यस हप्ता अबुधाबीमा युक्रेन, रुस र संयुक्त राज्य अमेरिकाबिच भएको त्रिपक्षीय वार्ताले तत्कालै कुनै ठूलो निकास नदिए पनि यसले अन्ततः अन्त्यतर्फ उन्मुख भइरहेको देखिने एक द्वन्द्वको दिशा स्पष्ट रूपमा चित्रण गरेको छ ।
यदि २ पक्षले अझै पुर्न नसकेको राजनीतिक र भावनात्मक खाडललाई कुनै कुराले स्पष्ट पार्छ भने त्यो यस हप्ता कोपेनहेगनमा राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले दिएको अभिव्यक्ति हो, जसमा उनले रुसी नेता भ्लादिमिर पुटिन अझै जीवित रहेकोमा खेद प्रकट गरेका थिए । यद्यपि युक्रेनको कठोर यथार्थले उनलाई आफ्नो कट्टर शत्रुसँग एक अप्रिय सम्झौता गर्न बाध्य पारिरहेको छ ।
किएभ सबैभन्दा प्रतिकूल क्षणमा वार्तामा बस्न बाध्य भएको थियो, जतिबेला ऊसँग प्रमुख सहरहरूका महत्वपूर्ण उद्योग र अत्यावश्यक पूर्वाधारहरूलाई ध्वस्त पार्ने विनाशकारी रुसी हवाई आक्रमणहरूको प्रतिरोध गर्ने निकै कम माध्यमहरू मात्र बाँकी छन् । जेलेन्स्कीको संसदीय दलको नेतृत्व गर्ने युक्रेनका एक शीर्ष वार्ताकार डेभिड अराखामियाले वार्तालाई सन् २०२२ यता आफू सहभागी भएकामध्ये सबैभन्दा कठिन वार्ताको रूपमा वर्णन गरे । उनले रुसीहरू निकै कडा निर्देशनसहित आएको र छलफलको स्वरलाई नरम बनाउन कठिन भएको बताए । उनको यो मूल्यांकनले रुसले आफूलाई शक्तिशाली स्थानबाट वार्ता गर्न पूर्णरूपमा सक्षम देखेको कुरालाई पुष्टि गर्छ ।
उता मस्कोले भने वार्ताको नतिजाप्रति आशावाद व्यक्त गरेको छ । पुटिनका सहयोगी भ्लादिमिर मेदिन्स्कीले वार्ताले २ देशलाई शान्तिको नजिक ल्याएको बताए । अराखामियाले समेत वर्षको अन्त्यअघि नै समाधानमा पुग्ने गति सिर्जना भएको बताए । तर ध्यान दिनुपर्ने कुरा के छ भने सम्झौताको खाकामा रुसले आफ्नो अडान परिवर्तन गरेको कुनै संकेतबिना नै यो आशावाद आएको हो । विगतका वर्षहरूमा जस्तैः क्रेमलिनले आफ्नो रुसी भाषी जनसंख्याको अधिकारको सम्मान गर्ने, वास्तविक रूपमा तटस्थ र निशस्त्रीकृत युक्रेनको अडान कायमै राखेको छ ।
यदि यो सब पश्चिमा जगतका धेरैका लागि नमीठो आश्चर्य बनेर आएको छ भने त्यसको कारण के हो भने यस वर्षको अधिकांश समय पश्चिमा राजनीतिज्ञ र मूलधारका सञ्चारमाध्यमहरूले युद्धको लहर बदलिरहेको र युक्रेनले माथिल्लो हात पारिरहेको दाबी गरिरहे । उनीहरूको यो आशावादलाई रुसी तेल प्रशोधन केन्द्रहरूलाई निशाना बनाइएका युक्रेनी लामो दूरीका आक्रमणहरू र युद्धमैदानमा रुसको सुस्त गतिको प्रगतिले मलजल गरेको थियो ।
सेप्टेम्बर महिनासम्म पनि लिथुआनियाका राष्ट्रपति गितानास नौसेदाले ‘नाम मात्र बाँकी रहे पनि रुसले युद्ध हारिसकेको छ’ भनेका थिए । करिब सोही समयमा नेटोका महासचिव मार्क रुटले युक्रेनमा रुसको अवस्था राम्रो नरहेको बताएका थिए ।
जुलाईमा अंकारा शिखर सम्मेलनका लागि नेटो नेताहरू भेला हुँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समेत युद्धमैदानमा युक्रेनको पल्ला भारी रहेको विचारलाई पत्याउनुभएको जस्तो देखिन्थ्यो ।
तर युरोपेली कोष र अमेरिकी गुप्तचर सूचना आदानप्रदानको आडमा भएको युक्रेनको आक्रामक गतिविधिको जवाफमा रुसले चौबीसै घण्टा हवाई आक्रमणहरू गर्यो, जसले युक्रेनलाई सहनशीलताको अन्तिम बिन्दुनजिक पुर्याइरहेको छ । मस्कोको सन्देश क्रूर थियोः युक्रेन र पश्चिमाहरूले रुसलाई पुर्याउन सक्ने कुनै पनि क्षतिको बदला युक्रेनमा महाविनाश निम्त्याएर लिइनेछ, जसबाट तंग्रिन उसलाई दशकौँ लाग्नेछ ।
आउँदै गरेको हिउँदले देशव्यापी मानवीय विपत्तिको संकेत गर्छ । ऊर्जा पूर्वाधारहरूमा भएका रुसी आक्रमणहरूले विद्युत् र केन्द्रीय ताप (सेन्ट्रल हिटिङ) आपूर्ति अवरुद्ध पारेका छन् । विशेषगरी ठूला सहरहरूमा लाखौँ युक्रेनीहरू केन्द्रीय ताप प्रणालीमा निर्भर अपार्टमेन्ट ब्लकहरूमा बस्छन्, जुनबिना उनीहरूका घरहरू वस्तुतः बस्नै नसकिने बन्न सक्छन् । जेनेरेटरहरूले अस्थायी विद्युत् त दिन सक्छन्, तर तिनको प्रयोगले युक्रेन र उसको युद्ध प्रयासमा लगानी गर्ने पश्चिमा करदाताहरूका लागि युद्धको लागत अत्यधिक महँगो बनाइरहेको छ ।
ट्रम्प प्रशासनको दबाबभन्दा पनि यिनै भयावह परिस्थितिहरूले युक्रेनलाई वार्तामा आउन बाध्य पारेका हुन् । यतिधेरै दबाब महसूस नगरेको भए जेलेन्स्कीले कम्तीमा वसन्त ऋतुसम्म पर्खिने थिए । युक्रेनको आक्रामक प्रयासले मस्कोका शान्ति सर्तहरूलाई एक इन्च पनि हल्लाउन सकेन । यसैबिच यस युद्धको यथार्थप्रतिको पश्चिमा दृष्टिकोणमा उल्लेखनीय रूपान्तरण आएको छ । बदलिरहेको परिदृश्यका २ प्रमुख संकेतहरू छन् जसले अबुधाबी वार्ताको एजेन्डालाई प्रत्यक्ष असर पार्छन् ।
युद्ध सुरु भएयता पहिलोपटक पश्चिमा संस्थापन पक्षको एक ठूलो हिस्सा युद्धपछिको युरोपको सुरक्षा संरचनाबारे छलफल गर्न तयार देखिएको छ । यो विषय सबैभन्दा पहिले अमेरिकी वार्ताकार जारेड कुशनरले उठाएका थिए, जसले युद्धका पक्षधर खेमामा आक्रोश पैदा गरेको थियो । तर अबुधाबी वार्तापछि मेदिन्स्कीले एजेन्डाको मुख्य विषय नै यही रहेको बताए ।
यो विषय मस्कोले पूर्ण आक्रमण सुरु गर्नुभन्दा केही महिनाअघि २०२१ डिसेम्बरमा वार्ताको टेबुलमा ल्याएको एजेन्डासँग जोडिन्छ । अमेरिका र युक्रेनले रणनीतिक साझेदारीसम्बन्धी बडापत्रमा हस्ताक्षर गरेपछि मस्कोले यसो गरेको थियो, जुन सायद पुटिनको आक्रमण गर्ने निर्णयको निर्णायक कारक बनेको हुन सक्छ । मस्कोसँग युरोपको सुरक्षा संरचनाबारे छलफल गर्ने विचार नै ४ वर्षभन्दा बढी समयसम्म पश्चिमा जगतमा कडा रूपले बर्जित थियो, तर स्पष्ट छ कि अब त्यस्तो रहेन ।
रोचक कुरा के छ भने कुशनरका अनुसार यो व्यापक र महत्वपूर्ण विषय वार्ताको मुख्य अवरोध थिएन, बरु उनले भूभागको मुद्दा सबैभन्दा कठिन रहेको बताए । वार्ता सफल हुनका लागि युक्रेनी सेना दोनेत्स्क क्षेत्रको बाँकी भागबाट पछि हट्नुपर्ने मस्कोले लामो समयदेखि अडान राख्दै आएको छ ।
तर क्षेत्रीय सम्झौताप्रति मस्कोको विरोध आफूले वास्तवमै महत्वपूर्ण ठानेका बृहत् भू–राजनीतिक मुद्दाहरूमा अधिकतम लाभ हासिल गर्ने उद्देश्यले रचिएको एक छल पनि हुन सक्छ । अन्ततः स्लोभियान्स्क र क्रामातोर्स्कमाथि दाबी गर्न क्रेमलिनलाई प्रेरित गर्ने कुरा केवल प्रचारमुखी प्रतीकात्मकता मात्र हो ।
परिवर्तनको अर्को संकेत भनेको शान्ति वार्ताको लहरमा सामेल हुन युरोपेली सरकारहरूले गरिरहेको प्रयास हो, यद्यपि यसले युरोपेली संघकी विदेश नीति प्रमुख काया कालासजस्ता कट्टरपन्थीहरू र सम्झौता अपरिहार्य छ भन्ने विश्वास गर्ने व्यावहारिकवादीहरू बिचको फाटोलाई उदाङ्गो पारेको छ । पछिल्लो समूहमा प्रमुख रूपमा फिनल्यान्डका राष्ट्रपति अलेक्ज्यान्डर स्टब र नर्वेका प्रधानमन्त्री जोनास गार स्टोर पर्नुहुन्छ, जसले युरोपेली संघको नेतृत्वको एक हिस्साको गोप्य सहमतिमा अबुधाबी वार्ताअघि २७ अक्टोबरमा पुटिनसँग लामो टेलिफोन वार्ता गरेका थिए ।
हालैका दिनहरूमा अमेरिका र युक्रेन दुवैले अर्को चरणको वार्ताको टेबुलमा बस्न युरोपेलीहरूले एकल दूत मनोनयन गर्नुपर्ने सुझाव दिए । अमेरिकी दूत स्टिभ विटकफले १२ नोभेम्बरमा पुटिन अर्को चरणको वार्तामा युरोपेली प्रतिनिधिहरूलाई सामेल गराउन सहमत भएका बताए । रुसले यसको पुष्टि गरेन, जबकि पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले युरोपेली संघको समावेशीकरणको सम्भावनालाई उसले छनोट गर्ने दूतको व्यक्तित्वसँग जोडेका छन् ।
सायद अबुधाबीमा देखिएको सबैभन्दा उल्लेखनीय परिवर्तन युरोपमा नेटोका सर्वोच्च कमान्डर एलेक्सस ग्रिन्केबिचको उपस्थिति थियो, विशेषगरी यसलाई क्रेमलिनले स्वागत गरेको सन्दर्भमा जसले यो युद्धलाई नेटोसँगको छद्म युद्ध (प्रोक्सी कन्फ्लिक्ट) का रूपमा हेर्ने गर्छ । तर जर्मन र बेलायती सरकारजस्ता सबैभन्दा कट्टरपन्थीहरूसमेत स्पष्ट रूपमा आफ्नो बाटो बदलिरहेका छन् । चान्सलर फ्रेडरिक मर्जले आगामी जी–२० शिखर सम्मेलनका क्रममा आफूले पुटिनसँग कुरा गर्न सक्ने संकेत गरे । बेलायती रक्षामन्त्री वेस स्ट्रिटिङले अप्रत्याशित रूपमा रुससँग संवादका माध्यमहरू खोल्न आह्वान गरे ।
बकालास वा डेनमार्ककी प्रधानमन्त्री मेटे फ्रेडरिक्सनजस्ता अन्य नेताहरूले भने आफूलाई झन्–झन् एक्लिएको र तीव्र गतिमा भइरहेका घटनाक्रमहरूलाई प्रभावित पार्न असमर्थ पाइरहेका छन् । जेलेन्स्कीको अवस्था पनि त्यस्तै छ, जो आफ्ना पछिल्ला सार्वजनिक उपस्थितिहरूमा पश्चिमा समर्थनको कथित अभावप्रति अत्यन्तै तितो सुनिएका छन् । तर उनी अमेरिकाको मध्यस्थतामा भइरहेको शान्ति प्रक्रियामा अघि बढिरहेका छन्, किनकि उनीसँग अरू खासै विकल्प बाँकी छैन । (अलजजिरा भावानुवादबाट) प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।





































