छ कि छैन भन्ने विषय अनुसन्धानबाट थप स्पष्ट हुनेछ । प्रहरीले बैंक कारोबार, संस्थानका अभिलेख, सहकारी तथा कृषि फार्मका विवरण र पक्राउ परेका व्यक्तिहरूको बयानका आधारमा घटनाको थप अनुसन्धान गरिरहेको छ ।

प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।