सम्पदा संरक्षणमा काठमाडौँ महानगरको सराहनीय सक्रियता

कुनै पनि राष्ट्रको पहिचान, इतिहास र सभ्यताको जीवन्त साक्षी भनेकै ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्पदाहरू हुन् ।

काठमाडौँ उपत्यका आफैँमा खुला संग्रहालय हो, जहाँका प्रत्येक टोल, बहाल, विहार र मठमन्दिरमा शताब्दीयौँ पुराना कलाकौशल र आस्थाका धरोहरहरू जीवन्त छन् । तर विडम्बना के छ भने विगतका दशकहरूमा सुरक्षाको कमजोरी, राज्यको उदासीनता र अन्तर्राष्ट्रिय तस्करहरूको गिद्धे नजरका कारण हाम्रा अमूल्य देवीदेवताका मूर्ति, पौभा चित्र र सांस्कृतिक निधिहरू चोरी भएर विदेशका विभिन्न संग्रहालय तथा निजी संकलनहरूमा पुगेका छन् ।

यसै पृष्ठभूमिमा विदेश पुगेका चोरी भएका नेपाली धार्मिक तथा सांस्कृतिक सम्पदाहरूको पहिचान गरी स्वदेश फर्काउन काठमाडौँ महानगरपालिकाले सुरु गर्न लागेको संस्थागत अभियान अत्यन्तै सराहनीय, दूरदर्शी र समयसान्दर्भिक छ ।
कार्यबाहक प्रमुख सुनिता डंगोलले अघि सारेको योजनाले सम्पदा संरक्षणको परम्परागत बुझाइलाई फराकिलो बनाएको छ ।

सम्पदा संरक्षण भन्नु केवल जीर्णोद्धार वा भौतिक मर्मतसम्भार मात्र नभई बरु हराएका निधिहरूको खोजी, तिनको वास्तविक पहिचान र मूल स्थानमै ससम्मान पुनःस्थापना गर्नु पनि हो । विदेशका संग्रहालयहरूमा नेपाली सम्पदा रहेको थाहा पाउँदापाउँदै पनि ती नेपालकै हुन् र फलानो मन्दिर वा बहालबाट चोरी भएका हुन् भन्ने आधिकारिक प्रमाण जुटाउन नसक्दा कूटनीतिक पहलसमेत फितलो हुने गरेको तीतो यथार्थ हामीसामु छ ।
तलेजु भवानीको हार फिर्ता ल्याउने क्रममा प्रहरी उजुरीको प्रमाण नहुँदा व्यहोर्नुपरेको जटिलता र एउटा पुरानो तस्वीरकै आधारमा महागौरीको मूर्ति फिर्ता ल्याउन सफल भएको दृष्टान्तले अभिलेखीकरण कति निर्णायक हुँदो रहेछ भन्ने स्पष्ट पारेको छ ।

महानगरपालिकाले मठमन्दिर, बहाल, विहार र सांस्कृतिक स्थलका सम्पदाहरूको विस्तृत तस्वीर, भिडियो, श्रव्यदृश्य सामग्री र ऐतिहासिक विवरण सुरक्षित राख्ने जुन कार्ययोजना ल्याएको छ, त्यो भविष्यमा हुने सम्भावित चोरी रोक्न र हराएका वस्तु फिर्ता ल्याउन कोशेढुंगा साबित हुनेछ । मानिस हराउँदा प्रहरीमा उजुरी दिने सामान्य चेतना भए पनि भगवान् वा सांस्कृतिक सम्पदा हराउँदा औपचारिक उजुरी दर्ता गर्ने परिपाटी नहुनु सामूहिक कमजोरी थियो । अब सम्पदा हराउनेबित्तिकै प्रहरीमा अनिवार्य उजुरी दिने र अभिलेख राख्ने संस्कृति विकास गर्न खोज्नुले कानुनी र अन्तर्राष्ट्रिय दाबीलाई बलियो बनाउने निश्चित छ ।

अभियानको अर्को सबल पक्ष भनेको यसको जनसहभागितामूलक ढाँचा हो । जनप्रतिनिधि र कर्मचारीबाट सुरु गरी नगर प्रहरी, गुठी, टोल सुधार समिति र स्थानीय समुदायसम्म अभियानलाई जोड्ने महानगरको रणनीति व्यावहारिक छ । स्थानीय गुठी र समुदाय नै सम्पदाका वास्तविक रक्षक हुन् । साथै फिल्डमा खटिने कर्मचारी र नगर प्रहरीलाई पुरातात्विक महत्वका वस्तुको संवेदनशीलता र प्राविधिक ज्ञानबारे तालिम दिने योजनाले संरक्षणका नाममा हुने अनजान क्षतिलाई समेत रोक्नेछ ।

काठमाडौँ महानगरपालिकाको एक्लो प्रयासले मात्र बृहत् अभियान पूर्णतामा पुग्न सक्दैन । विदेशका संग्रहालयमा रहेका सम्पदा फिर्ता ल्याउन संघीय सरकारको परराष्ट्र मन्त्रालय, संस्कृति मन्त्रालय, पुरातत्व विभाग, नेपाल प्रहरी र विदेशस्थित नेपाली नियोग तथा प्रवासी नेपाली समुदायबिच बलियो समन्वय र कूटनीतिक सक्रियता अनिवार्य छ । काठमाडौँ महानगरले देखाएको अग्रसरतालाई देशका अन्य ऐतिहासिक नगरहरू ललितपुर, भक्तपुर, जनकपुर, लुम्बिनीका प्राचीन बस्तीहरूले पनि अनुसरण गर्नु आवश्यक छ ।

सम्पदा केवल ढुंगा र धातुका आकृति मात्र नभई हाम्रा पूर्खाको पसिना, कला र आस्थाका जीवन्त धरोहर हुन् । हराएका ती अमूल्य निधिहरूलाई मातृभूमिमा फर्काउनु भनेको हाम्रो गुमेको गौरव र आत्मसम्मान फिर्ता ल्याउनु हो । काठमाडौँ महानगरपालिकाले सुरु गरेको अभिलेखीकरण, जनचेतना र कूटनीतिक सहकार्यको अभियान निरन्तर, पारदर्शी र परिणाममुखी बनाउनुपर्छ । राज्यका सबै निकाय र आमनागरिकको हातेमालोबाट मात्रै सम्पदाहरूको रक्षा र पुनर्जागरण सम्भव हुनेछ । २०८३ कात्तिक ३० गतेको सम्पादकीय प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।