मल कारखाना बनाउन डेढ खर्ब ६३ लगानी खोज्दै सरकार

काठमाडौं । रासायनिक मलको अभाव अन्त्य गर्दै आयात प्रतिस्थापन गर्ने उद्देश्यसहित सरकारले नवलपरासी पश्चिमको बर्दघाटमा ठूलो क्षमताको रासायनिक मल कारखाना स्थापना गर्ने प्रस्ताव अघि सारेको छ ।

करिब १ खर्ब ६३ अर्ब रुपैयाँ (१.०७ अर्ब अमेरिकी डलर) लगानी अनुमान गरिएको यो आयोजना नेपाल पूर्वाधार सम्मेलन २०२६ मा स्वदेशी तथा विदेशी लगानीकर्तासमक्ष प्रस्तुत गरिने भएको छ । नेपाल पूर्वाधार सम्मेलनको छैटौँ संस्करण आगामी मंसिर २३ र २४ गते (डिसेम्बर ९ र १०) काठमाडौंमा आयोजना हुँदैछ । सम्मेलनमा सरकारले पहिचान गरेका ठूला पूर्वाधार आयोजनालाई लगानीका लागि स्वदेशी तथा विदेशी लगानीकर्तासमक्ष प्रस्तुत गर्ने तयारी गरेको छ ।

सरकारले प्रस्ताव गरेको आयोजनाअन्तर्गत बर्दघाटमा करिब १६१.८७ हेक्टर क्षेत्रफलमा मल कारखाना स्थापना गर्ने योजना छ । कारखाना पूर्ण क्षमतामा सञ्चालनमा आएपछि वार्षिक ७ लाख मेट्रिक टन रासायनिक मल उत्पादन गर्ने लक्ष्य राखिएको छ । आयोजना पूर्व–पश्चिम राजमार्ग करिडोरमा प्रस्ताव गरिएको छ । नेपालमा कृषि उत्पादनको मुख्य समयमा रासायनिक मलको अभाव दोहोरिने गरेको छ । मलको मागअनुसार समयमै आयात तथा वितरण हुन नसक्दा किसानले हरेक वर्ष समस्या भोग्दै आएका छन् । अन्तर्राष्ट्रिय बजारमा मलको मूल्य बढ्दा र आपूर्ति श्रृंखलामा अवरोध आउँदा त्यसको प्रत्यक्ष असर नेपालको कृषि उत्पादन र सरकारी बजेटमा पर्ने गरेको छ । यस्तो अवस्थामा स्वदेशमै ठूलो क्षमताको मल कारखाना स्थापना गर्ने प्रस्तावलाई सरकारले रणनीतिक महत्त्वको पूर्वाधार आयोजनाका रूपमा अघि बढाउन खोजेको हो । आयोजनाको प्रारम्भिक लगानी १ अर्ब ७ करोड अमेरिकी डलर अर्थात् करिब १६३ अर्ब रुपैयाँ छ । लगानीको आकार, उत्पादन क्षमता र कार्यान्वयन मोडलसहितको विवरण नेपाल पूर्वाधार सम्मेलन २०२६ को आयोजना परिचय पुस्तिकामा समावेश गरिएको छ । सम्मेलन तथा त्यसअघि आयोजना हुने अन्तर्राष्ट्रिय रोडशोमार्फत सम्भावित लगानीकर्तासमक्ष आयोजना प्रस्तुत गरिनेछ ।

आयोजना कार्यान्वयनका लागि सार्वजनिक–निजी साझेदारी (पीपीपी) तथा विशेष प्रयोजन कम्पनी (एसपीभी) मोडल प्रस्ताव गरिएको छ । यसमा वार्षिक उत्पादनका आधारमा सरकारले खरिद सुनिश्चितता गर्ने र आवश्यक सहुलियत उपलब्ध गराउने विकल्पसमेत राखिएको छ । आयोजना परिचय फाराममा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको र कार्यान्वयन प्रक्रिया सुरु गर्न सकिने चरणमा रहेको उल्लेख छ । मल कारखानाको आयोजनासम्बन्धी विवरणमा वार्षिक २६ करोड अमेरिकी डलरभन्दा बढी विदेशी मुद्रा बचत हुने र समयमै मल उपलब्ध गराउन सके कृषि उत्पादनमा १५ देखि २० प्रतिशतसम्म सुधार हुन सक्ने अनुमान प्रस्तुत गरिएको छ । नेपालमा कृषि क्षेत्रमा आबद्ध ठूलो जनसंख्या मलको अभावबाट प्रभावित भइरहँदा आयोजनाले कृषि उत्पादन र खाद्य सुरक्षामा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ । आयोजना कार्यान्वयनमा केही महत्त्वपूर्ण विषय अझै टुंगिन बाँकी छन् । मल उत्पादनका लागि आवश्यक कच्चा पदार्थ कहाँबाट ल्याउने, ऊर्जा आपूर्तिको स्रोत के हुने, उत्पादनको बजार कसरी सुनिश्चित गर्ने र सरकारले कस्तो सहुलियत दिने भन्ने विषयमा निर्णय हुन बाँकी छ ।

त्यसैगरी कृषि तथा पशुपन्छी विकास मन्त्रालय, लगानी बोर्ड, अर्थ मन्त्रालय र कृषि सामग्री कम्पनी लिमिटेडबीच खरिद सुनिश्चितता तथा अनुदान व्यवस्थापनको विषयमा पनि थप छलफल आवश्यक देखिएको छ । नेपाल पूर्वाधार सम्मेलन २०२६ मा सरकारले पहिचान गरेका २३ वटा पूर्वाधार आयोजना लगानीकर्तासमक्ष प्रस्तुत गर्ने तयारी गरेको छ । यी आयोजनाको कुल अनुमानित लगानी १६ अर्ब अमेरिकी डलर अर्थात् करिब २४ खर्ब ४६ अर्ब रुपैयाँ रहेको छ । सम्मेलनको मुख्य उद्देश्य पूर्वाधार विकासमा स्वदेशी तथा विदेशी लगानी परिचालन गर्नु, सार्वजनिक–निजी साझेदारी विस्तार गर्नु र लगानीका अवरोध हटाउन आवश्यक कानुनी तथा नीतिगत सुधारबारे छलफल गर्नु रहेको छ । ऊर्जा, सडक तथा यातायात, सहरी विकास, औद्योगिक पूर्वाधार, पर्यटन, कृषि र डिजिटल पूर्वाधारलगायत क्षेत्रका आयोजना प्रस्तुत गरिनेछन् । सम्मेलनअघि काठमाडौं, नयाँदिल्ली, बेइजिङ र दुबईमा लगानीकर्तासँग छलफल तथा रोडशो आयोजना गर्ने तयारी छ । रोडशोमार्फत लगानीकर्ता, वित्तीय संस्था, निर्माण कम्पनी तथा सम्भावित विकासकर्तालाई आयोजनाको वित्तीय अवस्था, लगानी संरचना र प्रतिफलको सम्भावनाबारे जानकारी गराइनेछ । त्यसबाट प्राप्त सुझावका आधारमा सम्मेलनमा आयोजनाको अन्तिम विवरण प्रस्तुत गरिनेछ ।

प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।