काठमाडौं । सरकारले नेपालको उच्च हिमाली क्षेत्रलाई सडक सञ्जालसँग जोड्दै पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले करिब एक हजार किलोमिटर लामो पर्यटकीय राजमार्ग निर्माणको प्रक्रिया अघि बढाएको छ ।
प्रस्तावित राजमार्गको पहिलो चरणअन्तर्गत १५० किलोमिटर सडकको सम्भाव्यता अध्ययन तत्काल सुरु गर्ने तयारी गरिएको छ । अध्ययनका लागि प्राविधिक टोली परिचालन गर्ने प्रक्रिया अघि बढाइएको हो । सरकारले प्रस्ताव गरेको पर्यटकीय राजमार्गको कुल लम्बाइ ८४४ देखि एक हजार किलोमिटरसम्म हुने अनुमान छ । हिमाली क्षेत्रका विभिन्न पर्यटकीय गन्तव्य, बस्ती र प्राकृतिक सम्पदालाई सडक सञ्जालमार्फत जोड्ने लक्ष्यसहित अघि सारिएको यो योजनाले पूर्वदेखि पश्चिमसम्मका उच्च हिमाली क्षेत्रको पहुँच विस्तार गर्ने अपेक्षा गरिएको छ । राजमार्ग निर्माण भएपछि हालसम्म सडक पहुँचको अभावमा ओझेलमा परेका थुप्रै हिमाली गन्तव्यलाई पर्यटनको मूल प्रवाहमा ल्याउन सकिने सरकारको विश्वास छ ।
प्रस्तावित राजमार्गको पहिलो चरणमा पूर्व र पश्चिमका दुई छुट्टाछुट्टै खण्डको सम्भाव्यता अध्ययन गरिनेछ । पूर्वी खण्डअन्तर्गत कोशी प्रदेशको संखुवासभास्थित नुमदेखि ताप्लेजुङको पाथीभरासम्मको ४५ किलोमिटर सडकको अध्ययन हुनेछ । त्यस्तै, पश्चिमी खण्डअन्तर्गत सुदूरपश्चिम प्रदेशको अपी–नाम्पा–सैपाल–बडीमालिका क्षेत्रमा १०५ किलोमिटर सडकको सम्भाव्यता अध्ययन गरिनेछ । यी दुई खण्डको कुल लम्बाइ १५० किलोमिटर हुनेछ । सम्भाव्यता अध्ययनका लागि सडक विभाग र नेपाल पूर्वाधार निर्माण कम्पनीबीच असोज २६ गते सम्झौता भइसकेको छ । सम्झौताअनुसार नेपाल पूर्वाधार निर्माण कम्पनीले ६ महिनाभित्र अध्ययन प्रतिवेदन तयार गरी सडक विभागलाई बुझाउनुपर्नेछ । त्यसका लागि कम्पनीले प्राविधिक टोली परिचालन गर्ने तयारी गरेको छ । अध्ययनबाट सडक निर्माणको सम्भावना, उपयुक्त मार्ग, लागत तथा वातावरणीय र प्राविधिक चुनौती पहिचान गरिनेछ । पहिलो चरणमा छनोट गरिएका दुई खण्डको अध्ययन सम्पन्न भएपछि बाँकी क्षेत्रको काम पनि क्रमशः अघि बढाउने सरकारको योजना छ । एकैपटक ठूलो लगानी र जनशक्ति परिचालन गर्नुभन्दा चरणबद्ध रूपमा अध्ययन गर्दै उपयुक्त मार्ग छनोट गर्ने रणनीति सरकारले लिएको देखिन्छ । यसबाट राजमार्ग निर्माणका क्रममा देखिन सक्ने भौगोलिक, वातावरणीय र आर्थिक चुनौतीको पहिचान गरी योजनालाई व्यवस्थित रूपमा अघि बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
हिमाली क्षेत्रमा सडक निर्माण गर्नु अन्य भूभागको तुलनामा निकै चुनौतीपूर्ण मानिन्छ । उच्च उचाइ, भिरालो जमिन, कमजोर भूगर्भ, हिमपात, हिमताल तथा नदी प्रणाली र पहिरोको जोखिमका कारण सडक निर्माणमा विशेष सावधानी अपनाउनुपर्ने हुन्छ । कतिपय क्षेत्रमा सामान्य सडक निर्माण गर्दा पनि ठूलो मात्रामा जमिन कटान हुने र प्राकृतिक संरचनामा क्षति पुग्ने जोखिम रहन्छ । त्यसैले प्रस्तावित राजमार्गको सम्भाव्यता अध्ययनमा भौगोलिक अवस्थालाई मुख्य आधार बनाइनेछ । अध्ययनका क्रममा वातावरणीय प्रभाव, पर्यावरणीय संवेदनशीलता र जैविक विविधतामा पर्न सक्ने असरको समेत विस्तृत मूल्यांकन गरिनेछ । हिमाली क्षेत्रका वनजंगल, वन्यजन्तुको बासस्थान, पानीका स्रोत र प्राकृतिक सम्पदामा सडक निर्माणले पार्न सक्ने प्रभावलाई ध्यानमा राखेर मार्ग निर्धारण गर्ने तयारी छ । प्राविधिक रूपमा सम्भव हुने, कम लागतमा निर्माण गर्न सकिने र वातावरणीय क्षति न्यून हुने विकल्प पहिचान गरी प्रस्ताव तयार गरिनेछ ।
त्यसैगरी, राजमार्गले छुने क्षेत्रको सामाजिक, आर्थिक र सांस्कृतिक महत्त्वलाई पनि अध्ययनको आधार बनाइनेछ । सडक निर्माण गर्दा स्थानीय समुदायको परम्परा, संस्कृति, जीवनशैली र प्राकृतिक सम्पदामा पर्ने प्रभावलाई बेवास्ता गर्न नहुने सरकारको अवधारणा छ । हिमाली क्षेत्रका कतिपय बस्ती र गन्तव्य सांस्कृतिक तथा धार्मिक दृष्टिले समेत महत्त्वपूर्ण रहेकाले सडकको मार्ग निर्धारण गर्दा ती पक्षलाई समेट्ने प्रयास गरिनेछ । राजमार्ग कुन निर्माण मोडलमा अघि बढाउने भन्ने विषय पनि सम्भाव्यता अध्ययनको महत्त्वपूर्ण पक्ष हुनेछ । हिमाली भूगोलमा परम्परागत सडक निर्माण विधि सबै ठाउँमा उपयुक्त नहुन सक्ने भएकाले वातावरणमैत्री र दिगो निर्माण प्रणाली अपनाउने विषयमा जोड दिइनेछ । यसका लागि सामुदायिक सहभागितामा आधारित हरित सडक निर्माणको अवधारणालाई समेत आधार बनाउने तयारी छ । नेपालका पहाडी तथा हिमाली जिल्लामा यसअघि पनि हरित सडक निर्माणको अवधारणा प्रयोग गरिएको थियो । बेलायत सरकारको अन्तर्राष्ट्रिय विकास विभाग (डीएफआईडी)ले ग्रामीण पहुँच कार्यक्रम (आरएपी)मार्फत नेपालका विभिन्न पहाडी तथा हिमाली क्षेत्रमा सामुदायिक सहभागितामा आधारित सडक निर्माणको अभ्यास गरेको थियो । उक्त अवधारणामा स्थानीय स्रोत, सीप र जनशक्तिको उपयोग गर्दै वातावरणीय क्षति कम हुने गरी सडक निर्माणमा जोड दिइएको थियो । प्रस्तावित पर्यटकीय राजमार्ग निर्माणमा पनि यस्तै अवधारणालाई उपयोग गर्न सकिने सम्भावना अध्ययन गरिनेछ ।
हिमाली क्षेत्रको संवेदनशीलतालाई ध्यानमा राखेर सडक निर्माण गर्दा वातावरण संरक्षणलाई प्राथमिकतामा राखिने योजना छ । सडक खन्दा भिरालो जमिनमा हुन सक्ने भूक्षय रोक्न बायो–इन्जिनियरिङ प्रविधिको प्रयोग गर्ने, पहिरो नियन्त्रणका संरचना बनाउने र जमिनको प्राकृतिक स्वरूपमा कमभन्दा कम असर पर्ने गरी निर्माण गर्ने विषयमा विशेष ध्यान दिइनेछ । सडक निर्माणपछि पनि त्यसको संरक्षण र मर्मतसम्भारलाई दिगो बनाउने विषय महत्त्वपूर्ण हुनेछ । प्रस्तावित पर्यटकीय राजमार्गले नेपालको पर्यटन क्षेत्रमा नयाँ सम्भावना खोल्ने अपेक्षा गरिएको छ । नेपालका उच्च हिमाली क्षेत्र प्राकृतिक सौन्दर्य, हिमशृङ्खला, हिमताल, धार्मिक स्थल र मौलिक संस्कृतिका कारण पर्यटकका लागि आकर्षक गन्तव्य मानिन्छन् । तर, सडक पहुँचको अभाव र यातायातको कठिनाइका कारण कतिपय क्षेत्रसम्म पर्यटक पुग्न सकेका छैनन् । सडक सञ्जाल विस्तार भएपछि ती क्षेत्रसम्म पुग्न सहज हुने र नयाँ पर्यटकीय गन्तव्यको विकासमा सहयोग पुग्ने विश्वास गरिएको छ ।
विशेषगरी पूर्वी हिमाली क्षेत्रको पाथीभरा र आसपासका क्षेत्रदेखि पश्चिमको अपी, नाम्पा, सैपाल तथा बडीमालिकासम्मका गन्तव्यलाई सडक पहुँचसँग जोड्न सके धार्मिक तथा साहसिक पर्यटनको विकासमा टेवा पुग्नेछ । यसबाट पर्यटकको आवागमन बढ्नुका साथै स्थानीयस्तरमा होटल, होमस्टे, रेस्टुरेन्ट तथा अन्य आतिथ्य सेवासम्बन्धी पूर्वाधार विस्तार हुने सम्भावना छ । पर्यटकको संख्या बढ्दै जाँदा स्थानीय बासिन्दाले आफ्नै गाउँठाउँमा रोजगारी र आम्दानीका अवसर पाउन सक्नेछन् । सडक पहुँचले हिमाली क्षेत्रको स्थानीय अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ । अहिले यातायातको असुविधाका कारण उत्पादन भएका कृषि उपज तथा जडीबुटी बजारसम्म पुर्याउन कठिनाइ हुने गरेको छ । सडक विस्तार भएपछि स्थानीय उत्पादनको ढुवानी लागत घट्ने, बजारसम्म पहुँच बढ्ने र किसानले आफ्ना उत्पादनको उचित मूल्य पाउने सम्भावना छ । त्यसैगरी, पशुपालन, फलफूल खेती, जडीबुटी उत्पादन र स्थानीय हस्तकलाजस्ता आर्थिक गतिविधिलाई पनि प्रोत्साहन मिल्न सक्नेछ ।
राजमार्ग निर्माणले स्थानीय बासिन्दाको शिक्षा, स्वास्थ्य र अन्य आधारभूत सेवामा पहुँच बढाउन पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ । दुर्गम हिमाली बस्तीमा बिरामीलाई उपचारका लागि स्वास्थ्य संस्था पुर्याउन, विद्यार्थीलाई विद्यालय तथा अन्य शैक्षिक संस्थासम्म पुग्न र दैनिक उपभोग्य सामग्रीको आपूर्ति गर्न अहिले पनि कठिनाइ हुने गरेको छ । सडक विस्तारले यस्ता समस्यामा केही सहजता ल्याउन सक्नेछ । साथै, स्थानीयस्तरमा रोजगारी सिर्जना हुँदा जीविकोपार्जनका लागि वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता कम हुने सरकारको अपेक्षा छ । यद्यपि, प्रस्तावित राजमार्गको वास्तविक लाभ त्यसको निर्माण शैली, लागत, वातावरणीय प्रभाव र स्थानीय समुदायको सहभागितामा निर्भर रहनेछ ।
हिमाली क्षेत्रको प्राकृतिक तथा सांस्कृतिक सम्पदा संरक्षण नगरी केवल सडक विस्तारमा केन्द्रित हुँदा पर्यटन विकासकै आधार कमजोर हुन सक्ने जोखिम पनि छ । त्यसैले सडक निर्माणसँगै वातावरण संरक्षण, स्थानीय समुदायको हित र दीर्घकालीन व्यवस्थापनलाई प्राथमिकतामा राख्नुपर्ने देखिन्छ । सरकारले पहिलो चरणको १५० किलोमिटर सडकको सम्भाव्यता अध्ययनमार्फत यिनै पक्षको मूल्यांकन गरी उपयुक्त विकल्प पहिचान गर्ने लक्ष्य राखेको छ । अध्ययन प्रतिवेदन प्राप्त भएपछि निर्माणको मोडालिटी, लागत र प्राथमिकताका आधारमा थप निर्णय लिइनेछ । पहिलो चरणको अध्ययन सफलतापूर्वक सम्पन्न भए प्रस्तावित एक हजार किलोमिटर आसपासको पर्यटकीय राजमार्गलाई चरणबद्ध रूपमा अघि बढाउने सरकारको तयारी छ ।
प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।





































